१५ चैत २०८०, बिहीबार

साधारण भन्दा कम छैनन न्यून दृष्टियुक्त व्यक्तिहरु 

नेपालगन्ज । नेपालगञ्जका न्यून दृष्टियुक्त व्यक्ति विष्णु विश्वकर्मालाई सुरुमा आफू न्यून दृष्टियुक्त व्यक्ति भएकोमा खिन्नता हुने गर्दथ्यो । तरपछि अरु सामान्य व्यक्ति सरह पठन पाठन गर्न, खेलकुदमा सहभागीका साथै अन्य रमाईला अवसरले पछ्याउन थालेपछि भने उनलाई केही हौसला बढ्यो । 

ब्रेललिपी छामेर र पढाएको सुनेर आफ्नो अध्यापनलाई अघि बढाइरहेका विष्णुजस्तै ४० भन्दा बढी न्यून दृष्टियुक्त व्यक्ति बालबालिका र किशोरकिशोरी नेपालगञ्जस्थित मङ्गलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन् ।

भोला त्रिपाठीको साहास भने अन्य साधारण व्यक्तिको भन्दा पनि उच्च छ । मङ्गल विद्यालयमै अध्ययन गरेर अहिले आफूजस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ । उच्च तहसम्मको अध्ययन पूरा गरेका भोला मङ्गल माविमा शिक्षकको भूमिकामा छन् ।

मङ्गल माविमा अहिले १ देखि १० कक्षासम्म पठनपाठन हुन्छ । न्यून दृष्टियुक्त विद्यार्थी अध्ययनरत उक्त विद्यालय र विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सघंले पनि लिएको छ । 

सघंले न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने तथा उनीहरुको अधिकारका लागि सङ्घर्ष गर्दै आएको सङ्घका सदस्यसमेत रहेका त्रिपाठीले बताए । 

मङ्गलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाजो शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाँकेले मिलाएको छ । न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्फबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालीम, रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यून दृष्टियुक्त व्यक्तिलाई आफ्नो जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मङ्गल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ । हामी सबै एकै हौँ भन्ने भावनाको विकास गराउन सबैलाई एकै ठाउँमा राखेर पढाईने गरिएको शिक्षक त्रिपाठीले बताए ।

एकअर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाइ राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र सङ्कल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रता यी सबै कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको छ भन्दा अतियुक्ति नहोला ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्