१४ बैशाख २०८१, शुक्रबार

सामुहिक आलु खेतीले तान्यो पाल्पाका कृषकलाई 

पाल्पा । एकल खेतीबाट भन्दा पनि सामुहिक रुपमा गरेको खेतीबाट उत्पादन बढी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा लागेका छन् ।

घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका कृषकहरु रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा कृषि समुहमा सहभागी भएपछि यतिबेला भने समुहमा आलु लगाउन भ्याई नभ्याई छ । तालपोखरा कृषक समूहले यस वर्ष १० रोपनी क्षेत्रफलमा समूहमा आलु लगाएको छ । गत वर्ष परीक्षणका लागि तीन रोेपनी क्षेत्रफलमा लगाएको आलुको उत्पादन राम्रो भएपछि यो वर्ष क्षेत्रफल बढाएर आलु लगाउन शुरु गरेको अध्यक्ष मित्रा ढकालले बताईन । गत वर्ष एक क्विन्टल मात्रै आलु लगाएको भएपनि दश क्विन्टल उत्पादन भएपछि यो वर्ष धेरै लगाउने लक्ष्य रहेको उनले बताईन् ।

कँडेलबारी कृषक समूहले जग्गा भाडामा लिएर पाँच रोपनी क्षेत्रफलमा तीन क्विन्टल आलु लगाएको समूहका अध्यक्ष सीता भण्डारीले बताईन । आलु लगाउने प्रविधिबारे कृषि प्राविधिकहरु खेतमै आएर सिकाउने गरेका छन् भने बीउ वडा कार्यालयले उपलब्ध गराएको उनले बताईन् । 

नदी किनारा आयआर्जन कृषक समूहले १० रोपनी क्षेत्रफलमा आलु लगाउने तयारी गरेको छ । गत वर्ष पाँच रोपनी क्षेत्रफलमा लगाएको आलुले राम्रो बजार पाएपछि यो वर्ष बढाउने समूहका सचिव सीता देवकोटाले बताईन ।

समूहमा साथीहरुसँग आलु लगाउँदा रमाइलो भएको र आलु लगाउने नयाँ नयाँ तरिका पनि नयाँ सिक्न पाइने भएपछि सामूहिक आलु खेतीमा यहाँका कृषकको आकर्षण बढ्दो छ । आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा राख्ने कृषक बताउँछन् । यो वर्ष यहाँका कृषकले जनकदेव जातको आलु लगाउँदैछन् । आलु खेती गर्न इच्छुक कृषक तथा समूहलाई वडा कार्यालयबाट अनुदानमा उन्नत जातको आलुको बीउ उपलब्ध गराइएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए  । 

रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागि राम्रो रहेको छ । आलु बिक्रीका लागि बजार सहज, झट्ट नकुहिने, मूल्य राम्रै पाएपछि समूहमा कृषकले आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका क्षेत्रमा करिब दर्जनभन्दा बढी समूहले सामूहिक रुपमा आलु लगाउँदैछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्