७ बैशाख २०८१, शुक्रबार

‘तिम्री बहिनी र आमालाई पनि ल्याउनु धेरै कमाई हुन्छ’

बाँके । फेसबुकमा चिनजान, सामान्य परिचयबाट सुरु भएको कुराकानी प्रेममा परिणत, ६ महिनामै गहिरो प्रेम । बाँकेका केटा फेसबुके प्रेमिकालाई भेट्न पोखरा पुगे । दुवैको भेटघाट भयो । होटलमा बसे ।

केटाले म तिमीलाई लिन आएको भन्न थाल्यो । फेसबुकमा त माया प्रेमका कुरा भएकै थियो । त्यति टाढाबाट केटा आएपछि केटीमा अझ विश्वास पलायो । घरमा दिदीलाई मात्रै भनेर केटी बाँकेतिर हिडिन् ।

फेसबुकमा चिनजान भएको केटा कस्तो हो, के हो ? केटीले सोच्दै सोचिनन् । प्रेममा ‘आँखा नदेख्ने’ भइन् उनी । दुवै जना बाँके आए । केटाले प्रेमिकालाई घरमा लग्यो । संयोग भनौँ या केटाले मिलाएको हो, त्यसबेला उसको श्रीमती माइती गएकी रहिछन् । चार दिन घरमा राखेपछि उसले काम गर्ने र उतै बस्ने भनेर भारत लग्यो । फेसबुके मायामा अन्जान व्यक्ति र ठाउँमा पुगेकी केटी विश्वासमा पर्दै गइन् । दुवै जना भारत गए।

भारतमा पुगेपछि केही समय राम्ररी नै दिनचार्य बित्यो । एक दिन केटाले ‘हामीले धेरै पैसा कमाउनु पर्छ, तिमीले मैले भनेअनुसार काम गर’ भनेर कोठामै बेश्यालय चलाउने योजना सुनायो । उसले भन्यो, ‘म ग्राहक खोजेर ल्याउँछु । उनीहरूसँग पाँच सय लिएर भित्र पठाउँछु । तिमीले उसले भनेअनुसार गर्नु । भित्र पनि थप पैसा माग्नु ।’

केटीले सुरुमा त ‘मजाक’ गरेको होला भन्ने सोचिन् । पटक–पटक यस्तो भनेपछि केटीले एक दिन केटालाई ‘तिम्री बहिनी र आमालाई पनि ल्याउनु धेरै कमाई हुन्छ’ भनि दिइछन् । त्यसपछि केटाले कुटपिट पनि सुरु गरे । त्यसको तीन दिनपछि राति ११ बजे दुई जना अपरिचित युवा कोठामा आए । श्रीमान् भन्नेले नै अपरिचितलाई ल्याएर श्रीमती सुतेको कोठामा हुले ।

ती दुई जनाले जबरजस्ती गरेर गए । त्यसपछि उसले दैनिक ग्राहक खोजेर ल्याउने र श्रीमती भएको कोठामा पठाउने गर्न थाले । दिउँसो श्रीमतीलाई थुनेर राख्ने र आफू ग्राहक खोज्न जाने अनि रातिमा ग्राहक लिएर आउने उसको दिनचार्य भयो । 

२८औं दिन छिमेकीले त्यो कुरा थाहा पाए । त्यसपछि युवक ग्राहक खोज्न गएको मौकामा छिमेकीले ताला फोरेर केटीलाई बाहिर निकाले । अलिअलि पैसा दिएर त्यहाँबाट भगाइदिए । केटीले अहिले आएर मुद्दा प्रक्रिया अघि बढाएकी छन् । फेसबुके प्रेमले युवतीको जीवनमा ठूलो विश्वासघात भयो । 

अर्को बाँकेकै २० वर्षका केटा, सुर्खेतकी १७ वर्षकी किशोरी । फेसबुकमा जोडिए । गफगाफ हुन थाले । ५ महिनापछि त एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगे । केटाले केटीलाई घरमै ल्याए । घरमा श्रीमती र एक छोरा छँदै थिए । 

घरपरिवार, गाउँले सबै मिलेर सात दिनपछि किशोरीलाई फिर्ता गरिदिए । घरपरिवारले फिर्ता गरिदिएकी किशोरीसँग केटाको फोन र फेसबुकबाट कुरा हुँदो रहेछ । केही दिनअघि यी दुई जनालाई नेपालगन्ज नाका पार गरेर भारत जाँदा रुपैडिहामा एसएसबीले नियन्त्रणमा लियो । ‘प्रेम गरेर भागेर जान थालेको’ भनेपछि एसएसबीले शक्ति समूह नेपालगन्जका प्रतिनिधिलाई बोलायो । शक्ति समूहकी इन्चार्ज निर्मला पौडेल त्यहाँ पुगिन् । केरकार भयो ।

केटाको मोबाइल चेक गर्दा अहिले भगाएको केटीको नम्बर ‘वाइफ’ भनेर सेभ थियो । अर्को एउटा नम्बर ‘बुढी’ भनेर राखिएको थियो । बुढी भनेको नम्बरमा फोन लगाउँदा उसको घरमा रहेकी श्रीमतीले फोन उठाइन् । उनका अनुसार, दुई दिनदेखि काठमाडौं जान्छु भनेर केटा हिँडेको रहेछ । अढाई सय भारु बोकेर केटा हिडेको थियो । केटीसँग पैसा थिएन । सिम्ला गएर काम गर्ने दुवैले बताए । दुवैलाई राखेर अभिभावकलाई बोलाउने तयारी भएको छ । 

सामाजिक सञ्जालको दुरुपयोगका यी दुई वटा उदाहरण हुन् । शक्ति समूह नेपालगन्जकी इन्चार्ज पौडेलले मानव बेचबिखन तथा जोखिमपूर्ण यात्राका धेरैजसो घटना सामाजिक सञ्जालबाट जोडिएर आउने गरेको बताईन् । 


नेपाल समाचारपत्रबाट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्