७ बैशाख २०८१, शुक्रबार

लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क, बजेट जति पानीमा

बाँके । जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ । 

तथ्याङ्कअनुसार एक हजार १५५ सामाजिक हिंसाका घटना मिलापत्रमा टुङ्गिएका छन् । यस्तै तीन वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १६० घटना मात्रै सम्बन्धित निकाय अर्थात् स्थानीय तह तथा अदालतमा गएका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

लैङ्गिक हिंसा विरुद्ध वार्षिक लाखौँ बजेट खर्चेर पनि लैङ्गिक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो । प्रहरीका अनुसार चालू आव २०७६/७७ को कात्तिक मसान्तसम्म २०२ घरेलु हिंसाका ठाडो उजुरी परेका छन् । त्यसमा सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका घटना १७६ छन् । यस्तै आव २०७५/७६ मा भने उजुरीको सङ्ख्या बढेर ७११ पुगेको तथ्याङ्कले देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ५१२ छन् । आव २०७४/७५ मा ४८३ घरेलु हिंसाका ठाडो उजुरी परे । यीमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीचका घटना ३०८ रहेका प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान् –श्रीमती, सासु–बुहारी, देवरानी–जेठानी र अन्यका बीचमा भएको झै–झगडाका घटना हुने गरेका छन् । सोमध्ये सबैभन्दा बढी श्रीमान्–श्रीमतीबीच भएका झगडाका घटना बढी दर्ता हुने गरेका प्रहरीको भनाइ छ । महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आव २०७४/७५ मा जिल्लामा ३५ महिला बलात्कृत भएका घटना दर्ता भएका छन् । आव २०७५/७६ मा बलात्कृत हुनेको संख्या ५६ पुगेको थियो भने चालू आवको कात्तिक मसान्तसम्म २१ बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म ३९ माथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले देखाएको छ । त्यसमा २२ बालिका आव २०७५/७६ देखि चालू आवको कात्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन् । यस्तै आव २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म अर्थात पछिल्ला तीन वर्षमा ७७३ महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन् । 

पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारका घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको प्रहरी उपरीक्षक ओली बताउँछन् । बलात्कारका बारेमा अहिले खुलेर विरोध गर्ने अवस्था आएको र मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएको उनले बताए । लामो समयसम्म पुरुष र महिलासँगै बस्ने गरेको र सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेको उनले बताए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्