८ बैशाख २०८१, शनिबार

पालो कुर्दै धान बेच्दै किसान

नेपालगञ्ज। सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानको पनि उत्तिकै घुइँचो लाग्ने गरेको छ ।

दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ । 

खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद शुरु गरेको थियो । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको छ । यस वर्ष मोटो धानको रु दुई हजार ५३२.८० पैसा र मध्यम धानको रु दुई हजार ६७३.१६ पैसा प्रतिक्विन्टल तोकिएको छ ।

यस वर्ष तोकिएको धानको मूल्य गत वर्षको भन्दा रु २०० ले बढी हो । धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड पुगेका किसान तीर्थराम कलवार सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफूले उत्पादन गरेको धान खाद्यमा बिक्रीका लागि ल्याएको बताए । 

अर्का किसान शालिकराम कोरीले बाह्य व्यापारीको तुलनामा खाद्यले खरिद गर्ने धानको मूल्य किसानको हितमा भएकाले आफू बिक्रीका लागि आएको बताए । चारवटा काँटाबाट तौल गरेर रातदिन खट्ने गरे पनि किसानले भने धान बिक्रीका लागि केही समय कुर्नैपर्ने बाध्यता देखिएको छ । 

व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि धान बिक्री गर्ने किसानको घुइँचो लागेको छ । संस्थानले मूल्य बढी दिएपछि गाउँमा धानको खरिद–बिक्री कम भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका प्रमुख भरतराज खनियाले खरिद खुला गरेपछि धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्