७ बैशाख २०८१, शुक्रबार

पर्यटकका लागि आकर्षणको केन्द्र रैनादेवी

पाल्पा । मौलिक भेषभूषा र संस्कृतिको बृहत प्रदर्शन गर्ने उद्देश्यसहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा मंसिर ९ र १० गते न्वागी पर्व मनाईदै छ ।

प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ । यहाँ वर्षौंदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनमा बृहत मेला लाग्ने गर्दछ । नयाँ धान भित्र्याएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, महलगायत चढाएर न्वागी खाने चलन रहेको छ ।

न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याउने प्रचलन भूवनपोखरी क्षेत्रमा छैन् । ‘यदि प्रयोग गरियो भने घरमा अनिष्ट हुने धार्मिक विश्वास छ’ भुवनपोखरीका स्थानीय भरतमणी लम्सालले भने, ‘यसैले यहाँका किसानले परम्परागत रूपमा न्वागी खाने र पर्वका रूपमा मनाउने गर्छन् ।’ दसैं, तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गरेको मन्दिर संरक्षण विकास समितिका अध्यक्ष भेषराज पन्थीले धरातल अनलाईनलाई बताए । यस वर्षको न्वागी मेला विषेश हुने भएकाले विभिन्न प्रचारका काम गरिरहेको उनले बताए ।

गाउँमा आउने अतिथि तथा मन्दिर दर्शन गर्न आउने सबैलाई दही, चामल खुवाएरै परम्परागत संस्कृतिलाई जगेर्ना गरेको रैनादेवी छहरा गाउँपालिका–३ का वडाध्यक्ष लालबहादुर दर्लामीले बताए । 

न्वागीका अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी (ठूलोनाच), मालाश्री, रत्यौली, झाम्रे, चुड्का, लाखे, कौडालगायत विभिन्न जातजातिका स्थानीय मौलिक कला–संस्कृतिको प्रस्तुति गरिने कार्यक्रम तय गरिएको छ ।

शुक्रबार मन्दिर परिसरमा नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश समितिले एक अन्तरक्रियाको आयोजना गर्दै ऐतिहासिक महत्व बोकेको रैनादेवि मन्दिरलाई आवश्यकता अनुसार विकास गर्न नसकिएको भन्दै अब स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यसलाई ब्यवस्थित गरिनेमा जोड दिएको छ ।

कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य तुलाराम घर्ती (बसन्त) ले स्थानीय सरकार र प्रदेशको पहलमा यसको थप विकास गरिने बताए । ऐतिहासिक महत्वको मन्दिरलाई व्यवस्थित गर्न नसक्दा यसको प्रचार प्रसार पनि हुन नसकेको उनले बताए । 

वडा नं. ३ का वडाध्यक्ष लालबहादुर दर्लामीले यसबर्ष न्वागी पर्वको अवसर पारेर यही मंसिर ९ र १० गते विविध कार्यक्रम गर्न लागिएको जानकारी दिए ।  ९ गते साहित्य तथा सोरठी नाच प्रतियोगिता गर्ने तयारी भएको उनले जानकारी दिए । १० गतेको समापन कार्यक्रम प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरीले गर्ने उनले बताए ।

यस्तो छ इतिहास

किंवदन्ती अनुसार रैनादेवी मन्दिरनजिकै न्यौपाने ब्राह्मणले गाई पाल्ने र छहरी मगर गोठाला थिए । गाईले दूध नदिएपछि उनीहरू पिछा गर्दै जाँदा जंगलको बीचमा सुनको मौलोमा गाईले दूध चढाएको देखे । रैनादेवी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भेषराज पन्थीका अनुसार दुवैजनाले सुनको मौलो खोज्दै गए । जति खन्यो उति भासिँदै गयो । मौलोको केही टाउको मात्र देखियो । टाउको भाँचेर ल्याउन खोज्दा रगत निस्कियो ।

यहाँ देवी रोईकराई उत्पन्न भएको धार्मिक विश्वास रहेको उनले बताए । ‘अहिले पनि यहाँ न्यौपाने ब्राह्मण र छहरीलाई यस्तो किंवदन्ती छ भन्ने गरिएको छ,’ उनले भने, ‘तर, छहरी मगर गाउँमा छैनन् । न्यौपाने भने पूजा गर्न जाने गर्छन् ।’ खनेको खाल्डो अहिलेसम्म भएको जनविश्वासका आधारमा अझै पनि सोही खाल्डोमै पूजा गरिन्छ । देवीको पूजा गर्ने स्थानमा काठका डाँडाभाटाले छोपेर राखिएको छ । त्यसैलाई मन्दिरको स्वरूप दिइएको व्यवस्थापन समितिका अध्यक्ष पन्थीले बताए ।

रैनादेवीको वरपरका प्राकृतिक सम्पदामा ऐतिहासिक स्थलहरु रहेका छन । माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सुत्रहरू प्राप्त गरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि तथा ज्ञवाली वंशका आदिपुरुष सुमेरुको तपोस्थल रिडी, भृगु वंशीय महर्षिहरु, वाल्मिकि र कपिलमुनिको तपोस्थल यसै क्षेत्रमा पर्दछन । यो क्षेत्र परापूर्वकालदेखि नै पवित्र भूमिको रुपमा रहेको अनुमान गर्न सकिन्छ ।

रैनादेवी नाम कसरी रहन गयो भन्ने विषयमा विभिन्न मतहरु पाइन्छन् । गुल्मी र अर्घाखाँचीलगायतका क्षेत्रमा रैनादेवीलाई अहिले पनि गोखुंगाकी देवी भन्ने प्रचलन छ । सन् १९१९ मा रैनादेवीलाई चढाएको घण्टामा ‘रोइनादेवी’ उल्लेख गरिएको छ । त्यस समयमा रैनादेवीलाई ‘रोइनदेवी’ भनिने गरेको पाइन्छ । यस क्षेत्रमा परापूर्व कालदेखि नै मगरहरुको राज्य थियो । त्यसैले धेरैजसो ठाउँहरुको नामाकरण पनि मगर भाषाबाटै भएको छ ।

पृथ्वीनारायण शाहको नेपाल एकिकरणको समयमा रैनादेवी सपनामा प्रकट भएपछि अर्कोदिन राजाले हे ! गोखुंगाकी देवी तिमी यदि सत्तकी छौ भने मैले यो पाडोलाई बलिको रुपमा पठाएको छु’ भनी पाडो बलीको लागी पठाएका थिए । अहिले पनि मन्दिरमा जेठोपाडोको बलिदिने परम्परा छ । 

रैनादेवी जाने जो कोहि पर्यटक तिर्थाटनको भावनाले गोखुङ्गा जाने हो भने हरेक आइतबार, दसैको नवरात्रभर, वैशाखे पूर्णिमा र वैशाखे पूर्णिको १५ दिन पछि पर्ने छोटी पूजा, चैते दसै, दसैको पूर्णिमा र मङसिरको न्वागीमा रैनादेवीमा मेला लाग्छ ।

यस क्षेत्रका सबै समुदायले कुनै नयाँ काम गर्दा, घिऊ तताउँदा, भैंसी व्याउँदा, परदेश जाँदा, विवाहलगायतका अन्य कुनै शुभकार्य गर्दा पहिले रैनादेवीलाई सम्झने र प्रसाद चढाउने प्रचलन छ । परिवारमा जेठो सन्तान जन्मिएपछि देवीलाई पूर्व बढाई दिने र पञ्चवली लैजाने प्रचलन रहेको छ । रैनादेवीसँग मागेको बर पुरा हुने विश्वास गरिन्छ ।

कसरी पुग्ने ?

बुटवल वा पोखराबाट बस चढेर पाल्पा सदरमुकाम तानसेन पुग्न सकिन्छ । तानसेनबाट ३८ कि.मी. पश्चिमतर्फ सडकमा करिब डेढ—दुई घण्टाको बस यात्राबाट गोखुंगा चौपारी पुगिन्छ । गोखुंगा चौपारीबाट १० मिनेट उकालो हिँडेपछि मन्दिरमै पुग्न सकिन्छ । अहिले अर्घाखाँची र गुल्मीबाट समेत सडक सञ्जाल रैनादेवीसम्म जोडिएको छ ।

गुराँस फुल्ने डाँडा : गोखुंगा 

रैनादेवी मन्दिर महाभारत पर्वत श्रृखलाअन्तर्गत समुद्री सतहदेखि १ हजार ६ सयबढि मिटरको उचाइमा रहेको छ । मन्दिर क्षेत्र प्राचिन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एंव पुरातात्विक महत्वले पर्यटनको गन्तब्य भएको छ ।

रैनादेवीबाट उत्तरतिर हेर्दा नजिकै अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन् । मौसम सफा भएको समयमा रैनादेवीको मन्दिर परिसरबाट गुल्मी र स्याङजा जिल्लाका धेरै रमणिय ग्रामीण बस्तीको समेत अवलोकन गर्न सकिन्छ । अर्को तर्फ सूर्यास्तको बेला धौलागिरी हिमालको छायाँ रैनादेवीमै पर्दछ । चिसो हावापानी, घना वन र जैविक विविधताले धनि रैनादेवीको क्षेत्र पर्यटकहरुलाई आकर्षित गर्दछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्