७ बैशाख २०८१, शुक्रबार

निसिखोलाका दुर्गम गाउँका घर घरमा खानेपानी

बागलुङ । गाउँमा खानेपानी थिएन । नजिकमा मुहान नभएको र टाढाबाट पानी ल्याउनका लागि स्रोतसाधनको अभावका कारण बागलुङको निसीखोला गाउँपालिका ३ का सर्वसाधारणले खोल्साखाल्सी र टाढाको पधेँरा धाउनुपर्ने बाध्यता थियो । टाढै रहेको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनेपछि अब त्यहाँको समस्या हटेको छ । 

वडा नं ३ बोहरागाउँमा अहिले ‘एक घर एक धारा’ जडान भएका छन् । अभियानस्वरुप घरघरमै धारा बनाएर खानेपानीको जोहो गरेको गाउँलेहरु बताउँछन् ।     सार्वजनिक धारा अन्त्य गरेर घरघरमै धारा बनाएपछि खानेपानीको बचाउ हुने र सदुपयोगसमेत हुने भन्दै अभियान चलाइएको हो । स्वच्छ खानेपानीको बिस्तार गरेर पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने तयारीसमेत बनाइएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । 

भएका पुराना योजना मर्मत गर्ने र पुनःनिर्माणको अभियान पनि थालिएको छ । सार्वजनिक धाराको अन्त्य गर्दै मिटर जडान गरेर घरघरमा पानीका धारा लैजाँदा संरक्षण हुने र लगानी खेर नजाने उनले बताए । जिल्लाकै दुर्गम मानिने निसीखोलामा मध्यपहाडी लोकमार्ग बनेकाले सडक छेउछाउमा बजार बढ्न थालेको छ । बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी छ ।

देविस्थान, बोहोरागाउँ, निसी र भलकोटलगायतका बजारउन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेष्टुराँमा पहिलो चरणमा यस्ता धारा जडान गरिसकेका छन् । अभियानस्वरुप बोहोरागाउँस्थित झिवाखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका १११ घर र स्थानीय विद्यालयलाई धारा जडान गरिएको हो । सबैको घरमा धारा जडान गरेपछि मासिक रु ५० का दरले मर्मत शुल्क सङ्कलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको छ । धेरै पानी प्रयोगकर्ताले रु १०० सम्म तिर्नेछन् ।

निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियानसमेत थालिएको छ । सो योजना सफल पार्न नेवाले रु १९ लाख ८८ हजार लगानी गरेको छ । त्यस्तै गाउँपालिकाले रु एक लाख, स्थानीयले रु चार लाख र रु पाँच लाख ७१ हजारको श्रमदान गरेर रु ३० लाख  ५९ हजारमा आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजना सफल बनाउन नेवाले समुदायस्तरमा बालक्लब गठन गरेर सरसफाइसम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामग्रीसमेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्