७ बैशाख २०८१, शुक्रबार

गुल्मीमा मापदण्ड विपरीत पुनःनिर्माणका विद्यालय भवन ठेक्कामा (प्रमाणसहित)

गुल्मी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्धारा निर्माण हुने गुल्मीका अधिकांश विद्यालय भवनहरु मापदण्ड विपरीत ठेक्कामा भएको खुलेको छ । पछिल्लो समयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई (शिक्षा) अन्र्तगतबाट निर्माण हुने भवनहरुमा यस्तो पाइएको हो । 

जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५ को दुर्गा भवन माध्यमिक विद्यालयले  ६८ लाख ५० हजारमा निर्माण हुने ४ कोठे आरसिसी भवन निर्माणका लागि कुनै प्रक्रियानै पुरा नगरी सिधै निर्माण व्यवसायीलाई काम गर्ने जिम्मा दिएको पाइएको छ ।

आर्थिक वर्ष ०७५/७६ अन्र्तगत निर्माण हुने भवनमा विद्यालयले कुनै मापदण्ड पुरा नगरी सिधै नन स्टप कन्ट्रक्सन काठमाडौंका निर्माण व्यवसायी लवमणी खरेललाई भवन निर्माण गर्ने जिम्मा दिएको हो । 

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अन्तरगत ५ लाख रुपैयाँसम्म तीनवटा कोटेशनको आधारमा खरिद बिक्री गर्न सक्ने प्रावधान छ । ५ लाखदेखि २० लाखसम्म शिलबन्दी दरभाउ पत्रको आधारमा गर्न सक्ने प्रावधान छ । 

तर २० लाख भन्दा माथिको निर्माण वा सामान खरिद गर्दा अनिवार्य रुपमा बोलपत्र गर्नुपर्ने र विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्नुपर्ने प्रावधान रहेको छ । तर यी प्रक्रिया नै पुरा नगरी निर्माण व्यवसायीलाई निर्माणको जिम्मा दिएको छ  । 

विद्यालयका प्रधानाध्यापक गोकर्णराज खरेल र भवन निर्माण समिति संयोजक तुल्सीराम खरेलको मिलेमतोमा २०७६ भदौ २१ गते सोझै निर्माण व्यवसायीलाई भवन निर्माण गर्ने कामको जिम्मा दिइएको हो ।

निर्माण व्यवसायीले भवन निर्माणको सबै फरफारक गर्नुपर्ने र पुरानो भवनको केही निर्माण साम्रगी निर्माण व्यवसायीले प्रयोग गरेबापत रु ५ लाख विद्यालयको खातामा जम्मा गरिदिनुपर्ने सम्झौतामा उल्लेख छ । 

विद्यालयले निमार्ण कम्पनीसँग गरेको ठेक्का सम्झौता

यो त जिल्लामा बाहिर आएको एउटा उदाहरण पात्र मात्रै हो । जिल्लामा पुनःनिर्माण प्राधिकरणबाट बनेका र बन्न लागेका अधिकाशं विद्यालयका भवनहरु सार्वजनिक खरिद ऐन र नियमावलीलाई मिचेर निर्माण व्यवसायीमार्फत कामहरु भइराखेको कार्यलयका एक कर्मचारीले बताए ।

त्यति मात्रै होईन विद्यालय भवनको ढलानका दिन साइड इन्चार्ज साईडमा गएको समयमा खान बस्नको व्यवस्था पनि नगरेकाले राती १२ बजे तम्घास आउनु परेको समेत उदाहरणहरु प्रशस्तै छन् । 

आर्थिक बर्ष ०७५/७६ को पहिलो चरणमा जिल्लामा पुनःनिर्माण प्राधिकरणमार्फत २१ वटा ४ कोठे, १७ वटा २ कोठे र ५ वटा ३ कोठे भवनहरु केही  निर्माण  सम्पन्न भएका र केही सम्पन्नको प्रक्रियामा रहेका छन् ।

यस्तै दोस्रो चरणमा १८ वटा ४ कोठे, ५ वटा ३ कोठे, २० वटा २ कोठे भवन र ३४ वटा शौचालयहरु निर्माणको चरणमा रहेका छन् । यी मध्ये पनि अधिकाशं  विद्यालयका भवनहरु विद्यालयका प्रधानाध्यपक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायत निर्माण व्यवसायीहरुको मिलिमतोमा नियम विपरीत भवनहरु निर्माण भइरहेका छन् ।

ठेक्कामा दिएको कार्यलयलाई थाहा छैन्

राष्ट्रिय पुनःनिर्मााण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) गुल्मीका कार्यालय प्रमुख पिताम्बर पन्थीले भवन निर्माण ठेक्कामा दिएको कार्यालयलाई जानकारी नभएको बताए ।

कार्यलयसंग विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले सम्झौता गरेको भन्दै विद्यालयको खातामा नै रकम पठाइने हुँदा यस बारेमा आफूहरुलाई जानकारी नभएको उनको भनाई छ । यदि कुनै विद्यालयका भवनहरु निर्माणमा ठेक्का भएका रहेछन् भने आफूले छानबिन गर्ने उनले बताए ।

नियम विपरीत गर्ने अधिकार कसैलाई छैन्

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले नियम विपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको बताए । विद्यालय व्यवस्थापन समितिले निर्माण गर्ने भनि सम्झौता गरे अनुसार विद्यालय व्यवस्थापन समितिले नै भवन निर्माण गर्नुपर्ने भएकाले यदि कसैले ठेक्कामा भवन निर्माण गरेको भए कानुन अनुसारको कारवाही गर्ने उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्