१६ चैत २०८०, शुक्रबार

एउटै वडामा ६३ उद्योग

बाँके । बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा ६३ उद्योग स्थापना भएका छन । नेपालगञ्ज औद्योगिक क्षेत्रमा जम्मा ३० उद्योग मात्र सञ्चालनमा रहेको बेला गनापुरमा भने स्वस्फूर्त रुपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योग स्थापना भएका हुन ।

जानकी गाउँपालिका–६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र नेपालगञ्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढ्दो रहेको बताए । उनका अनुसार, गनापुरमा स्थापना भएका ६३ मध्ये छ बन्द अवस्थामा छन भने पाँच नयाँ उद्योग सञ्चालन हुँदैछन ।

बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय नयाँ–नयाँ उद्योग थपिने क्रममा रहेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने उनले बताए ।

“नेपालगञ्ज उपमहानगरपालिकाभित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महङ्गो पर्ने गर्दछ । त्यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ ।” जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले भने, “त्यसैले बाँकेमा उद्योग खोल्दा सबैको नजर जानकी गाउँपालिकामै पर्ने गरेको छ ।”

जानकी गाउँपालिकाको वडा नं ६ गनापुर नेपालगञ्ज–कोहलपुर सडकखण्डसँगै जोडिएको छ । गनापुरदेखि पश्चिम जाने बाटोमा लहरै उद्योग स्थापना भएका छन । गनापुरमा धेरै उद्योग सञ्चालनमा आए पनि सडकलगायतका पूर्वाधारको भने अभाव छ । उद्योगसम्म पुग्नका लागि साँघुरो सडक रहेको छ । उद्योग सञ्चालनमा आवश्यक सडक र पूर्वाधार निर्माणमा गाउँपालिकाले ध्यान दिएको अध्यक्ष यादवले बताए ।

गनापुरदेखि गाउँपालिका कार्यालय हुँदै गुलरिया–नेपालगञ्ज सडक जोड्ने सात किलोमिटर सडक विस्तार गर्ने कार्य शुरु गरिएको उनले बताए । अहिलेको साँघुरो सडकलाई बढाएर सात मिटर फराकिलो पक्की सडक निर्माण कार्य भइरहेको उनले बताए ।

अम्बे स्टिल्स सञ्चालन हुँदै

बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा दैनिक सात सय मेट्रिकटन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग सञ्चालन गर्ने भएको छ । निर्माणाधीन उद्योगले यहि असारदेखि उत्पादन शुरु गर्ने उद्योगका प्रबन्धक अनुजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बाँकेको जानकी गाउँपालिकामा १० विघा क्षेत्रफलमा सञ्चालन हुन लागेको स्टिल्सको भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मका छड उत्पादन गर्नेछ । पश्चिम नेपालमा ठूला जलविद्युत परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा उक्त उद्योग सञ्चालन गर्न लागेको हो ।

उद्योग पूर्णरूपमा सञ्चालन भएपछि करिब ४ सयले प्रत्यक्ष रोजगारी पाउनेछन । अम्बे स्टिल्स लगानीको हिसाबले बाँकेमा ठूलो उद्योग भएको छ । बाँकेको स्टिल्स उद्योग अम्बे समूहको भैरहवामा सञ्चालित स्टिल्स उद्योगभन्दा उत्पादन र लगानीका हिसाबले ठूलो उद्योग भन्दै प्रबन्धक श्रेष्ठले पहिलो चरणमा उद्योगमा रु तीन अर्बको लगानी भएको बताए ।

हाटबजारले किसान उत्साहित

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जमा कृषि हाटबजार सञ्चालन भएपछि किसान उत्साहित भएका छन । हाटबजार सञ्चालनपछि किसान र उपभोक्ताको सीधा सम्पर्क हुने भएकाले किसान उत्साहित भएको शम्शेरगञ्ज कृषिउपज बजार समितिका अध्यक्ष लक्ष्मीप्रकाश केसीले बताए ।

हाटबजार शुरु भएपछि अव्यवस्थित रूपमा सडकको किनारमा कृषि उपज बिक्री वितरण गर्नुपर्ने असहज स्थितिको अन्त्य भएको उनले जानकारी दिए । हरेक बुधबार र शनिबार सञ्चालन हुने हाटबजारमा सहुलियत दरमा तरकारी उपलब्ध हुने वडाध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार, हाटबजार सञ्चालनका लागि आवश्यक घरटहरा निर्माणमा वडा कार्यालयले सहयोग गरेपछि बजार सञ्चालनमा आएको हो ।

वडाध्यक्ष बस्नेतले वडा कार्यालयको रु १२ लाख बजेटमा निर्माण भएको हाटबजारले उत्पादन गर्ने किसान र उपभोक्ता दुवैलाई निकै सहज र सुलभ हुने बताए । आगामी दिनमा हाटबजारसँगै मिनी कोल्डस्टोरकै रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै वडाध्यक्ष बस्नेतले त्यसका लागि प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिने बताए । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले कृषि प्रधान देश नेपालमा व्यावसायिक कृषि र तरकारी खेती गर्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको जानकारी दिइन । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्