८ बैशाख २०८१, शनिबार

बुटवलमा सुरु भयो महिला लक्षित लघु उद्यम कार्यक्रम

पहिलो चरणमा प्लाष्टिकको विकल्पमा कपडाको झोला बनाइँदै

बुटवल । बुटवल उपमहानगरपालिकाले महिलाका लागि लक्षित गरेर लघु उद्यम कार्यक्रम सुरु गरेको छ । बुटवल–६ बाट सुरु भएको यो कार्यक्रम अन्तर्गत पहिलो चरणमा विपन्न, एकल र पछाडि पारिएको समुदायका महिलाहरुलाई समावेश गरिएको छ । 

बुटवलले सुरु गरेको मेयर युवा इलम कार्यक्रम मुलुकमै नमुना र उत्कृष्ट भइरहेका बेला अहिले महिला लक्षित लघु उद्यम कार्यक्रम सुरु गरिएको हो । बिहीबार एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उप–महानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कार्यक्रममार्फत नगरको समृद्धिको अभियानमा सहयोग पुग्ने बताउनुभयो ।

उपमहानगरले प्रबद्र्धन गरेको उद्यमको कार्यक्रम अन्तर्गत यो अभियान सुरु भएको बताउँदै उपप्रमुख आचार्यले सबै वडामा विस्तार गरिने र थप उद्यमका कार्यक्रम पनि सुरु गरिने बताउनुभयो । समयको सदुपयोग पनि हुने र उत्पादनमा समेत जोडिने गरि उद्यमका कार्यक्रम सुरु गरिएको उहाँको भनाइ थियो । उहाँले मेयर युवा इलम कार्यक्रमकै अर्को सहायक श्रृंखला स्वरुप यस्तो कार्यक्रम सुरु भएको सबै १९ वटै वडामा उद्यमका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । 

वडाका १७ वटा टोल विकास संस्थामार्फत सर्वसम्मत छनौट भएका महिलाहरुलाई सीप सिकाउँदै लघु उद्यममा जोड्नेगरी कार्यक्रम सुरु गरिएको वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्यले जानकारी दिनुभयो । यो पहिलो चरणको कार्यक्रमका लागि उपमहानगरपालिकाबाट चार लाख ७० हजार बराबरको बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।  

कार्यक्रम अन्तर्गतको यो चरणमा महिलाहरुलाई कपडाको झोला बनाउन सिकाइने छ । सीप सिकेका महिलाहरुले उपमहानगरले तोकेको मापदण्ड अनुरुपको झोला बनाउने छन् । त्यो झोलाको गुणस्तरसमेत चेकजाँच गरेपछि उपमहानगरकै लोगो छापेर उत्पादन गरिने छ । 

त्यसरी उत्पादित झोलाको मूल्य ५० रुपैयाँसमेत तोकिएको छ । एक दिनमा एक जनाले ५० वटा सम्म झोला उत्पादन गर्न सक्ने अनुमान गरिएको प्रशिक्षक सानु भण्डारीले बताउनुभयो । 

नगरका थोक र खुद्रा पसलका साथै डिपार्टमेन्टल स्टोर, हाटबजारहरु मार्फत यस्ता झोलाको प्रयोगलाई प्रोत्साहन गराइने कार्यक्रमका संयोजक योगमाया भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमका वक्ताले अभियानलाई प्रभावकारी बनाउन सबैले सहकार्य गर्ने बताए । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्