८ बैशाख २०८१, शनिबार

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख बस्यालको निधन

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको बिहिबार निधन भएको छ । उनको ६७ वर्षको उमेरमा बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्माले बताए ।

बस्यालको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा बस्यालको निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि उनको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समयमा फोक्सोमा पानी भरिएर अवस्था जटिल बन्दै गएपछि बस्याललाई थप उपचारको लागि परिवारले काठमाडौं पु¥याएका थिए । 

स्व. बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापले ग्रसित रहेका थिए । नेपाल कम्युनिष्ट पार्टी पाल्पाका नेतासमेत रहेका बस्याल जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाको थामडाँडामा २००९ सालमा जन्मिएका थिए । नेकपा एमाले पाल्पाको पार्टी प्रमुख, किसान संघको केन्द्रीय सदस्य समेत बनेका बस्याल इमान्दार र निष्ठावान नेता रहेको नेकपाका नेता देवीप्रसाद बस्यालले बताए ।

स्व. बस्यालले पाल्पाको कम्युनिष्ट पार्टीको संगठन विस्तार, शिक्षक आन्दोलन, सामाजिक जागरणको अभियानमा सशक्त भूमिका निर्वाह गरेको उनले बताए ।

एमए र विएडसम्मको अध्ययन गरेका बस्यालले लामो समय शिक्षण पेशा अंगालेको थिए । उनले दर्लमडाँडा माध्यमिक विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए ।

बस्यालको शव बिहीबार रातिसम्म तानसेन ल्याउने तयारी भइरहेको छ । बस्यालको पार्थिव शरिर शुक्रबार बिहान अन्तिम श्रद्धान्जलिका लागि उनको निवास र जिल्ला समन्वय समितिको प्रांगणमा राखिने पारिवारिक स्रोतले जनाएको छ । बस्यालका २ छोरा र २ छोरी रहेका छन ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्