घुम्टे महोत्सवमा हेलिकप्टरबाट दृश्यावलोकन गर्न पाईने, कति लाग्ला खर्च ?

बागलुङ । दोस्रो गलकोट घुम्टे महोत्सव–२०७६’ का अवसरमा हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न पाईने भएको छ । महोत्सवको प्रमुख आकर्षण हेलिकप्टर सयर हुने भएको छ । 

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले यही मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्ने महोत्सवका अवसरमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने भएपछि धेरैको मन लोभिएको छ ।

महोत्सवको अवसरमा गलकोटमै पहिलो पटक हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरु दृश्यावलोकन गर्न पाईने छ । यसको लागि अहिले आवश्यक गृहकार्य भईरहेको महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । 

महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकोप्टर मार्फत गलकोट देखि पर्यटकीय नगरी ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।

 हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न ईच्छुकलाई अहिले टिकट बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा आउने दर्शकहरुको सहजताको लागि आयोजकले विभिन्न प्याकेजहरु नै तयार गरेको महोत्सव हेलिकोप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिनुभयो ।

महोत्सवको अवसरमा न्युनतम शुल्कमा हेलिकोप्टर मार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताउनु भयो । झण्डै १३ वर्ष पछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । 

खर्च कति ?

न्युनतम ५ मिनेट सम्म गलकोट क्षेत्रको दृश्यालोकन गर्नेको लागि पहिला टिकट बुकिङ गर्ने २ सय जनालाई रु ६ हजार शुल्क लाग्ने बताईएको छ ।
त्यस्तै २ सय जना भन्दा बढि भएमा ६ हजार ५ सय रुपैया लाग्ने छ । त्यस्तै गलकोट घुम्टे शिरमा अवस्थित शिद्ध भैरव मन्दिरको दृश्यावलोकन सहित गलकोट क्षेत्रका पर्यटकीय गन्तव्यहरु अवलोकनको लागि १५ मिनेट समयको रु १५ हजार शुल्क निर्धारण गरिएको छ ।

गलकोट सहित नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको हेलिकोप्टर मार्फत अवलोकन गर्न रु ३५ हजार शुल्क निर्धारण गरिएको महोत्सव सचिवालय समिति सदस्य भुपेन्द्र खत्रीले जानकारी दिए । 

कुन कुन दिन उडान हुन्छ हेलिकोप्टर ?

हेलिकप्टर मंसिर ४, ७ र ११ गते उडान हुनेछ । हेलिकप्टर उडानको लागी महोत्सवको टाईटल स्पोन्सर प्रभु गु्रप सँग सम्झौता गरिसकिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा प्रभु हेलिकोप्टरले उडान भर्ने छ । गलकोट क्षेत्रमा हेलिकोप्टर मार्फत दृश्यावलोकन गर्ने अवसर पहिलो भएकोले पनि निकै आर्कषणको रुपमा हेरिएको छ ।

कसरी गर्ने टिकट बुकिङ ?

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आयोजना गरिएको दोस्रो गलकोट घुम्टे महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेको हेलिकोप्टर मार्फत दृश्यावलोकनको निम्ति ९८५११७३५८५ मा सम्पर्क गर्न सकिने बताईएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय