७ बैशाख २०८१, शुक्रबार

ढोरपाटन–म्याग्दी जोड्ने सडकको १० किलोमिटर खण्ड कालोपत्रे हुँदै

बागलुङ । जिल्लाको पश्चिम क्षेत्र ढोरपाटन नगरपालिकादेखि छिमेकी जिल्ला म्याग्दी जोड्ने सडकको १० किलोमिटर सडकखण्ड कालोपत्रे हुने भएको छ । नगरपालिकाको वडा नं. ६ दोगादी, गादीखोला, चामिद्धवार, छ्यान्तुङ, हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत दोगादीदेखी तल्लो भाल्नेसम्मको करिव १० किलोमिटर खण्ड कालोपत्रे हुने भएको हो । 

ग्ण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विनियोजन गरेको २५ करोड २६ लाख ८० हजार १ सय ८२ रुपैयाँ लागतमा सडक स्तरोन्नती संगै कालोपत्रे गर्न लागिएको हो । गण्डकी प्रदेशले सञ्चालन गरेको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” अन्तर्गत बागलुङ क्षेत्र नं. २ “ख” बाट निर्वाचित स्व. सांसद टेक बहादुर घर्ति मगरको पहलमा सडक स्तरोन्नती थालिएको हो । 

श्रेष्ठ, गल्भा, क्याराभन जेभी, गोपीकृष्ण नगर – ७ काठमाडौंसँग कालोपत्रेको काम २ वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माण कम्पनीका सहायक ईन्जीनियर रबिन्द्र बहादुर सिजापतीले जानकारी दिए । निर्माणमा कुनै अबरोध नभए तोकिएको समय भन्दा छिटै काम सक्ने लक्ष लिएको उनको भनाई छ । उक्त सडक हालसम्म ढोरपाटन नगरपालिका वडा नं. ६ गादीखोला देखि माथिल्लो भाल्ने सम्मसाढे १२ किलोमिटर मात्रै निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेको वडाध्यक्ष जिवन पुनले जानकारी दिए ।

करिब ९ वर्ष अघि निर्माण थालिएको  सडक निर्माणमा गाउँ परिषद्, जिल्ला विकास समिति, क्षेत्रिय सडक डिभिजन, सांसद विकास कोष र स्थानियको श्रमदान समेत गरी झण्डै १ करोड ९० लाख रुपैँया भन्दा बढि खर्च भइसकेको उनले बताए ।

वर्षातमा हिलाम्य सडक र हिँउदमा धुलाम्ये सडकसगैं विभिन्न घाटमा पक्की पुल नहुँदा आवत जावतमा निकै समस्या खेप्दै आएका स्थानियबासी सडक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् । उक्त सडक खण्ड अन्तर्गत पर्ने दोगादी र गादीखोला घाटमा पक्की पुल निर्माणको तयारी समेत भईरहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए ।

पक्की पुल निर्माणका लागि डिपिआर तयार भईसकेको बताउँदै उनले छिटो भन्दा छिटो टेण्डर गरी निर्माण कार्य सञ्चालनका लागि प्रदेश सरकारसंग पहल गरिरहेको बताए । सडक स्तरोन्नतीका लागि स्व. सांसद घर्तिले देखेको सपना पुरा गर्न सबैको साथ सहयोग आवश्यक रहेको भन्दै उनले घर्तिको सम्झनामा उक्त सडक खण्ड अन्तर्गत कुनै सुगम स्थानमा शालिक समेत निर्माण गरिने बताए ।  बुधवार नगर प्रमुख नेपाली र स्वर्गिय सांसद घर्तिकी धर्मपत्नी सुनमायाँ घर्तिद्धारा संयूक्त रुपमा शिलन्यास गरी सडक कालोपत्रेको काम सुरु गरिएको हो ।

उक्त सडक खण्डको स्तरोन्नतीका लागि यसै आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशबाट थप रु. १ करोड ५० लाख बजेट विनियोजन भएको वडा अध्यक्ष जीवन पुनले जानकारी दिए ।  उक्त बजेटले माथिल्लो भाल्ने देखि करिब ५ किलोमिटर सडकको नयाँ ट्रयाक खोल्ने अपेक्षा गरिएको पुनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्