१५ चैत २०८०, बिहीबार

महिला श्रमिकका पिडा : ‘श्रम मेरो, मूल्य अर्कैको ?’

भोगाइ–१

“बिहे गरेदेखि नै म बिहान ०४ बजे उठेर घरधन्दा सकेर श्रीमानसँगै हस्तकलाको सामग्री बनाउने गरेको छु । श्रीमानसँगै श्रम गर्नुपर्छ, तर मैले मेरो श्रमको मूल्य कहिल्यै पनि ‘चाख्न’ पाइन, आफूलाई मनमा लागेको ठाउँमा एक पैसा पनि खर्च गर्न पाइन, यतिसम्मकी छोराले विद्यालयबाट फर्केर खाजा खान पैसा माग्दा मसँग छैन, बुबासँग माग भन्नुपर्ने अवस्थामा छु । 

एक मनमा लाग्छ, बरु अरुको नोकरी गरेँ भने कमसेकम मैले मेरो श्रमको मूल्य त आफैँले पाउँछु, तर घरमै गरेको श्रमको मूल्य मैले पाउँदिन । फेरि सोच्छु, मैले मेरो घरमा त आफ्नो श्रमको मूल्य पाउँदिन भने बाहिर झन् कसरी पाउँला ? म दोमनमा परेकी छु, न आफ्नो काम गरुँ, न अर्काकोमा काम गर्न जाउँ ।” 

भोगाइ–२ 

“म लामो समयदेखि घरेलु श्रमिकका रुपमा काम गर्दै आइरहेको छु । घर पुछ्ने, कपडा धुने काम गर्नुपर्छ । बिहानैदेखि रातिसम्म काम गर्ने गरेको छु । गतवर्षको घटना हो, पुसको महिना बिहानदेखि मध्याह्नसम्म एउटा घरमा कपडा धुने काम गरेको थिएँ । कपडा धोइसकेपछि घरवालाले जम्मा रु ३०० दिए । पुसको चिसोमा हात कठ्याङ्ग्र्याउँदै काम गरेको मूल्य खोई ? जति काम गरे पनि मेरो मालिकले मेरा श्रमको मूल्य निर्धारण गर्ने गर्छन् । यो कत्तिको न्यायोचित छ ? दुःख मेरो, ज्याला तोक्ने अधिकार अर्केको ?”

भोगाइ–३

लामो समयदेखि निर्माण श्रमिकका रुपमा काम गर्दै आइरहेकी छु । पुरुषले जत्तिकै काम गर्नुपर्छ । काममा कुनै फरक छैन । पुरुषले जत्तिकै परिणाममा काम गर्नुपर्छ । काम गर्न पनि सक्षम छु । सीप सिकेको छु । तर मलाई पुरुष श्रमिकलाई भन्दा कम ज्याला दिइन्छ । पुरुष मजदूरले दैनिक एक हजार ज्याला पाउँछन्, तर सोही काम गर्ने हामी महिलालाई दैनिक रु ७०० मात्र दिइन्छ । समान काम तर लिङ्गका आधारमा ज्यालामा विभेद किन ?

यहाँ प्रस्तुत प्रतिनिधिमुलक भोगाइ लामो समयदेखि आफ्नो श्रमको मूल्यमाथि अर्काले प्रभूत्व जमाउँदै श्रम शोषण र विभेदमा परेका महिलाको हो । महिला श्रमिकले आफूहरुले श्रमको उचित मूल्य प्राप्त गर्न नसकेको, लिङ्गका आधारमा ज्यालामा विभेद हुने गरेको तथा सम्पत्ति तथा आम्दानीमा श्रीमानको हैकम हुने गरेको बताउँछन् ।

नेपालको संविधानले सबै नागरिकलाई रोजगारीको हक, समानताको हकलगायत अधिकार प्रत्याभूत गरेको छ । सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुने व्यवस्था छ । समान काममा लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै पनि भेदभाव नगर्ने व्यवस्था संविधानमा लिपीबद्ध भएपनि अझै महिला श्रमिकले समान कामको समान ज्याला र श्रमको उचित मूल्य प्राप्त गर्न सकेका छैनन् । 

सम्पत्तिमा महिलाको अधिकार व्यवहारमा स्थापित हुन सकेको छैन् । अनौपचारिक क्षेत्रमा रोजगारीमा महिलाको संख्या अधिक रहेपनि सामाजिक विभेद भने अहिले पनि डरलाग्दो अवस्थामा रहेको छ । संविधानले महिला सशक्तीकरणको मुद्दा सम्बोद्धन गरेपनि व्यवहारिकरुपमा कार्यान्वयनमा आउन नसकेको महिला अधिकारकर्मीको भनाइ छ । 

महिला अधिकारकर्मी रेणु अधिकारीले महिलाको आफ्नो पहिचान, शरीरमाथिको अधिकार र श्रमप्रतिको अधिकार स्थापित हुन नसकेसम्म महिला श्रमिकमाथिको विभेद अन्त्य नहुने बताउँछिन । “बिहेपछि महिलाको पहिचाननै बदल्ने प्रयास गरिन्छ, महिलाको आफ्नो शरीरमाथिको अधिकार खोइ ?, आफ्नो श्रममाथि महिलाको अधिकार कहाँ सुरक्षित छ ?”, उनले प्रश्न गरिन् ।

महिला अधिकारको विषय धेरैको ‘मागी खाने भाँडो’ भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले श्रमिक महिला अधिकारको सन्दर्भमा परियोजनामुखी नभइ समस्या सधैँका लागि अन्त्य हुने दिशामा आन्दोलित हुनुपर्ने बताईन् । 

समानताका विषयलाई कानूनले नै सम्बोधन गरेको भए पनि एक अध्ययन अनुसार पुरुष र महिलाको औषत आयमा करिब ३० प्रतिशतसम्म अन्तर रहेको छ । महिलाको औसत मासिक आय रु १३ हजार ६३० र पुरुषको रु १९ हजार ४६४ रहेको अध्ययनले देखाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्