१६ चैत २०८०, शुक्रबार

जलजलामा पहिलो गौमहोत्सव

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका  ७ मिलनचोकमा नेपालमै पहिलो पटक गौमहोत्सव सुरु भएको छ । लोप हुँदै जान लागेका वैदिक गाईको संरक्षण गर्ने उद्देश्यले  गण्डकी गोपाल गौशालाको आयोजनामा एक हप्ता गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव सुरु भएको हो ।

गौमहोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्दै कालञ्जर, जलजला र गौशालालाई एकीकृत रुपमा विकास गर्न सकेमा धार्मिक पर्यटन भित्र्याउन सकिने बताए ।  कालाञ्जर क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले जलजला  धार्मिक पर्यटनको प्रचूर सम्भावना भएको क्षेत्र भएकाले यसको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा गौमहोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

उद्घाटन कार्यक्रम हुनुभन्दा अगाडि मिलनचोक, बेनी, बाग्लुङ र कुस्मामा भजनकीर्तन र बाजागाजासहित हजारौंँ भक्तजनको सहभागितामा मिलनचोकमा कलशयात्रा निकालिएको थियो । 

गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताए । “गौशालालाई नेपालमै नमूनाका रुपमा स्थापित गर्ने लक्ष्य छ”, महासचिव आचार्यले भने, “वैदिक गाईको संरक्षण गरी धार्मिक पर्यटनको केन्द्र बनाउने हाम्रो उद्देश्य हो ।”

गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको बताइएको छ । 

महायज्ञ एवम् महोत्सवबाट सङ्कलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वंश संरक्षण गरिनेछ । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयवासीको सक्रियतामा विसं २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले सो गौशालामा ३५ गाई छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्