१६ चैत २०८०, शुक्रबार

बागलुङमा खिमविक्रम शाहीले जिते, एक उदाहरणीय राजनैतिक पात्र शाही !

बागलुङ । बागलुङको प्रतिनिधी सभा २ को प्रदेश सभा २ मा बाम गठबन्धनका साझा उम्मेदवार खिम विक्रम शाही निर्वाचित भएका छन् । शाहीले दुई हजार ९७ मतान्तरले चुनाव जितेका हुन् ।

आईतबार राति सकिएको मतगणनाअनुसार शाहीले ११ हजार २ सय ३५ मत पाउँदा निकतम प्रतिद्धन्द्धी कांग्रेसका जीत बहादुर शेरचनले ९ हजार १ सय ३८ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाका शाहीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समर्थन गरेको थियो ।

प्रथम प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा राजमो बामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यस निर्वाचनमा पनि नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन नै निकटतम प्रतिव्दन्दी थिए भने उनले ८,६२४ मत ल्याएका थिए । यस उपनिर्वाचनको मतपरिणाम अनुसार अघिल्लो प्रदेशसभा सदस्य निर्वाचनमा राजमोका घर्तीले प्राप्त गरेको मत भन्दा ६४९ कम छ भने काँग्रेसका शेरचनले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत भन्दा ५२६ बढी हो ।

यस्तै समाजवादी पार्टीका अशोक कुमार बिकले ३ सय १६, स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश बहादुर कुवँरले ३६ मत पाएका छन् । 

राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिल कुमार राईले ७, मंगोल नेशनल अर्गनाईजेसनका मित्र बहादुर मगरले ४५ मत प्राप्त गरेका छन् । ४२५ मत बदर भएको छ ।

३५ हजार १ सय ८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार २ सय ९५ मत खसेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए । जसमध्ये ११ हजार ९ सय २२ महिला र पुरुष ९ हजार ९ सय ७३ जना रहेका थिए । मतदानमा पुरुषभन्दा महिला १ हजार ९ सय ४९ जना बढी सहभागी भएका थिए । रोजगारीको शिलसिलामा पुरुषहरु बाहिरी मुलुकमा रहेका कारण महिलाको संख्या बढी हुन गएको हुन सक्ने अनुमान गरिएको छ ।

अघिल्लो प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाता संख्या ३३ २४० रहेकोमा २२०६९ मत खसेको थियो । प्रदेश सभा २ मा ढोरपाटन नगरपालिका, निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिका पर्छन् । प्रदेश सभा सदस्य टेक बहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको थियो ।

खिम विक्रम शाही : एक उदाहरणीय राजनैतिक पात्र !

बागलुङ जिल्लाको साविकको बोहरागाउँ गाउँ विकास समिति तथा हालको निसीखोला गाउँपालिका वडा नं. ३ को बोहरागाउँमा जन्मिएका क्रियाशील, सचेत र  सामाजिक व्यक्तित्वका हिसाबले खिमविक्रम शाही चिर परिचित व्यक्तित्व हुन् । 

विक्रम सम्वत् २०२७ साल असोज २६ गते बाबा हिरा बहादुर शाही र आमा चनकुमारी शाहीको कोखबाट दोश्रो सन्तानको रुपमा जन्मिएका हुन् । उनी विद्यालय जीवनबाटै सचेत विद्यार्थी आन्दोलनसगैं खेलकुदमा सक्रिय थिए ।

प्रभा माध्यामिक विद्यालय बोहरागाउँमा प्रारम्भिक शिक्षा हासिल गरेपछि उनले उत्तर गंगा माध्यमिक विद्यालय बुर्तिवाङबाट २०४६ सालमा माध्यमिक तहको शिक्षा पुरा गरेका थिए । विभिन्न उतारचढावका कारण उनले उच्च शिक्षाको अध्ययन भने निरन्तर गर्न सकेनन् ।

विक्रम सम्वत् २०४० सालमा अखिल नेपाल बाल संगठनमा संगठित भई राजनीतिक यात्रा सुरु गरेका शाही, अखिल (छैठौं) हुँदै वि.सं. २०४७ सालदेखि अखिल नेपाल युवक संघको बागलुङ जिल्ला उपाध्यक्ष समेत बनेका थिए ।

वि.सं. २०५४ सालदेखि अस्थायी शिक्षकका रुपमा स्थानीय प्रभा माध्यामिक विद्यालयमा शिक्षण पेशा सुरु गरेदेखि पेशागत आन्दोलनमा पनि सक्रिय रहेका शाही २०६५ सालदेखि राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला समितिमा रहेर क्रियाशिल रहेका थिए । 

सचिवालय सदस्य समेत भएका शाही समाजमा हुने अन्याय, अत्याचार, विभेद, असमानतालगायत विभिन्न सामाजिक विभेदका विरुद्ध संघर्षरत क्रियाशील राजनैतिक पात्रका रुपमा परिचत छन् । शाही सामाजिक रुपमा पनि विद्यालय, जलविद्युत, स्वास्थ्य, सामुदायिक अध्ययन केन्द्र तथा बाटोघाटोको विकास निर्माणमा समेत सक्रिय भुमिकामा रहँदै आएका छन् ।

समुदाय र समाजमा रहँदा पनि सधै सहयोगी, लगनशिल, क्रान्तिकारी र समाजप्रेमी व्यक्तित्वका रुपमा पश्चिम बागलुङले शाहीलाई चिन्दछ । शाही पद, प्रतिष्ठा भन्दापनि देश, जनता, पार्टि र न्यायिक आन्दोलनप्रति समर्पित निष्ठावान, मेहनेती, इमान्दार, कर्तव्यनिष्ट र स्वच्छ छविको व्यक्तिका रुपमा सबैले चिन्दछन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्