८ बैशाख २०८१, शनिबार

प्रभावकारी बन्दै आँखा उपचार सेवा

नेपालगञ्ज । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्ते बाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ को आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालमा प्रबन्ध निर्देशक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ को शल्यक्रिया गरेको जनाइएको छ ।

सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्री, जयनगर, भुरीगाउँ, राजापुर र बाँसगढीमा गरी आठ वटा आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ । “यी आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी हामीले थालेका छौँ’, सङ्घका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले बताए । बत्तीस वर्ष अघि (२०४३ फागनु ११ गते) १० श्ययाबाट शुरु भएको यो अस्पताल हाल २५० श्ययाको भएको छ ।

अस्पतालले पूर्णकालीन बहिरङ्ग, अतिरिक्त शुल्क क्लिनिक, द्रूत शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ । सङ्घको रु पाँच करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग रु एक करोड ४५ लाख गरी रु छ करोड ४५ लाखको लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक वर्माले जानकारी दिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्