६ बैशाख २०८१, बिहीबार

भारोत्तोलन स्वर्ण जित्दै सञ्जुले रचिन इतिहास

पोखरा । नेपालकी सञ्जु चौधरीले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जु श्रीलङ्काकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

पोखरा महानगरपालिका–१२ माटेपानीस्थित एसआर केसी ब्याङ्क्वेटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १ सय ७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा श्रीलङ्काली खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १ सय ६१ केजीका साथ रजत र बङ्गलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा ९० गरी १ सय ६० केजी भार बहन गर्दै कास्य पदक जित्न सफल भए । चार देशले भाग लिएकोे सो प्रतियोगितामा पाकिस्तानको पनि सहभागिता रहेको थियो ।

एक वर्षअघि मात्र नेपाल प्रहरीमा प्रवेश गरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण पदक जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिईन् । आफूलाई निकै खुसी लागेको र सोचेजस्तो ‘लिफ्ट’ लिन सकेको उनको प्रतिक्रिया थियो ।

साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो । दशौँ संस्करणको सागमा  नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ । 

यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो । उक्त समूहमा बङ्गलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य पदक जित्न सफल भए । भारतकी विन्ध्यारानी देवीले स्न्याचमा ७६ र क्लीन एण्ड जर्कमा १ सय ५ सहित १ सय ८१ केजी भार बहन गर्दै स्वर्ण पदक र बङ्गलादेशकी फूलपोटी चक्माले १ सय ४८ र पाकिस्तानकी साइमा सहजादले १ सय ३५ केजी भार बहन गरेका हुन् । 

बङ्गलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्