६ बैशाख २०८१, बिहीबार

शोकको घुम्टोभित्र कार्की गाउँ

गुल्मी । उमा कार्कीका आँखा ओभाएका छैनन् । मंगलबार घरमुलीसहित तीन जना दुर्घटनामा परे । कुल पुजाका लागि बागलुङ्ग निसीखोला हिडेका श्रीमान धन बहादुर कार्कीको शव बुधबार मात्रै फेला प¥यो । दुर्घटना स्थलमा बुहारी सुचना कार्की मृत थिइन् । घाइते अवस्थामा फेला परेका नाति चार बर्षीय हिमाल कार्की काठमाडौंमा उपचारत छन् । 

सोहि गाउँका तिल बहादुर कार्कीले दुर्घटनाको अघिल्लो रात सम्झिएर आँखामा आँसु भरे । त्यो दिन उनले श्रीमती भुमि कार्कीलाई नजान आग्रह गरेका थिए । ‘म बिरामी छु आगामी कुल पुजामा मर्ने बाँच्ने ठेगान छैन, मै जान्छु तिमी फेरि जाउली भनेको हो,’ उनले भने, ‘मर्ने लेखा रहेछ, कहिल्यै गएकी छैन भन्दै गइन् ।’ १६ बर्षीय छोरा बिष्णु कार्की आमाको क्रिया बसेका छन् ।

छोरीहरु क्रिया बस्दै

बल्लबल्ल अडिएको कच्ची घर । त्यही झुप्रोमा सिता कार्कीको तीन आमाछोरी थिए । मंगलबार दुई बर्षीया छोरी अनुष्कासहित कुल पुजामा हिडे । तर साँझ आमाछोरीनै घरमा आएनन् । नेपाली उखान ‘जहाँ होचो त्यहिँ घोचो’ भने जस्तै त्यति परिवारमा ठूलो बज्रपात प¥यो ।

१६ बर्षीया छोरी इशा र १० बर्षीया पुजा मात्रै घरमा छन् । बुवा प्रेम कार्की मजदुरीको लागि भारतमा छन् । दुर्घटनाको खबर सोहि दिन नै थाहा पाए । खुसी बोकेर फर्किने परदेशी पीडा लिएर घर आउँदैछन् । सम्भवत दुई छोरी मध्ये इशा तीन दिनबाट क्रिया बस्ने छिमेक बद्री कार्कीले बताए । 

मन अड्याउने ठाउँ छैन

धन बहादुर कार्की दुई छोरीसहित दुर्घटनामा परे । मिना रहिनन् । निमा केसी गम्भीर घाइते छन् । बागलुङ्गको भिमगिठेबाट चढेकी बहिनी लक्ष्मी केसी पनि दुई मिनेटमै दुर्घटनामा परिन् । ‘मन अड्याउने कुनै ठाउँ बाँकी रहेन, बुबासंगै दिदिबहिनीहरु गुमे,’ क्रियामा बसेका धन बहादुरका छोरा थम्मन कार्कीले भने, ‘गाउँनै रित्तो भएको छ ।’ १२ घर कार्की भएको गाउँमा दुःख नपरेको घर छैन् ।

घरको पीढिँमा टुसुक्क । चिसो सिरेठो छेक्न ठूलो बलाङकेट । आँगनमा बसेका सवै शोकमा थिए । मंगलबार दुर्घटनामा मिना बस्नेतको ज्यान गयो । छोरा १३ बर्षीया सुनिल क्रिया बसेका छन् । सुनिलको अनुहारमा आमा थिइन । बोल्न रुचाएनन् । बुबा चन्द्रदिप बस्नेत रोजगारीकै शिलसिलामा साउदी छन् । परिक्षा राम्रो गर्न भन्दै हिडेकी फर्किएर नआएपछि सुनिल र उनकी बहिनी रबिना बस्नेत पीडामा छन् ।

पहिलो नै अन्तिम भेट

धन बहादुर कार्की पहिलो पटक कार्की दाजुभाई खोज्दै कुल पुजाको लागि इस्मा आएका थिए । तर दाजुभाईसंगको भेट अन्तिम मात्रै रह्यो । जे उदेश्य बोकेर आए, त्यो पुरा भएन । दुर्घटनामा परेर ज्यान गुमाए । दाजुभाईसंगको कुल पुजाको खुसी बोकेर घर फर्किन पाएनन् । 

महेन्द्र कार्की पनि २० बर्षमा कुल पुजाकै लागि भारतबाट आए । कुल पुजाकै लागि दशै र तिहारमा समेत घर आएनन् । दुर्घटनामा परेर ज्यान गुमाए । मृत्युको खबरले भारतमै छोडेर आएका दुई छोरा र श्रीमति आँसु पुच्दै बाटोमै छन् ।  

भगवान बने प्रहरी 

कुल पुजाको लागि मंगलबार बिहान घरबाट २४ जना जीपमा हिडे । पहिलो प्रहरीचौकी पौदी अमराई हो । त्यो गाडी चेकिङ्ग पौदी अमराई प्रहरीको चेकिङ्गमा परेन् । बागलुङको खार बजार पुगेसी प्रहरीले ओभरलोड देखे । गाडी रोकेर आठ जनालाई झारे । झर्ने मध्येका विशाल कार्की हुन् । उनकी आमा बसुन्धरा त्यही जीपमा हिडिन । केही बेरमै बसुन्धराको दुर्घटनामा परेर मृत्यु भयो । भाग्यले छोरा जोगिए ।

त्यहि चेकजाँचमा मधु कार्की पनि झरे । उनकै दिदी माया जीपमा थिइन । दुर्घटनामा परेर ज्यान गयो । प्रहरीले झार्ने मध्येका नारायण कार्की पनि हुन । उनी झरेर बाँचे । उनका दाजु महेन्द्र दुर्घटनामा परे । ‘पहिले प्रहरीले रोकेपछि केहिबेर बिबाद पनि भयो, आखिर प्रहरी हाम्रो भगवान रहेछ,’ उनले भने, ‘नझारेको भए कसैको परिवारनै सकिन्थ्यो ।’

गाउँपालिकाद्धारा शोक बिदा

इस्मा गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ । मंगलबार कुलपुजाको लागि हिडेका इस्मा गाउँपालिका ४ र ५ का १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिने शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । उनले दुर्घटनाले गाउँपालिकालाई ठुलो क्षति पु¥याएकाले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

अहिले बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा सञ्चालन भएको छ । गाउँपालिकाले १८ गते स्थगित प्रावि तहको परिक्षा १९ मंसिर र निमावि र माविको २० मंसिरमा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

सामुहिक दाहसंस्कार

मंगलबार बागलुङको बडिगाड गाउँपालिका ७ अल्छीबाङ्ग जिप दुर्घटनामा मृत्यु भएका एउटै गाउँका १० जनाको सामुहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका ५ को हुलाके घाटमा बेलुकी नै दाहसंस्कार गरिएको हो । प्रदेश नं ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, तथा नेकपाका जिल्ला सचिव बीर बहादुर कार्की, नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलालगायतले दुर्घटनामा निधन भएका परिवारहरुको अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दुर्घटनामा मृत्यु भएका इस्मा गाउँपालिका ४ का ४० बर्षीय महेन्द्र कार्की, २५ बर्षीया सुचना कार्की, ४० बर्षीया सिता कार्की, ६५ बर्षीया झवि कार्की, ४५ बर्षीय भुमि कार्की, २५ बर्षीय मिना वस्नेत, ६५ बर्षीय धन बहादुर कार्की र दुई बर्षीया अनुस्का कार्कीको तथा इस्मा गाउँपालिका ५ की ४० बर्षीया बसुन्धरा कार्की, २३ बर्षीया माया थापाको सामुहिक दाहसंस्कार गरिएको स्थानीय लंक बहादुर वस्नेतले बताए ।

आफ्नै दाहसंस्कार

बागलुङ बडिगाड गाउँपालिका ५ र्की ५५ बर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसस्कार गरेको लक्ष्मीका भाई पिताम्बर कार्कीले बताए । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेकी थिइन् । इस्मा गाउँपालिका ४ का गाडी चालक २५ बर्षिय रेशम थापाको शव मंगलबारनै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा बुधबार बिहान दाहसंस्कार गरिएको स्थानीय राम बहादुर रेश्मीले जानकारी दिए । 

त्यस्तै नवलपरासी वर्दघाट नगरपालिका २ की ६० बर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ । बेपत्ता इस्मा गाउँपालिका ४ का धन बहादुर कार्की बुधबार फेला परेपछि दाहसंस्कार गरिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्