१५ चैत २०८०, बिहीबार

उज्यालो पाएपछि मनीको त्यो हर्षको आशु  

‘गाउँमै भगवान आएर आँखा दिए’

गुल्मी । आठ बर्षमा गाउँघर फेरिएछ । मनीलाई पत्तै थिएन् । झण्डै एक दशक अध्याँरो जीवन बित्यो । आइतबार आँफ्नै आँखाले गाउँ चिहाइन् । सबै फेरिएको देखिन् । आँखाबाट खुसीका आँसु बर्सिए । मनी रुँदा धेरै भक्कानिए । 

चार पाउ टेकेर चर्पी पुग्ने त्यो बिगत । डाँडापारीको घाम जस्तै भएकी मनीलाई आँखा देख्ने कल्पनानै थिएन् । मालिका गाउँपालिका ४ अर्खबाङ्गकी घर्ति आठ बर्षदेखि पूर्ण दृष्टि बिहिन थिइन् । अहिले ८८ बर्षकी भइन् । गाउँपालिकाले घर छेउँमै निशुल्क आँखा अप्रेशन शिविर राख्यो । मनि त्यहि पुगेर अप्रेशन गरिन् । एउटा आँखाले देखेपछि मंगलबार अर्को आँखाको पनि अप्रेशन गरिन । 

अहिले दुवै आँखाले स्वस्थ छन् । अहिले आफै चर्पी पुग्ने, पिँढीमा बसेर पारीका सडक र हिमाल पहाड हेरेर खुसी हुन थालेको बुहारी खुमकुमारी घर्तिले बताइन् ।

बिरामी लिन घरमै गाडी 

उपचार र यातयात खर्चको अभावमा कति रोगले ओछ्यानमै थला परेका छन् । बिरामी ल्याउन घरै पुगेका उदाहरण बिरलै छन् । तर मालिका गाउँपालिका आँखाका बिरामी खोज्दै घर पुग्यो । जसका कारण नागरिकले गाउँको सिंहदरवारको बल्ल महसुस गरे । मालिका गाउँपालिका १ नेटाका ९२ बर्षीय दुर्जमान पुन १० बर्षदेखि मोतिया बिन्दुको समस्याले ग्रसित थिए । अहिलेसम्म उपचारको कुनै विकल्प खोजेनन् । बुढेसकालमा निकै दुःख पाए ।

संयोग गाउँपालिकाले घर छेउमा निशुल्क आँखा उपचार शिविर सञ्चालन ग¥यो । पुन त्यहाँ पुगे । डाक्टरले अप्रेशन गर्ने सुझाव दिए । गाउँपालिकाले पुनलाई लिन घरमा गाडी पु¥यायो । मंगलबार एउटा आँखाको अप्रेशन गरे । अर्को गर्न मानेनन् । ‘१० बर्षदेखि उज्यालो देख्न पाइएन, मर्ने बेलामा एउटा आँखा भए पुग्यो,’ उनले भने, ‘गाउँमै भगवान आएर आँखा दिए ।’

अब बोल्दैनन तर देख्छन्

मालिका गाउँपालिका ५ छापहिलेका मैते परिवार बोन्दै बोल्दैनन् । श्रीमती मैति परियार पनि राम्रोसंग बोल्दिनन् । हात र खुट्टामा समेत समस्या छ । त्यो माथी दुवै जनालाई चार बर्षदेखि आँखाको रोगले च्याप्यो । आँखाको समस्या बढ्दै गएपछि परिवारको जीविकोपार्जनमा मुस्किल पथ्र्यो । अहिले दुवै जनाले आँखाको अप्रेशन गरेर देख्ने भए । अब देख्ने भए तर बोल्दैनन् । मालिकाका गाउँपालिका ५ छापहिलेका ७८ बर्षीय नरु गिरी २ बर्षदेखि पुर्ण दृष्टिबिहिन थिए । अप्रेशनपछि आँखा देखे । गाउँघरमै निशुल्क उपचार । त्यसमाथी निशुल्क यातयात सुविधा । सवै जना निकै खुसी भएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

मोतियाबिन्दुका भएका सवैको उपचार

मालिका गाउँपालिकाले गाउँपालिका भित्रका सवै मोतियाबिन्दुको समस्या भएकाहरुको उपचार गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए । जसका लागि गत बर्षदेखि गाउँगाउँमा व्यापक रुपमा निशुल्क आँखा उपचार शिविर र गाउँपालिकामा अप्रेशन गरिएको थापाले धरातल अनलाईनलाई बताए । उनले आफुहरुले मोतियाबिन्दुको पहिचान गरेका केहि व्यक्ति पनि अप्रेशन गर्न नआएर केहि बाँकी रहेको बताए । मोतियाबिन्दुको कारण अध्याँरोमा कोहि बस्नु नपरोस भनेर उपचार र यातयात समेत निुशल्क गरिएको थापाले बताए । ‘बिपन्नता र जनचेतनाको अभावमा बर्षौ अन्धकारमा बसेकाहरुलाई उज्यालो दिन सकेका छौ’ उनले भने, ‘गाउँगाउँमा सिंहदरवार त्यहि हो ।’

गाउँपालिकाका सवै गाउँमा शिविर

मालिका गाउँपालिकाले दुई बर्षमा सवै वडामा निशुल्क आँखाको उपचार शिविर पु¥याएको छ । गाउँमा उपचार शिविर गरेर मोतियाबिन्दुको पहिचान गर्ने र गाउँपालिकामा ल्याएर अप्रेशन गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । उनले गत बर्ष र अहिले १६ सय ४३ जनाको आँखाको जाँच तथा एक सय १७ जनाको मोतियाबिन्दुको अप्रेशन र चश्मा वितरण गरिएको जानकारी दिए ।

कार्तिक महिनामा मालिका गाउँपालिकाका वडा नं १, ३, ५ र ६ मा गरेर आठ सय ४३ जनाको आँखाको जाँच गरिएको थियो । त्यसमध्ये ९८ जनामा मोतियाबिन्दुको समस्या पत्ता लाग्यो । मंसिर २ र ३ गते ७१ जनाको अप्रेशन र एक सय ६० जनाको आँखाको जाँच गरिएको भण्डारीले बताए । अहिलेसम्म नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गुल्मीले प्राविधिक रुपमा सहयोग गर्दै आएको छ ।

शिविरमा लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका डाक्टर अमृत बास्कोटा र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गुल्मीका सुर्य बहादुर बस्नेतले बिरामीहरुको आँखाको उप्रेशन गरेको स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।

 

 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्