१४ बैशाख २०८१, शुक्रबार

प्रथम मुसिकोट महोत्सव : १ लाख ५१ हजार राशीको भलिवल हुँदै

गुल्मी । आगामी माघको १५ देखि २६ गतेसम्म गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा ‘प्रथम मुसिकोट महोत्सव’ हुँदैछ । ‘गुल्मी मुसिकोटको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नारासहित हुन लागेको ‘प्रथम गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक, औद्योगिक एवम व्यापार मेला’ १२ दिन सञ्चालन हुनेछ । 

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रमै पहिलो पटक सर्वाधिक पुरुस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार हात पार्नेछन् । यस क्षेत्रमा हालै सम्पन्न बागलुङको गलकोट नगरपालिकामा भएको ‘गलकोट घुम्टे महोत्सव’मा १ लाख २५ हजार र बडिगाड गाउँपालिकाको ग्वालीचौरको न्वागी मेलामा १ लाख २ हजार राशिको भलिवल प्रतियोगिता भएको थियो । 

त्यसैगरी नगर स्तरीय १० कक्षासम्मको कबड्डी प्रतियोगिता समेत हुने भएको छ । कबड्डीमा प्रथम हुनेले १५ हजार र द्धितिय हुनेले १० हजार पाउनेछन् । यसैगरी महोत्सवमा लोकदोहोरी प्रतियोगितालगायत अन्य कार्यक्रमहरु हुनेछन् ।

महोत्सवलाई सफल बनाउन शनिवार उद्योग वाणिज्य संघ तथा नगरपालिकाका केही वडाध्यक्षहरुसहितको बैठकले सुदर्शन शाक्यको संयोजकत्वमा मुल समितिसहित विभिन्न २२ उपसमितिहरु गठन गरेको छ । महोत्सवको सह–आयोजकमा नगरपालिका रहने गरी छलफलका लागि जनप्रतिनिधीहरुसहित बैठक वस्ने भनिएपनि कार्य व्यस्ताले जनप्रतिनिधीहरु बैठकमा सहभागी भएनन् । बैठकमा वामी सेवा समिति जापानका सल्लाहकार रामलाल सापकोटाको विशेष उपस्थिती रहेको थियो ।

महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु वामीको शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिखेचुली, मुसिकोटको मुसिकोट दरबारलगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने समेत लक्ष्य राखिएका वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिए ।

यस्तै नगरपालिका भित्र नाचिने नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच, सोरठीलगायतका संस्कृतिको संरक्षण, झिनिया रोटीलगायत विभिन्न जातजातीका खानाका परिकारको समेत प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने लक्ष्य आयोजकको छ ।

महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरीलगायतका कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सवमा १५० स्टल राख्ने तयारी छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्