१६ चैत २०८०, शुक्रबार

गुुल्मीको बिकट गाउँमै मुटु र मृगौलाको उपचार

गुल्मी । गुल्मीको विकट गाउँ अर्खबाङमा मुटु मृगौला तथा सुगर रोगको उपचार पाउँदा नागरिक खुसी भएका छन् । मालिका गाउँपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा बिशेषज्ञसहितको निशुल्क शिविर संचालन गरिएको थियो । बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बिशाल केसीले प्रदेश सांसद दिनेश पन्थीको ब्लड प्रेसर जाँच गरेर शिविरको शुभारम्भ गरिएको थियो । 

गाउँ–गाउँमा सिंहदरवारको अनुभुत हुँदै : सांसद पन्थी

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद पन्थीले मुटु  मानिसको जीवन भएकाले गाउँमै सेवा पाउने नागरिक निकै भाग्यमानी भएको बताए । उनले मुटु मृगौलाको उपचार गाउँमै पाउनुनै गाउँ–गाउँमा सिंहदरवार भएको बताए । 

त्यस्तै गौतम बुद्ध सामुदायिक अस्पतालका अध्यक्ष एजाज आलमले विकट ठाउँमा आएर जनताको सेवा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफुहरुको संस्था पनि नाफा भन्दा सेवामुलक भएकाले बिकट स्थानमा आएर सेवा दिएको बताए । 

शिविरमा झण्डै एक हजार जनाले मुटु, मृगौलालगायतको परिक्षण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्राईले बताए ।

गाउँमा सचेतना आवश्यक : डा केसी

वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विशाल केसीले शिविरमा आउने अधिकाशं नागरिकहरुमा वाथ रोग, व्लड प्रेसर, मुटुको प्वाल तथा जन्मजात मुटुको समस्या र हृद्यघातको समस्याहरु देखिएको बताए । साथै उनले समुदायमा स्वास्थ्य सचेतना तथा खानपानमा ख्याल गर्नुपर्नेमा जोड दिए । 

‘गाउँमा सचेतनाको कमी र स्वास्थ्यभन्दा कामलाई महत्व दिने कारण समस्या बल्झिएका छन्’ उनले भने, ‘यो बिषयमा नागरिकनै सचेत बन्नुपर्छ ।’ डाक्टर केसीसहित ३४ जनाको स्वास्थ्यकर्मी टोली अर्खबाङ्ग आएको थियो । 

घर छेउँमै उपचारले खुसी

मालिका गाउँपालिका ४ का हिमाल शर्माले मुटु दुख्ने समस्या थियो । मुटुको उपचारका लागि वुटवल जाने योजनामा थिए । तर गाउँपालिकाले निशुल्क शिविर ल्याएपछि गाउँमै उपचार गरे । उनी अत्यन्तै खुसी छन् । ‘मुटु दुखेर बुटवल जाने कुरा हुँदै थियो, गाउँमै उपचार गरियो ’उनले भने, ‘डाक्टरले सामान्य भने, अव ढुक्क भए ।’ 

त्यस्तै मालिका गाउँपालिका ३ की ७६ बर्षीय खिम कुमारी बुढा पनि मुटुकै समस्याको उपचारका लागि शिविर आइन् । उपचार पाएपछि खुसीका साथ घर फर्किन् । गाउँमै उपचार पाउँदा ढुक्क भएको र खर्च पनि जोगिएको बताइन् ।

गाउँपालिका स्वास्थ्य क्षेत्रमा अव्वल

मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउँदै लगेको छ । गाउँपालिकाले यो संगै चालु आर्थिक बर्षमा तीनवटा आँखा शिविर गरिसकेको छ । गाउँपालिका प्रमुख रित बहादुर थापाले नागरिक स्वस्थ भए मात्रै विकसित समाज निर्माण हुने भएकाले गाउँ–गाउँमा निशुल्क बृहत शिविरहरु संचालन गरेको बताए ।  

त्यस्तै एउटा महिला रोग सम्बन्धी एउटा निशुल्क शिविर गरेको गाउँपालिकाले जनाएको छ । सुरक्षित प्रसुतीको लागि मालिका गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । भने तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । 

स्वास्थ्य क्षेत्रमा ३९ लाख बिनियोजन

गाउँपालिकाले यो आर्थिक बर्षमा स्वास्थ्यको क्षेत्रमा ३४ लाख विनियोजन गरेको छ । भने मुख्यमन्त्री ग्रामिण कार्यक्रम अन्र्तगत विनियोजन भएको पाचँ लाख गरी कुल ३९ लाख स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । अहिले कुनै पनि स्वास्थ्य सँस्थामा औषधीको अभाव नभएको बताए । ‘प्रत्येक स्वास्थ्य सँस्थामा कम्तिमा चार महिनालाई पुग्ने गरी औषधी भण्डारमा छ’ गिरीले भने, ‘जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न लागि परेका छौ ।’ 

यो पनि पढनुहोस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्