कृषि र पर्यटनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउछौँ 

गुल्मीका १२ स्थानीय तहहरुमध्ये धुर्काेट गाउँपालिका । जनतालाई छिटो–छरिदो सेवा दिने तथा नमुना धुर्कोट गाउँपालिका बनाउने उदेश्यले गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी खटिएका छन् । धुर्कोट कोट, विचित्र गुफा लगायतका पर्यटकिय स्थल रहेको धुर्कोट मासुमा आत्मनिर्भर बन्नुका साथै कृषिमा पनि आत्मनिर्भर बन्दै छ । 

जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले संघीयता कार्यान्वयसँगै गठन गरिएको धुर्कोट गाउँपालिकाले हालसम्म के–के काम ग¥र्यो ? आगामी योजना के छन् ? लगायतका बिषयमा धरातल अनलाईनका लागि हुमाकान्त पोखरेलले गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अशं 

गाउँपालिको अहिलेसम्म गरेका मुख्य पाचँ काम बताइदिनुस् न  !

हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि थुप्रै विकासका कामहरु गरेका छौँ । ग्रामिण भेगमा अधिकाशंका खरका छाना थिए । त्यसले बर्षायाममा पानी चुहिने र हिउँदमा अगालागि हुने डर हुन्थ्यो । त्यसलाई न्यूनिकरणको लागि हामिले पदभार ग्रहण गरेकै दिन गाउँकार्यपालिकाको पहिलो बैठकबाट गाउँपालिकामा खरका छाना विस्थापन गर्ने निर्णय ग¥यौँ । यस अभियानअन्तरगत वडा न. २ पिपलधारा खरका छाना मुक्त वडा घोषणा भइसकेको छ । भने अन्य वडामा पनि खरका छाना विस्थापन गरी जस्ता पाता लगाउने कार्य जारी छ ।

खरका छाना विस्थापन गरी जस्ता पाता निशुल्क प्रदान गर्ने अभियान नेपालमा नै सबैभन्दा पहिलो पटक हामिले सुरुवात गरेका हौँ । अहिले देशव्यापी रुपमा यो अभियान सञ्चालनमा छ । खुसि लागेको छ । यसबाट विपन्न नागरिकको लागि सुरक्षित आवासको व्यवस्थापन गरिएको छ । नागरिकको स्वच्छ पिउने पानीको अधिकारलाई सुनिश्चित गर्नको लागि अहिलेसम्म कुल नौ सय ९३ घरमा ‘एक घर, एक धारा’ पु¥र्याइएको छ । 

हाम्रो कार्यकालअवधिभर सबै घरमा धारा पु¥र्याउने लक्ष्य छ । गाउँपालिकाको  केन्द्रको लागि जग्गा लिई भवन निर्माण गरेका छौँ । अब छिट्टै नयाँ भवनमा सर्दैछौँ । भने गाउँपालिकामा सभाहल निर्माण गरेका छौँ । कृषि र पशु क्षेत्रमा व्यवसायीकरण गरी उत्पादनमा वृद्धि गरिएको छ । 

त्यस्तै किसानलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको छ । यसबाट उत्पादन÷प्रतिफल नहुँदै बजेट खर्च हुने व्यवस्थाको अन्य भएको छ । भने गाउँपालिका मासु उत्पादनमा आत्मनिर्भर भएको छ । कक्षा एकदेखि पाचँसम्म स्थानीय पाठ्यक्रम बनाई लागु गरिएको छ ।

सबै बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले अभिभावकविहिन बालबालिकाहरुका लागि छात्रावासको व्यवस्था गरिएको छ । 

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफुले गरेको कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

म पुर्ण रुपमा सन्तुष्ट छु । किनभने कर्मचारी अभाव तथा भौतिक संरचनाको अभाव हुँदाहँुदै पनि निर्वाचनको बेला सोचेको भन्दा पनि बढी काम गर्न सफल भएका छौँ । 

स्थानीय सरकार सञ्चालनको मुख्य समस्या के रहेछ ?

संघीय र प्रदेश सरकारले कानुन बनाउन ढिलाई गरेकोले काम गर्न असजिलो भएको छ । कर्मचारी अभावको कारणले समयमा काम हुन सकेको छैन । आवश्यक भौतिक संरचनाको अभावले दैनिक कामकाज गर्न कठिनाई भएको छ । 

नमुना धुर्कोट बनाउने अभियानमा लाग्नुभएको छ । यसका आधारहरु के–के छन् ?

नमुना धुर्कोट बनाउनको लागि आर्थिक, सामाजिक र भौतिक विकासलाई सँगसँगै विकास गरेर उत्पादन बढाइ रोजगारी श्रृजना गरी गरिबी न्यूनिकरण गर्नुपर्छ । गाउँपालिकाको केन्द्रमा भौतिक पूर्वाधारको तिव्र विकास गरिरहेका छौँ । गाउँपालिका भित्रका विकास निर्माणका कामलाई अघि बढाइएको छ । पाँच वर्षे आवधिक योजना निर्माण गरी विकासको गतिलाई तिव्रता दिइएको छ । यी र यस्तै कामहरुले नमुना धुर्कोट गाउँपालिका बन्नेछ भन्नेमा म विश्वस्त छु ।   
                                         
गाउँपालिकालाई कसरी आत्मनिर्भर बनाउने सोच गर्नुभएको छ ?

व्यवसायिक कृषि र पशुपालन गरी उत्पादनमा वृद्धि गर्ने योजना गाउँपालिकाको छ । उत्पादन वृद्धिका लागि सिँचाई प्रविधि, विउपल, तालिम, पशु बिमालगायतका कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको आर्कषण बढाउने छौँ । गाउँपालिकाभित्र विचित्र गुफा, धुर्कोट कोट,  कुमारी देवी मन्दिर लगायतका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । 

त्यसका साथै हाडहाडेमा होमस्टे पनि सञ्चालन गर्दैछौँ । यीनिहरुको प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याई गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजना लिएका छौँ । त्यसका साथै गाउँपालिकाले विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरी स्वावलम्बी र आत्मनिर्भर गराउने, सहुलियतपूर्ण कर्जा प्रविधिमा अनुदान दिनेलगायतका कार्यक्रम गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउनेछौँ ।  त्यसकारण कृषि र पर्यटनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउछौँ ।

गाउँपालिकामा पर्याप्त मात्रामा कर्मचारी छन् कि छैनन ? यदि छैनन् भने दैनिक कामकाजमा कस्तो समस्या परेको छ ?

दरबन्दी अनुसार कर्मचारी छैनन् । भएका कर्मचारीलाई व्यवस्थित तरिकाले परिचालन गरेका छौँ । नागरिककले छिटो छरितो सेवा खोज्छन् । त्यो पुरा गर्ने कर्मचारीले हो । तर आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । 

केन्द्र सरकारको सहयोग कस्तो छ ?

केन्द्र सरकारले साझा अधिकारका सुचिको कानुनहरु निर्माण गरेको छैन् । जसले गर्दा दैनिक कामकाजमा समस्या परेको छ ।

जनप्रतिनिधीहरु ठेक्कापट्टामै संग्लग्न भए भन्ने गुनासो छ नि ?

जनताले हामिलाई विश्वास गरी मत दिएर जिताएका छन् । जनताका चाहाना र आकांक्षाहरु धेरै छन् । तर पूर्ति गर्ने बजेट सिमित छ । अर्को कुरा यो संघिय नेपालपछिको हामी पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि हौँ । हामिले यसपाली राम्रा काम गर्न सकेनौँ जनताको नजरमा राम्रो बन्न सक्दैनौँ । त्यसैले धुर्कोट गाउँपालिकामा कुनै पनि जनप्रतिनिधि ठेक्कापट्टामा संलग्न छैनन् । 
    
जनप्रतिनिधी र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थान गर्नुभएको छ ?

कानुनले तोकेको जिम्मेवारी अनुसार जनप्रतिनिधि र कर्मचारीलाई कामकाज गराइरहेका छौँ र कहिलेकाही आउने समस्यहरुलाई आपसी समझदारीमा समाधान गरेका छौँ ।
 

प्राप्त प्रतिकृयाहरू

पोख्रेल नारायण लेख्नुहुन्छ (२०७६ असार ४ बुधबार ३:४५ pm )

यहाँ एकदम राम्रो प्रतिनिधि हुनुहुन्छ यहाँबाट राम्रो काम हुनेछ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय