७ बैशाख २०८१, शुक्रबार

पर्यटक तान्दै गुल्मीको ट्री हाउस

मन्त्री गिरीद्धारा उद्घाटन् 

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका– ७ उनायचौरमा निर्माण गरिएको ट्री हाउस आन्तरिक पर्यटकको आकर्षण बनेको छ । ट्री हाउसको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिले शनिबार उद्घाटन गरे । उनले प्रदेश ५ कृषि पर्यटनबाट मात्रै समृद्ध बन्ने भएकाले आफुहरु योजनाबद्ध रुपमा लागेको बताए । उनायचौरको ४२ फुट अग्लो सल्लाको रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने गरी घर निर्माण गरिएको छ ।

ट्री हाउस गएको भदौदेखि सञ्चालनमा आएको हो । त्यहाँ पुग्न सतहबाट एक सय सिँढी उक्लनु पर्छ । त्यहाँ बस्ने, रमाइलो गर्ने, तस्बिर खिच्ने र तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिने रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष मोहन पाण्डेयले बताए ।

‘ट्री हाउस’ मा सित्तैमा चढ्न भने पाईँदैन त्यसका लागि टिकट काट्नुपर्छ । विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा ट्री हाउसमा चढ्ने व्यवस्था छ । फुर्सद मिलाएर कर्मचारी, विद्यार्थी र अन्य युवा युवती मनोरञ्जनको लागि त्यहाँ पुग्ने कारण रुखमा चढ्नेको दैनिक घुइँचो लाग्ने गरेको छ ।

उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश ५ को वन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको समितिका सचिव युवराज मरासिनीले बताए ।

समितिले दुई लाख रुपैयाँ लगानी गरेको छ । ट्री हाउस दुई महिनादेखि सञ्चालनमा छ । पहिले चौर र मन्दिर मात्रै भएकाले सिमित मान्छे मात्रै आउने गरेपनि अहिले ट्री हाउसमा चढ्न दैनिक ३ सयसम्म आन्तरिक पर्यटक आउने मरासिनीले जानकारी दिए ।

गत भदौ ३ गतेदेखि अहिलेसम्म करिब २० हजारले ट्री हाउसको अवलोकन गरिसकेको उनले बताए । टिकट बिक्रीबाट १ लाख ८९ हजार रुपैयाँ रकम संकलन भएको मरासिनीले बताए । यो संख्या र रकममा विद्यार्थी र जेष्ठ नागरिक समावेश गरिएको छैन । रकम कोषमा जम्मा गर्ने र अन्य पर्यटकीय संरचना निर्माण गरिने उनले बताए ।

तम्घासको उच्च भूगोलमा भएकाले शीतल, स्वच्छ हावा, सुन्दर मनमोहक दृश्यले त्यहाँ पुग्ने अधिकांशले धेरै समय उनायचौरमा बिताउने गरेका छन  । मदाने गाउँपालिका ३ सिर्सेनीबाट ट्री–हाउस हेर्न आएका विवेक केसीले अब उनायचौरमा राम्रो होटलको आवश्यकता रहेको बताए । उनले अबको पुस्ताले नयाँ कुरामा बढी चासो राख्ने भएकाले ट्री हाउस सबैको रोजाइमा परेको बताए । अहिले बालकदेखि वृद्धासम्म रुख चढ्न जानेको भीड छ ।

अब छिट्टै वडा र नगरपालिकाबाट बजेटको व्यवस्था गरेर रुख चढ्न आएका पर्यटकलाई बस्ने र खाने व्यवस्था गर्न रिसोर्ट निर्माण गर्न लागिएको नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । 

जंगल नै पर्यटकीय गन्तव्य बनाउन र पर्यटक तान्न रुखको टुप्पामा फलामे घर निर्माण गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत मदन ढुंगानाले बताए । रुखबाट पनि पर्यटन प्रवद्र्धन गरी पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने यो गतिलो उदाहरण भएको ढुंगानाले बताए ।

ट्रि हाउस अबलोकनमा लागि पुग्ने गरेकाहरुले निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले विमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो । 

प्राबिधिक समस्या देखिएपछि सिमीचौरमा विमानस्थल निर्माण भईरहेको छ ।  बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीयहरु  ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि उत्साहित भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्