गुल्मीको कफी ईतिहास लामो भएपनि व्यावसायिक बन्न नसक्नु दुःखद : मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बजारमा कफीको माग र आकर्षण अनुसार उत्पादन हुन भने नसकेको बताएका छन् । आइतवार गुल्मीको सदमुकाम तम्घासमा आयोजित १५ औं राष्ट्रिय  कफी दिवस कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपालसगैं बिदेशमा पनि गुल्मीको कफीको माग बढ्दै गएको भएपनि माग अनुसार उत्पादन गर्न नसक्नु दुःखद भएको बताए । यसका लागि किसानहरुलाई प्रेरित गरी सामुहिक रुपमा कफी खेतीमा लाग्न उनले आग्रह गरे । 

गुल्मीमा कफि खेतीको ईतिहास लामो भएपनि अझैसम्म पनि व्यवसायिक बन्न नसक्नु चिन्ताजनक रहेको भन्दै मन्त्री ज्ञवालीले बजारको समस्याका नरहेकाले निर्धक्क भएर खेती गर्न किसानहरुलाई आग्रह गरेका छन् । बजारको समस्या समाधानमा राज्यले उचित ध्यान दिने उनको भनाई छ । गुल्मीको कफीलाई अन्तरराष्ट्रिय स्तरसँग प्रतिष्पर्धा गर्ने चुनौती थपिएको भन्दै उनले सामुहिक रुपमा कफी उत्पादन गरी व्यवसायिक बन्नुपर्नेमा जोड दिए । कृषिलाई व्यवसायीकरण गर्न कृषि अनुदानका कार्यक्रमलाई राज्यले उच्च प्रथामिकता दिएको ज्ञवालीले दाबी गरे । 

कार्यक्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले नेपालमा मात्र नभइ बिदेशमा समेत गुल्मेली कफीको चर्चा हुने गरेको बताईन । उनले अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने गरि समुहिक कफी खेतीमा लाग्न आग्रह गरिन ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले कृषिमा राज्यले सहुलियत र अनुदानको बिशेष व्यवस्था गरेकाले युवाहरुलाई बिदेश नगई नेपालमै व्यवसायिक कृषिमा लाग्न आग्रह गरे । उनले कफीको उद्गम स्थल गुल्मीमा १५ औं राष्ट्रिय कफी दिवस मनाउन पाउनु गौरवको विषय भएको बताए । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’ भन्ने नारासहित सदरमुकाम तम्घासमा विभिन्न कार्यक्रम गरेर कफि दिवस मनाइएको हो । नेपालमै पहिलो पटक कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमै केन्द्रिय कार्यक्रम राखेर कार्यक्रम गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए । दिवसको अबसरमा उत्कृष्ट कफी कृषकहरुलाई पुरस्कृत एबम् सम्मान गरिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय