७ बैशाख २०८१, शुक्रबार

मत नदिनेहरुलाई पनि पछुतो लाग्ने गरी काम गरेर देखाउछौँ : पोखरेल 

रुकुम पूर्व । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र ती अधिकारको व्यवहारिक कार्यान्वयनका लागि राज्यलाई बलियो बनाउनुपर्ने बेला आएको बताएका छन् ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित आमसभामा बौल्दै उनले बलियो राज्यले मात्रै संविधानमा व्यवस्था गरिएका नागरिकका अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्न सक्ने बताए । नागरिक अधिकारको व्यवहारिक कार्यान्वयनको लागि यतिखेर तिनै तहका सरकार सक्रियतापूर्वक लागिरहेको उनको भनाई छ । 

दुई ठूला कम्युनिष्ट पार्टी चुनाव जित्न र सरकार बनाउनकै लागि मात्र एकता नभएको भन्दै उनले जनआकांक्षा पूरा गर्ने मिशनका साथ आएको स्पष्ट पारे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल देखाउने दाँत मात्रै हो भन्नेहरुका लागि अहिले नेकपा सरकारले गरेको कामबाट दरिलो झापड भएको उनले बताए । विरोधीहरुले सधैं भ्रम छर्ने काम गर्ने र ती भ्रमबाट मुक्त भएर अघि काम गर्दो रहेछ भनेर देखाउने समेत उनले बताए । मत नदिएका व्यक्तिलाई पनि मत नदिएको पछुतो लाग्ने गरी काम गरेर देखाउने उनको भनाई छ ।

मुख्यमन्त्री पोखरेलले जनताले तिरको करबाट विनियोजन भएको विकास बजेटमा जनप्रतिनिधि, कर्मचारी कसैले पनि लोभ गर्न नहुने भन्दै उनले लोभलालच भएको छ या छैन भनेर अनुगमन गर्नुपर्ने बताए । निर्माणका काम प्रभावकारी भए नभएको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीलाई आफुले खबरदारी गर्दै आईरहेकोले  अरुको मुख ताक्नुभन्दा आफुपनि नराम्रा कुरामा खबरदारी गर्न सक्नुपर्ने उनले बताए ।

सदरमुकाम विवादमा नफसौं

रुकुम पूर्वका जनतालाई सदरमुकाम विवादमा नफस्न आग्रह गर्दै यो झगडा जनताको नभई नेताको भएको उनको धारणा छ । “अहिले सदरमुकाम विवाद संवैधानिक अदालतमा छ अदालतले जे फैसला गर्छ, त्यसलाई स्विकार गरौं” पोखरेलले भने, “सदरमुकाम हुने ठाउँको विकास स्वभाविक ढंगले हुन्छ, अदालतले फैसला गरेपछि जहाँ सदरमुकाम हुन्न, त्यहाको विकासको जिम्मा प्रदेश सरकारले लिन्छ, तपाईहरु ढुक्क हुनुहोस् ।” पूर्वाधार विकासले अब रुकुमले पछि परेको महशुस गर्नु नपर्ने पनि उनले बताए ।

अर्गानिक जिल्ला बनाउन आग्रह

मुख्यमन्त्री पोखरेलले सर्वदलीय छलफलमा रुकुम जिल्लालाई अर्गानिक उत्पादन जिल्लाको रुपमा विकास गर्न सबै मिलेर अघि बढ्न आग्रह गरे । अर्गानिक उत्पादनलाई जोड दिएर अघि बढ्दा रुकुमले धेरै फाइदा लिने उनको भनाई छ । उनले अर्गानिक उत्पादनका लागि प्राविधिक र बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । चुनवाङ–रुकुमकोट सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सबै मिलेर  अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

सुविधासम्पन्न अस्पतालको गुरुयोजना बनाउन निर्देशन 

मुख्यमन्त्रीले रुकुमकोट जिल्ला अस्पतालको उद्घाटन गर्दै अस्पताल बिरामीको विश्वास जित्ने हुनुपर्ने बताए । अस्पताल राम्रो भयो भने मात्रै उपचार गर्न आउनेको संख्या बढ्ने भएकाले सेवा प्रवाहको गुणस्तरलाई ध्यान दिन उनले आग्रह गरे ।

पोखरेलले जिल्ला अस्पतालमा हुनुपर्ने न्युनतम सुविधा र पूर्वाधारको गुरुयोजना बनाउन निर्देशन समेत दिएका छन् । अस्पतालले बिरामी भएपछि उपचार गर्ने मात्रै नभई बिरामी हुन नदिने गरी जनचेतना कार्यक्रम सञ्चालनमा पनि ध्यान दिनुपर्ने बताए ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्