चन्द समूहका घोराही इन्चार्जद्वारा पार्टी परित्याग

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका दाङ जिल्ला कमिटी सदस्य तथा घोराही नगर इन्चार्ज रहेका सहदेव थारू ‘बिहानी’ले पदबाट राजीनामा दिएका छन । उनले बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई पार्टीको नीति, सिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टीबाट राजीनामा दिएको बताए ।

उनले अब आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र आम नागरिकसरह जीवनयापन गर्न चाहेको बताए । पछिल्लो समय विप्लव समूहले गरेको हिंस्रक गतिविधिले समाजमा सकारात्मक सन्देश नदिएको हुँदा आफूले उक्त समूह परित्याग गरेको उनले भनाइ थियो । आम नागरिकले अब देशमा शान्ति चाहिरहेको अवस्थामा फेरि पनि युद्धको झल्को दिने गतिविधि गर्नु उचित नभएको उनले बताए ।

उनलाई वैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो भने उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणमाथि बहस गर्दै रिहा गर्न आदेश दिए पनि प्रहरीको उच्च निगरानीमा थिए ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय