१६ चैत २०८०, शुक्रबार

कैदीबन्दी कहाँ राख्ने ?

नवलपरासी । नवलपरासी पूर्व नवलपुरमा कारागार नहुँदा कैदीबन्दी राख्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीलाई छिमेकी जिल्लामा रहेको कारागार पठाउनुपर्ने बाध्यता रहेको छ ।

नवलपरासी जिल्ला पूर्व र पश्चिम गरी दुई जिल्लामा विभाजन भएपछि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्व दुई वर्षअघि स्थापना भएको हो । उक्त ठाउँमा कारागार नहुँदा कैदीबन्दीलाई चितवनस्थित कारागारमा पठाउने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

जिल्लामा कारागार नहुँदा कार्यालयलाई आर्थिक भारसमेत थपिएको उनको भनाई छ । जिल्ला बाहिरका कारगार ल्याउने लैजाने गर्दा यातायात खर्च बढेको र अर्कोतर्फ सुरक्षाकर्मीलाई कैदीबन्दी लिएर चितवन पठाउनुपर्दा जनशक्ति अभावसमेत हुने गरेको उनले बताए ।

जिल्लामा कारागार निर्माण गर्ने बारेमा सम्बन्धित पक्षसँग छलफल र पहल गर्ने काम भइरहेको छ । नयाँ जिल्ला भएकाले सबै संरचना नयाँ निर्माण गर्नुपर्ने हुँदा केही अप्ठ्यारो परेको उनको भनाई छ । 

नवलपुरबाट चालू आर्थिक वर्षको अहिलेसम्म ६३ कैदीबन्दी र गत आर्थिक वर्षमा १४२  कैदीबन्दीलाई चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका टीकाराम पोखरेलले जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्