घुम्न जाने होइन त अर्जुनडाँडा ?

अब कस्तो बन्दै छ पर्यटकीय क्षेत्र अर्जुन ?

अर्जुनडाँडामा निर्माण गरिएको पोखरी र मन्दिरहरु ।

गुल्मी । जिल्ला सदरमुकाम तम्घासदेखि नजिकै रहेको  प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र अर्जुनडाँडामा रमणीय पार्क निर्माण हुँदै छ। समुन्द्री सतहदेखि अग्लो स्थानमा रहेको र सधैँभरी शितलता हुने भएकाले यस क्षेत्रमा पार्क निर्माण गर्न लागिएको रेसुंगा नगरपालिकाले जनाएको छ । 

आन्तरिक एवम बाह्रय पर्यटकहरुलाई लक्षित गरी उक्त पार्कको निर्माण गर्न लागिएको हो । अर्जुन क्षेत्र प्राकृतिक रुपमा सौन्दर्य भएको र यसअघि केही मन्दिर र पोखरीको निर्माण भएपनि अन्य भौतिक पूर्वाधारको विकास हुन सकेको थिएन । 

पर्यटकीय क्षेत्र अजुनडाँडाको विकासका लागि प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुषालले बताए । ‘प्रदेशबाट २० लाख छुट्टिएको छ’ उनले भने, ‘सोही बजेटले पार्क निर्माणको तयारी भैरहेको छ ।’ भुषालले आन्तरिक र बाह्य पर्यटक भित्राउने उदेश्यले रमणिय पार्कको निर्माण गर्न लागिएको जानकारी दिए । 

उक्त क्षेत्रमा पार्क संगै पिक्निक स्थल, र अन्य भौतिक संरचना समेत बनाईने नगरपालिकाको भनाई छ । रमणिय पार्क निर्माणका लागि डिपिआरको काम अगाडी बढाउन लागिएको नगरपालिकाका सव ईन्जिनियर चक्र केसीले बताए । ‘डिपीआर गर्देछौं उनले भने, ‘छिट्टै निर्माणको काम अघि बढ्नेछ ।’

अग्लो डाँडामा रहेको अर्जुनडाँडाबाट मनोरम हिमश्रृखलाहरुको समेत अवलोकन गर्न सकिन्छ । माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायतका हिमालसहित पुरै गुल्मी र छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बाग्लुङ र प्युठानका गाउँहरु देख्न सकिन्छ । यस क्षेत्रमा भ्यू टावर, पिकनिक स्थलको समेत निर्माण गरेर पर्यटकहरुलाई भित्र्याउन सकिने राम्रो सम्भावना रहेको तम्घासका स्थानीय अशोक कुमार केसीले बताए ।

‘अग्लो र सुन्दर ठाउँ छ’ उनी भन्छन्, ‘भौतिक संरचना निर्माण भए पर्यटकको संख्या बढ्छ ।’ स्थानीय तहको आर्थिक स्रोतलाई वृद्धि गर्नका लागि यस्तो प्राकृतिक स्थलहरुको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए । अर्जुनडाँडामा अर्जुन मन्दिर र पोखरी समेत रहेको छ । धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि समेत यसले मद्दत गर्नसक्छ । 

जिल्लाको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थल रेसुंगा घुम्न आउने पर्यटकहरुलाई अर्जुनडाँडामा घुमाउनसके जिल्लाको आर्थिक गतिविधिमा वृद्धि हुन सक्ने स्थानीयको भनाई छ । तम्घासमा सधैँभरी शितलता हुने भएकाले बाह्य पर्यटकहरुलाई जिल्लामा भित्र्याउन सकिने राम्रो संभावना देखिएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय