७ बैशाख २०८१, शुक्रबार

हाम्रो कार्यकालभरमा नगरलाई आत्मनिर्भर बनाउँछौँ 

गुल्मीका १२ स्थानीय तहहरुमध्ये सबैभन्दा पहिलो रेसुङ्गा नगरपालिका पर्यटकको हिसाबले थुप्रै सम्भावना बोकेको स्थानीय  तह हो । प्रसिद्ध रेसुङ्गा, अर्जुन लगायतका धार्मिक एवम् पर्यटकीय स्थलहरु यस नगरपालिकाभित्र पर्दछन् । जिल्लाको सदरमुकाममा समेत रहेकोले अधिकाशं भौतिक संरचना निर्माण भइसकेका पनि छन् ।  जनतालाई छिटो–छरिदो सेवा दिने उदेश्यले नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी खटिएपनि सोचेजस्तो सेवा प्रवाह भने हुन सकेको छैन । यसै सन्दर्भमा धरातल अनलाईनका लागि हुमाकान्त पोखरेलले नगरपालिका प्रमुख डिल्लिराज भुसालसँग गरेको कुराकानीको सम्पादित अशं  

नगरपालिकामा विकासका कार्यहरु कसरी सञ्चालन गर्नुभएको छ ?

नगरका सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, सरोकारवाला र नागरिकको प्रत्यक्ष सहभागितामा विकासका कार्यहरु सञ्चालन गर्ने गरेका छौँ । विशेष त यस नगरको ग्रामिण क्षेत्रमा खरका छानाहरु रहेकाले खरका छानाहरु हटाई जस्तापाता वितरण गरिरहेका छौँ । हालसम्म नगरपालिकाका १३ वटा वडामा जस्तापाता वितरण गरिसकेका छौँ । भने १४ न. वडामा पनि वितरण गर्ने तयारीमा छौँ । 

त्यसैगरी यस क्षेत्रमा चरम खानेपानीको समस्या रहेकाले मझेङ लिफ्टिङ खानेपानी योजनालाई अगाडि बढाएका छौँ । जसको डि.पि.आर तयार भई टेण्डरको प्रक्रियामा रहेको छ । तत्काल खानेपानीको समस्यालाई समाधान गर्न यस नगरपालिकाको ८ र ९ न. वडामा बोरिङ्ग सिस्टमबाट पानी निकाल्ने कार्यको थालनी गरिएको छ । ९ न. वडामा पानी निकाली  सकियो भने ८ न.वडामा बोरिङ्गको काम भईरहेको छ । 

यस नगरलाई स्वच्छ सफा नगर बनाउन फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गर्ने तयारीमा छौँ । जसको सम्झौता भई काम भईरहेको छ । बजारका नाली फोहोर भएकोले नाली सफाई र मर्मतकार्य भइरहेको छ । त्यस्तै बजारक्षेत्रमा सडक भत्किएकोले सडक पिच र बजारका खोलाहरु सफा गर्ने काम भइरहेको छ । 

कृषि उत्पादनमा बृद्धिगरी आत्मनिर्भर नगर निर्माण गर्न हाटबजार सञ्चालन र सोलार कोल्डस्टोर स्थापनाको तयारीमा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बृद्धि गर्न रेसुङ्गामा रेसुङ्गा पोखरीदेखि यज्ञशालासम्म रेलिङसहितको सिढी निर्माण कार्य भइरहेको छ । 

त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि तम्घास अस्पताल गुल्मीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छौँ । अस्पतालको सेवा विस्तारका लागि अत्याधुनिक भवन निर्माणका लागि  डि.पि.आर. तयार गरिसकेका छौँ । नगरभित्रका सहायक बाटाहरुको स्तरोन्नती गर्नको लागि ११ वटा योजनाहरुको डि.पि.आर तयार गरिएको छ । भने केहि सडकहरु पिचको प्रक्रियामा छन् ।   

नगरपालिका प्रमुखमा निर्वाचित भएपछि निर्वाचनताका गरेको प्रतिवद्धताहरु पूरा गर्दै आउनुभएको छ त ?

मैले निर्वाचनमा प्रतिबद्धताहरु पूरा हुने चरणमा रहेका छन् । म निर्वाचित भएपछि गरेको काममा एकदम सन्तुष्ट छु । किनकी देश संघीय संरचनामा गइसकेपछिको यो पहिलो स्थानिय तह संरचना हो । त्यसैले केहि समय कानुन निर्माणमै खर्चनुप¥र्यो । यी र यस्ता समस्याको बाबजुत पनि नागरिकलाई सहज तरिकाले सेवा दिएका छौँ । खुसी लागेको छ ।   

स्थानीय सरकार सञ्चालनको मुख्य समस्या के रहेछ ?

केन्द्र र प्रदेश सरकारले कानुन बनाउन ढिला गरेकाले काम गर्न असहज भएको छ । कर्मचारी समायोजनले नँया कर्मचारी आउनु र हामीमा कम्युटर सिपकोे कमी हुनु मुख्य समस्या देखिएको छ । त्यसका साथै भौतिक संरचनाको अभाव हुनु र ठूलाठूला योजनामा लगानी गर्न पर्याप्त बजेटको अभाव हुनुपनि समस्याको रुपमा देखा परेको छ ।  

नगरपालिकामा विकासका सम्भावनाहरु के देख्नुभएको छ ? 

रेसुङ्गा नगरपालिकाभित्र थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु छन् । रेसुङ्गा क्षेत्रलाई मात्रै विकास गर्न सकियो भनेपनि धेरै पर्यटकहरु हामि भित्राउन सक्छौँ । पर्यटकमार्फत हामी मनग्य आम्दानी गर्न सक्छौँ । त्यस्तै अर्जुनडाडाँ, भगवती मन्दिरलगायतका पर्यटकीय स्थलहरु विकासको सम्भावनाको रुपमा रहेका छन् । 

त्यस्तै रेसुङ्गामा केवलकारको पनि सम्भावना रहेको छ । रेसुङ्गा विमानस्थलमा अबको केहि समयपछि  नै नियमित तरिकाले उडान हुनेगरी सञ्चालनमा आउदैँछ भने कृषि, पशुपालन पनि यस नगरका विकासका सम्भावनाका रुपमा रहेका छन् । त्यसैले पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनमार्फत समृद्धि खोजिरहेका छौँ । हाम्रो कार्यकाल अवधिभर नगरलाई आत्मनिर्भर बनाउछौँ ।

नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी छन् कि छैनन् ? 

कर्मचारी समायोजनले गर्दा केहि दरबन्दी खाली छन । केहि कर्मचारी आउने क्रममा हुनुहुन्छ । समायोजन पश्चात दरबन्दीअनुसार कर्मचारी हुनेछन । तत्काललाई हामीसँग भएका कर्मचारीको पुर्ण परिचालनबाट जनतालाई सेवा दिएका छौँ ।

केन्द्र सरकारले कत्तिको सहयोग गरेको छ ? 

केन्द्र सरकारबाट यस नगरलाई सहयोग भएकै छ । यस नगरभित्र रहेका रेसुङ्गा तपोभुमी, रेसुङ्गा विमानस्थल र वार्ड न. २, ६, ८ र १० का खानेपानी योजनामा लगानी भएको छ । अन्य ठुला–ठुला योजनामा पनि दीर्घकालिन लगानी बढाएर यस नगरको विकासमा अझै सहयोग हुने अपेक्षा गरेका छौँ ।

जनप्रतिनिधीहरु ठेक्कापट्टामै संलग्न भए भन्ने गुनासो छ नि ?

हामीहरु यस नगरलाई देशकै एउटा नमुना नगर बनाउन चाहान्छौँ । जुन सामान्य प्रयासले निर्माण हुन सक्दैन । सिमित साधन स्रोतका बावजुत पनि यस नगरलाई नमुना नगर बनाउन जनताले हामीलाई विश्वासको मत दिएर पठाउनुभएको छ । संघीय संरचनापछि पुर्वाधार विकासको अभावमा जनचाहना पुरा गर्नु र सिमित साधनमा उच्च विकास गर्नु निकै जटिल छ । जटिलताको बावजुत पनि हामी नमुना नगर बनाई देशमै उत्कृष्ठ सावित हुन अग्रसर छौँ । त्यसैले हामी ठेक्कापट्टामा संलग्न नभइ विकासमा अग्रसर छौँ । 

जनप्रतिनिधी र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

हामीहरु कानुनका निर्माता र पालनकर्ता दुबै हौँ । कानुनभन्दा माथी न जनप्रतिनिधी हुन्छ, न कर्मचारी । त्यसैले हामीहरु कानुनसम्मत काम गछौँ । जनप्रतिनिधी र कर्मचारी दुवै आफ्नो अधिकार भित्र रहि काम गर्ने हुँदा सम्बन्ध राम्रो छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्