१५ चैत २०८०, बिहीबार

नेपालले आगामी दिनमा नाकाबन्दी भोग्नु पर्दैन : मन्त्री ज्ञवाली 

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदिपकुमार ज्ञवालीले नेपालले आगामी दिनमा नाकाबन्दी भोग्नु  नपर्ने बताएका छन ।

चीनसँग पारवाहन सम्झौता भएसँगै नेपालले दक्षिणतर्फको भारतमा मात्र निर्भर रहनुपर्ने अवस्थाको अन्त्य ज्ञवालीले भएको बताए । परराष्ट्र मन्त्रीको हैसियतमा यो सम्झौता गर्न आफु सफल भएको बताउँदै उनले अब उत्तर तर्फका नाकाहरु खुला भएकोले चीन हुँदै समुद्रसम्म पहुँच हुने बताए । समुद्री माध्यमबाट समेत अन्य देशसँग पनि जोडिन सकिने भएपछि  बिगतमा जस्तो नाकाबन्दीको कल्पना समेत गर्नु नपर्ने उनको भनाई छ ।

गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर ७ र ३ राजा जोड्ने ञठुलाचौर–लामडाडा–पौवाखर्क–हरियाली सडकको उद्घाटनपछि बोल्दै मन्त्री ज्ञवालीले आफुहरु निर्वाचित भएपछिको पछिल्लो एक वर्षमा विकासको लागि जग बसिसकेको बताए । उनले अब बिकास निर्माणले तिब्रता पाउनेमा सम्पुर्णलाई विस्वस्त हुन आग्रह गरे । उनले  ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आत्मसात गर्न जरुरी रहेको औँल्याउँदै अबको समृद्ध कृषि उत्पादनसँग जोडिनुपर्ने तर्क गरे ।

संघीय सरकारबाट आफ्नो पहलमा गुल्मीको विकासको लागि १ अर्ब १२ करोड रकम  छुट्टाउन सफल भएको र यो क्रमलाइ आगामी दिनमा निरन्तरता दिने बताए । रेसुङ्गा विमानस्थलको पिच, सालझण्डी–खज्र्याङ्ग–ढोरपाटन फास्ट ट्रयाक, गुल्मीका विभिन्न विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात, खानेपानी समस्या, ग्रामीण सडकको कालोपत्रेलगायतका विकास निर्माणका कार्यहरु आफ्नो प्राथमिकतामा रहेको मन्त्री ज्ञवालीले बताए । उनले निकट भविष्य मै घुम्टी–चारपाला–खज्र्याङ्ग मोटरबाटो कालोपत्रे गर्ने आश्वासन दिए ।

क्षेत्र नम्बर १ प्रदेश सभा २ का सांसद तथा प्रदेश नम्बर ५ का विशेष अधिकार समितिका सभापती कमल  श्रेष्ठले ग्रामीण क्षेत्रको अहिलेको पहिलो आवश्यकता खानेपानी रहेको बताए । उनले आगामी दिनमा खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्दै यस क्षेत्रका अन्य बिकास निर्माणका कामलाई गति दिन प्रदेश सरकार लागिपरेको बताए । 

गाउँपालिका अध्यक्ष  अशोककुमार थापाले २० बर्ष अघिदेखिको योजना सफल भएकोमा खुशी व्यक्त गरे । उनले ग्रामीण विकासको मुल आधार सडक सञ्जाल भएकोले सडक स्तरउन्नतीको कार्यमा आफुले सहयोग गरिरहने बताए ।

जिल्लाको क्षेत्र नम्बर १  निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गतको ३० लाख र गाउँपालिकाको ५ लाख गरी ३५ लाखमा निमार्ण सम्पन्न सडकको लम्बाई कुल ५ कि.मि. रहेको छ ।  पहिलो पटक आइतबार लु १ ख ९८५४ नम्बरको बस आफ्नो घर नजिकै पुग्दा सडकको बिच–बिचमा चालक र अतिथीहरुलाइ स्थानीयले भब्य स्वागत गरेका थिए ।

कार्यक्रममा सडक निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्