१९ असोज २०८१, शनिबार

पत्रकारको डायरी : कोरोनाको त्रास र शय्याको खोज !

काठमाडौँ । तपाईँ सोच्दै हुनुहुन्छ होला कतै मलाई कोभिड–१९ को सङ्क्रमण भइहाल्छ कि ! कोरोना भए कसरी उपचार गर्ने ! फेरि टोल समाजले  भेदभावपूर्ण व्यवहार गर्छ । आफन्त  र इष्टमित्रको पनि व्यवहार फरक हुन्छ ।

अहिले नेपालमा कोरोनाको संक्रमण दर उच्च रहेका बेला शायद कमैमा होला यस्ताखाले विचारले डेरा नजमाउने तर के गर्नू, जति नै स्वास्थ्य सावधानी अपनाउँदा पनि निर्दयी कोरोनाले कसैलाई छाडेको छैन । अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्तै कुरा देख्न र पढ्नुपर्ने बाध्यता छ । अधिकांशले लेख्ने गरेका छन् ‘स्वास्थ्य सावधानी अपनाउँदा अपनाउँदै कोरोना सङ्क्रमण भयो, सम्पर्कमा आउनेले परीक्षण गराउनुहोला, कोरोनाबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ । 

आजकल धेरैले फेसबुक पोष्टमा कोरोनाले अल्पायुमै निधन, कोरोनाले चुँडेर लग्यो, फलानो रहनुभएन... हार्दिक श्रद्धाञ्जलि आदि समवेदनाका शब्द पढ्नु दैनिकी बनेको छ । 

बस, तपाईँले जस्तै मैले पनि सोच्ने र सतर्कता अपनाउने गरेकै हो तर कोरोना नभए पनि जटिल प्रकारका कोरोना संक्रमितको जत्तिकै पीडा भोग्नुप¥यो । व्यक्तिगत भोगाइ शायद कतिपयसँग मेल खान पनि सक्छ । 

हो, म कोरोनाका कारण हैन, त्यसको त्रासले झण्डै मृत्युको मुखमा पुगेँ । अस्पतालको दुई घण्टाको छटपटाहट र पीडादायी बसाइ मेरा निम्ति कहालीलाग्दो बन्यो । सिजनल भाइरलका कारण मलाई हल्का मात्रै निमोनियाको सङ्केत थियो । 

सुरुमा एक दिन जीउ दुख्यो पछि तीन दिन हल्का ज्वरो (१०० डिग्रीभन्दा कम), थप तीन दिन सामान्य रुघाखोकी । यसरी सात दिनका दिन आफू स्वस्थ्य भएको अनुभूत गरी फेसबुक स्टाटस लेखेँ तर हल्का खोकी पनि रहेकाले थप जटिलता ननिम्तियोस् भनी म नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालको आपत्कालीन उपचार कक्षमा पुगेँ ।

कात्तिक ४ गते करीब साँझ ६ बजेको समय । म सहयोगीका साथ सिभिल अस्पतालको आकस्मिक कक्षमा पुगेँ । सोही दिन दिउँसो मेडिसिन डिपार्टमेन्टमा फिजिसियनलाई स्वास्थ्य परीक्षण गराउँदा सामान्य थियो । 

छातीको एक्सरे गर्न चिकित्सकले आग्रह गरे । म एक्सरेको रिपोर्ट लिएर फर्कँदा अस्पतालको ओपिडी सेवा बन्द भइसकेको थियो । सेवा अपराह्न १२ बजेसम्म मात्रै रहेछ । रिपोर्टमा सानो दाग देखिएकाले निमोनियाको आशङ्का गरियो । 

सोचेँ, यदि निमोनिया हो भने त बेलैमा उपचार गर्नुप¥यो । सेवा बन्द भएकाले रिपोर्ट लिएर घर फर्किएँ ।  स्टाफ नर्स पत्नीले रिपोर्ट डाक्टरलाई देखाएर औषधि सुरु गरिहाल्नुपर्छ भनिन् तर कसरी त्यो सम्भव छ र ? विकल्प निस्कियो इमर्जेन्सीमा जाने । 

सास फेर्न केही असहज भएजस्तो महसुस गरेँ । अपराह्न म साँझ सिभिल हस्पिटल पुगेँ । आकष्मिक कक्षमा त्यति धेरै बिरामी थिएनन् । म गएपछि एक÷दुई जना  श्वासप्रश्वास र पेटसम्बन्धी समस्या भएका केही बिरामी थिए ।

म सामान्य अवस्थामै थिएँ । स्वास्थ्यकर्मीले सोधपुछ गरे । उनले कोरोनाको सिम्टम्स जस्तो छ, जसरी पनि पिसिआर परीक्षण गराउनू भने । त्यसक्रममै मेरो ज्वरो परीक्षण गरियो, ९९ दशमलव ८ ज्वरो आएपछि चिकित्सक आत्तिए । घरबाट निस्कनुअघि ९७ दशमलव ५ ज्वरो भएकामा अस्पताल पुगेपछि एक्कासि बढ्यो । 

अक्सिजनको मात्रा मापन गरियो, त्यो पनि सामान्य थियो । त्यसपछि मेरो रगत परीक्षण भयो । दुई घण्टामा मात्रै रिपोर्ट आउने भयो । ब्लड कल्चर गर्दा अरु चार दिन लाग्ने भयो । सोही बीचमा चिकित्सकले मलाई कोरोनाको आशङ्का गरी अस्पताल बाहिरको पालमा पठाए । म त्यतै गएँ । 

म एक्लो बिरामी थिएँ, स्वास्थ्यकर्मी कोही आउँदैन थिए । सोचेँ कालकोठरीमा पुगेछु । चिकित्सकले पनि त्रसित बनाए । निमोनिया भएको व्यक्तिलाई अस्पतालले घर जान रेफर गर्दैन । तत्काल अक्सिजनसहितको बेड खोज्नू भने ।  त्यति राति कहाँ कसरी बेड पाउने ? यहीँ सम्भव छैन, बेड खाली छैन भनी सोधेँ । “अन्त खोज्नुस्”भने । 

वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज तथा केही निजी अस्पतालमा बुझेँ, कतै बेड छैन । यो मेरो मात्रै पीडा थिएन अन्य दुई  बिरामी पनि थपिए । प्रायः इमर्जेन्सीमा आउने बिरामीलाई चिकित्सकको एउटै आग्रह थियो, ‘यहाँ बेड छैन बेड खोज्नू, अनि पिसिआर रिपोर्ट नेगेटिभ ल्याउनू’ । 

म बेडबाटै बेड खोज्न छुट्टिएका बेला सिभिल अस्पतालकै निर्देशक तथा अन्य अस्पतालका उच्च अधिकारीसँग बेडका लागि गुहारेँ तर कतैबाट सम्भव भएन । सम्भावित सबैसँग सहयोग मागेँ । कतैबाट पार लागेन । अन्तिममा मन्त्रिस्तरमा कुरा राख्ने निष्कर्षमा पुगेँ । फोन भने लगाइन । 

करीब रातिको ८ बजिसकेको छ । रगतको रिपोर्ट पनि आयो । शरीरमा कुनै इन्फेक्सन रहेनछ । अब तत्कालै पिसिआर टेष्ट गर्न चिकित्सकले भने । रातिको समय भएकाले कहाँ जाने परीक्षण गर्न ? सिभिलबाट सीधै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज हानिएँ । त्यहाँ केहीबेरको लाइनपछि स्वाब दिएँ ।

पिसिआर रिपोर्ट लिएपछि...

बेचैन मनलाई सम्हाल्दै कात्तिक ५ गते म सिभिल हस्पिटलको मेडिसिन डिपार्टमेन्ट पुगेँ । मलाई पिसिआर रिपोर्टपछि मात्रै भेट्नू भनिको थियो  तर म सम्हालिने अवस्थामा थिइन । त्यसैले चिकित्सकको आग्रह विपरीत म अस्पताल गएँ  किनकि मैले एक्सरेको रिपोर्ट देखाउनु थियो । 

रिपोर्ट हेरेर चिकित्सकले भने, “तपाईँलाई सामान्य मात्रै हो निमोनिया । आत्तिनु पर्दैन ।” मलाई एन्टिबायोटिक र केही भिटामिन प्रिस्क्राइब गरे तर एन्टिबायोटिक पिसिआर रिपोर्ट नेगेटिभ आयो भने मात्र खाने, नभए औषधि सेवन गर्न मिल्दैन भने । 

मनभित्रको छटपटी चुलियो । सहनुको विकल्प थिएन । सोही दिन साँझ आफैँ गएर रिपोर्ट लिएँ । काउन्टरमा नसोधी रिपोर्ट सीधै हातमा लिएँ । रिपोर्ट नेगेटिभ रहेछ । अन्य पीडा बिर्सेर खुशीले गद्गद् भएँ । दुई घण्टाको पाल बसाइले मलाई अन्तिम रोजाइ मृत्यु हो भन्ने निष्कर्षमा पुगेको थिएँ । 

घरमा तीन वर्षको छोरो अनि श्रीमतीको शारीरिक अवस्थाले पनि म थप पिरोलिएको थिएँ । परिवारका सदस्य पनि सशङ्कित थिए । छरछिमेकका मानिस देखेर तर्किन्थे, फर्किन्थे । भेदभावपूर्ण व्यवहार गरेको अनुभूति हुन्थ्यो ।   

कोरोनाको उपचार पनि नपाइने भएकाले परिवारका अन्य सदस्यलाई पनि केही भइहाल्यो भने के होला, यस्तै अनगिन्ती प्रश्न र नकारात्मक सोचाइले मलाई अन्तिम विकल्प नै मृत्यु जस्तो लाग्यो । कोरोना रिपोर्ट नेगेटिभपछि मैले चिकित्सकले लेखिदिएको औषधि सेवन गरेँ । सात दिनको डोज पूरा भएपछि आफू स्वस्थ भएको महसुस गरेँ । 

निमोनिया भर्खरै ठीक भएको र अझै केही दिन हिँडडुल गर्न नमिल्ने भएकाले अहिले म घरबाटै अफिसको काम सम्पादन गरिरहेको छु । स्वास्थ्यमा राम्रो सुधार भएको छ । सावधानी अपनाउनैपर्ने बाध्यता छ । अहिले पनि मन पुलकित छैन सर्वसाधारण नेपालीको अवस्था देखेर, सुनेर । 

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दागर्दै र उच्च सतर्कता अपनाउँदा पनि अहिले धेरैमा कोरोना भाइरस को सङ्क्रमण देखिने गरेको छ । कतिपय लक्षणसहितका सङ्क्रमित छन् भने केहीलाई लक्षण नै नदेखिई कोरोना पोजेटिभ हुने गरेको छ । 

नेपालमा यतिखेर कोरोना सङ्क्रमण दर उच्च रहेका बेला राजधानीका सबैजसो अस्पताल कोरोनाका बिरामीले भरिभराउ छन् । कोरोना उपचार हुने सरकारी अस्पतालमा त झन् बेड नै पाइँदैन । बिरामीले तीनदेखि साता दिन प्रतीक्षापछि मात्रै बेड पाउनसक्छन् । त्यतिञ्जेल उनीहरुको स्वास्थ्य अवस्था कस्तो होला । 

हो, अहिले सरकारी मात्र हैन, निजी अस्पतालमा पनि कोरोना सङ्क्रमितले बेड पाउन मुश्किल छ । कतिपय अस्पतालले त बेड भएर पनि बहानाबाजी गर्ने गरेका छन् । निजीको त कुरा गरिसाध्य छैन तर निजी अस्पताल कोरोना परीक्षणमा चाहिँ लालायित हुन्छन् । 

रु दुई हजार सहजै पाइने र त्यसपछि बिरामीको अवस्थाअनुसार उपचार पनि गर्नुपर्ने भएकाले अधिकांश अस्पताल तथा निजी प्रयोगशालाले परीक्षण गरे पनि उपचारका लागि बेड उपलब्ध गराउन आनाकानी गरेको भेटिएको छ । कोरोनाको त्रासमा सामान्य बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भनेर आवश्यक उपचार र व्यवस्थापनमा सरोकार पक्ष एवं निकायको ध्यान जान जरुरी छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय