१५ चैत २०८०, बिहीबार

किसानलाई आत्मनिर्भर बनाउँदै उन्नत बीउबिजन कार्यक्रम

बुटबल । गुल्मीको सत्यवती गाउँपालिकाकी सरस्वती खत्रीले पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्छिन् । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत जुनिया साना किसान कृषि सहकारीमा आबद्ध भई सस्तो ब्याजदरमा क्रण लिएर उनले व्यवसाय सुरु गरेकी हुन् ।

पशुपालनबाट दुई छोरीसहित चारजनाको परिवार पाल्नुका साथै दुई÷चार हजार आवश्यक पर्दा कसैसँग हात फैलाउन नपरेको उनी बताउँछिन् । प्यूठानकी प्रतिमा जिएम पनि साना किसान कृषि सहकारीमा आबद्ध भएपछि दङ्ग छिन् । सहकारीमा आफँैले नेृतत्व गरेपछि उनलाई एकछिन फुर्सद छैन । उनले  नेतृत्व गरेको बिजुवार साना किसान कृषि सहकारीको आन्तरिक पूँजी रु तीन करोड १० लाख नाघेको छ । सहकारीमा ९१६ जना सदस्य छन् ।

सहकारीले सबैसँग चिनजान भएकोले जस्तोसुकै काम गर्न सक्छु भन्ने आँट आएको उनी बताउँछिन् । यसको श्रेय भने उनले किसानका लागि उन्नत बीउबिजन कार्यक्रमलाई दिन्छिन् । “कार्यक्रम नभएको भए म घरभित्रै सीमित हुने थिएँ होला, अहिले त सहकारीको नेतृत्व गरेकी छु”, उनी भन्छिन्, “किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले बसालिदिएको जग बलियो बनाउँछु ।”

अर्घाखाँचीको किमडाँडाकी शिला भुसाल पनि किसानलाई व्यावसायिक कृषि सिकाएर आत्मनिर्भर बनाउनुमा किसानका लागि उन्नत बीउबिजन कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताईन् । कार्यक्रमले ग्रामीण भेगका सयौँ किसानलाई कृषि गर्न उत्प्रेरणा जगाएको उनको बुझाई छ । किमडाँडा सहकारीबाट क्रण लगानी गरी धेरै कृषक उन्नत बीउको उत्पादन र व्यावसायिक कृषिमा लागेको उनले बताईन् । 

सल्यान, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची गरी छ वटा जिल्लालाई लक्षित गरेर सञ्चालन गरिएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम यो महिनाको अन्त्यसँगै सकिने चरणमा छ । यो कार्यक्रमअन्तर्गत छ जिल्लामा ७५ वटा साना किसान कृषि सहकारी सञ्चालनमा छन् ।

प्यूठान, गुल्मी र अर्घाखाँचीमा १५÷१५ तथा सल्यान, रुकुम र रोल्पामा १०/१० वटा साना किसान कृषि सहकारी सञ्चालनमा छन् । ती सहकारीमा ४० हजार ३४७ सदस्य छन् । तीमध्ये ३८ हजार ३८४ जना महिला सदस्य रहेको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनुप नैनावस्तीले जानकारी दिईन् ।

साना किसानलाई सहकारीमा आबद्ध गर्ने र कृषि तथा पशुपालन व्यवसायका लागि कर्जा उपलब्ध गराउन सहकारी सञ्चालनमा ल्याइएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले बताए । उत्पादन र उत्पादकत्व वृद्धि गर्नमा महत्वपूर्ण योगदान रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमबाट ग्रामीण क्षेत्रको दिगो विकास र महिला सशक्तीकरणमा टेवा पुगेको उनको भनाई छ ।

किसानको आयआर्जन र क्षमता विकासका लागि किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले विभिन्न गतिविधि सञ्चालन गरेको बताउँदै साना किसानका सदस्यहरुले यसबाट भरपुर फाइदा लिएको कार्यक्रम संयोजक गोविन्दलाल कर्णले बताए । किसानका लागि उन्नत बीउबिजन कार्यक्रम सकिए पनि सहकारीहरु आफैँ सक्षम भएकाले जिल्लाका विज्ञ केन्द्र र ज्ञानकेन्द्रसँग समन्वय गरी कार्यक्रम अघि बढाउनुपर्ने उनले बताए ।

किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले सिर्जना गरेका सहकारीले कृषि उत्पादन र बीउबिजनको उत्पादनका क्षेत्रमा गरेका राम्रा प्रयासलाई सबैले साथ दिने साना किसान विकास लघुवित्तीय संस्थाका इलाका प्रबन्धक शिवहरि अर्यालले बताए । राम्रो काम गर्नेलाई पूँजीको अभाव नहुने उनको भनाई छ ।

प्रदेश नं ५ दुग्ध, अण्डा र मासुमा आत्मनिर्भर बन्ने अवस्थामा रहेकाले किसानका लागि उन्नत बीउबिजन कार्यक्रमको सहयोगमा पशुपालनमा लागेका कृषकलाई प्रदेश सरकारले समेत प्रोत्साहन गर्ने प्रतिबद्धता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख प्रदीप पौडेलले गरे । मन्त्रालयअन्तर्गतका विज्ञ केन्द्र र ज्ञानकेन्द्रसँग समन्वय गरी साना किसान कृषि सहकारीले कार्यक्रमलाई निरन्तरता दिन सक्ने उनको भनाई छ ।

सन् २०१२ देखि सुरु भएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम २०१९ को डिसेम्बर ३० तारिखदेखि सकिँदैछ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्