७ बैशाख २०८१, शुक्रबार

स्थानीयको जीवनस्तर सुधारको सवांहक बन्दै कफी अनुसन्धान केन्द्र 

गुल्मी । गुल्मीमा स्थापना भएका कफी अनुसन्धान केन्द्रले त्यहाँका स्थानीयहरुको जीवनस्तर सुधार गरेको छ । रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई पहिले–पहिले घर खर्च चलाउन श्रीमान कै भर पर्नुपथ्र्यो । तर आजकाल घर खर्च मात्रै होईन विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उनले आफैँ जोहो गर्छिन । बलेटक्सार भण्डारी डाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्रले उनको जीवनस्तर सुधारेको छ ।

उनी अहिले उक्त केन्द्रमा काम गर्दै आएकी छन् । कफी अनुसन्धान केन्द्रमा रहेका कफीका बिरुवामा मलपानी राख्ने, बिरुवा वरपरका झारपात गोड्ने उनको दैनिकी बनेको छ । उनका श्रीमान् रोजगारीकै लागि भारतमा छन् । त्यही ठाउँकी मिठु क्षेत्रीले पनि कफी अनुसन्धान केन्द्रमा कफीका बोटबिरुवामा पानी राख्ने, जङ्गलको झार तथा घाँस काट्ने र सफा बनाउने, नर्सरी व्यवस्थापन, मल बीउको व्यवस्थापन, सिँचाइजस्ता काम गर्न थालेको तीन वर्ष भयो । उनका पनि श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । तर, आफूसहित छोरी र दुई छोराको आर्थिक खर्च उनले आफैँले व्यवस्थापन गरेकी छन् । ‘दैनिक ५ सय १७ रुपैयाँका दरले मासिक १५ हजार ५०० रुपैयाँ हुन्छ, तर सबै दिन आउन पाइँदैन’ उनले भनिन् । ‘कफी अनुसन्धान केन्द्रले गाउँमै रोजगार दिँदा खुशी लागेको उनीहरु बताउँछन् । 

कफी अनुसन्धान केन्द्रमा फूलखेती

कफी अनुसन्धान केन्द्रमा फूलखेती पनि हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, बलेटक्सारमा रहेको कफी केन्द्रमा बनाइएको बगैँचामा फूलखेतीसमेत हुने गर्दछ । फूलखेतीकै लागि एक महिला कामदार केन्द्रले नियुक्त गरेको छ । बगैँचामा अहिले सयपत्रीलगायतका झण्डै आधा दर्जन प्रकारका फूल छन् । ‘यसपालिको तिहारमा मात्रै १४ हजार रुपैयाँको फूल बिक्री भयो’ विगत पाँच वर्षदेखि केन्द्रको बगैँचामा काम गर्दै आएकी ४० वर्षीया कमला गौतमले भनिन्, ‘बाँकी बीउका लागि राखिएको छ ।’ रोजगारीकै लागि श्रीमान् विदेश रहे पनि घर खर्च आफूले चलाउने र श्रीमानले कमाएको पैसा बचत हुने उनी बताउँछिन् । केन्द्र स्थापना भएपश्चात धेरै महिलालाई जीविकोपार्जनको माध्यम भएको केन्द्रमै मजदूरी गर्दै आएकी सरिता गौतमले बताईन् ।

महिला–पुरुषलाई समान ज्याला

बलेटक्सारको कफी अनुसन्धान केन्द्रमा काम गर्ने श्रमिकबीच विभेद छैन । केन्द्रमा काम गर्ने पुरुष श्रमीक र महिला श्रमीकको पारिश्रमिक समान कायम गरिएको छ । समान प्रकृतिको काम गर्ने श्रमिकलाई नेपाल सरकारले तोकेको न्यूनतम दैनिक ज्याला ५१७ रुपैयाँ प्रदान गरिन्छ ।

जसले गर्दा महिलालाई पनि हौसला मिलेको छ । गाउँमा अरु काम गर्दा पुरुषलाई बढी ज्याला र महिलालाई कम ज्याला दिने गरेपनि केन्द्रमा भने समान ज्याला दिने गरेको केन्द्रमै काम गर्न आएकी रुरु गाउँपालिका–३ ओखलढुङ्गाकी कमला ज्ञवालीले बताईन् ।  

चालिससम्म कामदारले वार्षिक २७ लाख बुझ्छन्

कफीको उद्गमस्थल गुल्मीमा कफीको अनुसन्धान गर्ने उद्देश्यले विसं २०७१ मा राष्ट्रिय कफी अनुसन्धान केन्द्र स्थापना भयो । केन्द्रले कफीको अनुसन्धान मात्र गरेन, स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना ग¥यो ।

कार्यालयमा काम गर्ने सात कर्मचारी छन् । तर, स्थानीय कामदार भने त्यो भन्दा तेब्बर संखयामा छन् । केन्द्र स्थापना भएदेखि नै स्थानीय कामदार नियुक्त गरिएको थियो । प्रत्येक कामदारको दैनिक ज्याला न्यूनतम ५१७ तोकिएको छ । तर, सामान्यबाहेकका अन्य सीपमूलक काममा भने त्यो भन्दा बढी पनि ज्याला प्रदान गरिएको कार्यालयले जनाएको छ ।

केन्द्रमा अहिले २२ जना नियमित कामदार छन् । तीमध्ये अधिकांश पाँच वर्षदेखि नै मजदूरीको काम गर्दै आएका छन् भने कतिले दुई वर्षदेखि काम गर्दै आएका छन् । 

केन्द्रमा बढीमा ४० जनासम्मलाई मौसमी रोजगारी कार्यालयले दिने गरेको कार्यालयका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए । शुक्रबार र शनिबार बिदा हुने तथा अन्य दिन पनि कोही कामदार नआउने हुँदा एक जनाको मासिक ज्याला बढीमा १२ हजार रुपैयाँसम्म हुने गरेको उनले बताए । त्यसरी कार्यालयमा काम गरेवापत स्थानीय मजदूरले वार्षिक २२ देखि २७ लाख रुपैयाँसम्म लैजाने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । नियुक्त गरिएका कामदारको रकम नेपाल सरकारले नै उपलब्ध गराउने कार्यालय प्रमुख थापाले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्