७ बैशाख २०८१, शुक्रबार

दुर्लभ सोरठी नृत्य : विद्यार्थीलाई सिकाउँदै विद्यालय

गुल्मी । मगर समुदायको प्रख्यात नाच सोरठी । अचेल यो नाच मगर गाउँमै दुर्लभ भएको छ । नयाँ पुस्ताको आकर्षण नभएपछि यो मौलिक कला र संस्कृति पुरानो पुस्तामै सिमित छ । तर जिल्लाको अर्जुन आवासीय माविले बिद्यार्थीहरुलाई सोरठी नाच सिकाउन थालेको छ ।

‘संगै नाँचौ’ अभियान नै सञ्चालन गरेर बिद्यालयले कक्षा ७ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई सोरठी नाच सिकाउन थालेको प्रिन्सीपल रबिचन्द्र बिष्टले बताए । शुक्रबार रेसुङ्गा नगरपालिकाको प्रख्यात भँगारी सांस्तृतिक समुहले बिद्यार्थीहरुको माँझमा सोरठी प्रस्तुत गरेका थिए । 

तीन देशबीच संस्कृती सिकाई

अन्तराष्ट्रिय बिद्यालय पुस्कारको प्रतिस्प्रर्धाको लागि ब्रिटिश काउन्सिलसँगको आबद्धतामा बिद्यार्थीहरुलाई सोरठी सिकाउन थालिएको कार्यक्रमको संयोजन गरिरहेका शिक्षक सुदिप केसी बताए । भँगारी समुहको सोरठीको आधारमा बिद्यालयका नृत्य प्रशिक्षकहरुले बिद्यार्थीहरुलाई प्रशिक्षित गर्नेछन् ।

अर्जुन आवासीय माविका बिद्यार्थीहरुलाई सोरठीको प्रशिक्षण दिर्दै रेसुङ्गा नगरपालिका १३ दुविचौरको भँगारी सांस्कृतिक समुह । तस्विर : टोपलाल अर्याल/गुल्मी

सोरठीमा अब्बल भएपछि स्काइप मार्फत भारत र श्रीलङका बिद्यार्थीहरुले नेपालको यो संगीत र नृत्य सिक्नेछन् । भने त्यहाँको संगीत र नृत्य नेपाली बिद्यार्थीहरुले सिक्ने केसीले बताए । त्यसपछि तीन देशको संयुक्त संगीत र नृत्य प्रस्तुत गरिने बिद्यालयले जनाएको छ । 

बिद्यार्थीमा उत्साह थप्दै सोरठी

मदाने गाउँपालिका २ का विवेक सेन अर्जुन आवासीय माविको कक्षा ७ मा पढ्छन् । गाउँमा सोरठी नृत्य देखे । उनलाई यो नृत्य मनपर्छ । तर संगीत अप्ठ्यारो छ । ‘नृत्यले आनन्द आउँछ, सोरठीको संगीत भने अप्ठ्यारो लाग्यो’ उनले धरातल अनलाईनसँग भने, ‘पुरानो संस्कृति भएकाले सिक्ने उत्साह पलाएको छ ।’

कक्षा ७ मै पढ्ने धुर्कोट गाउँपालिका १ नयाँगाउँकी कृतिका जिसी अरु धेरै गीत संगीतमा नृत्य गर्छिन । सोरठी नाम मात्रै सुनेकी थिइन् । उनलाई पनि संगीत अप्ठ्यारो लाग्यो । नृत्यमा कुनै समस्या छैन । ‘नयाँ पुस्ताले नयाँ गीतसंगीत खोज्नु स्वभाविक हो, युग सुहाउँदो नृत्य गरेकी छु’ उनले भनिन, ‘पुरानो संस्कृतिको संरक्षण पनि गर्नुपर्छ ।’ आफुलाई सोरठी गीत र नृत्यको प्रशिक्षण लिने तिव्र चाहना भएको जिसीले बताइन् ।

सोरठी जोगाउन चुनौती

जिलवट लेप्चा अर्जुन आवासीय माविका नृत्य प्रशिक्षक हुन् । उनले बिद्यालयमा काम गर्न थालेका १४ बर्ष भए । लेप्चाले प्रशिक्षण दिएका धेरै नृत्यमा अब्बल छन् । बिद्यार्थीलाई सोरठी सिकाउने जिम्मा पनि उनकै काँधमा छ । ‘अरु गीत संगीत र नृत्य जस्तो सोरठी छैन, मिक्स सोरठी भने गर्दै आएका छौँ’ उनले भने, ‘वास्तविक सोरठीको मेलो र लय समात्न नयाँलाई समय धेरै लाग्छ ।’ उनले लोक संगीतको जीवन सोरठी भएकाले हरेक संघ–संस्थाले नयाँ पुस्तालाई प्रतिस्प्रर्धा र प्रशिक्षण दिनुपर्ने बताए ।

त्यस्तै प्रख्यात भँगारी सोरठी समुहका लाल बहादुर श्रीसले आफुहरु पछि यो नृत्य संकटमा पर्ने बताए । उनले आफुहरुले बडो दुःखले सिकेको यो नृत्य नयाँ पुस्ताले अनुशरण नगर्दा समस्या भएको बताए । ५९ बर्षीय श्रीस सोरठी समुहमा मादले हुन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्