रेसुङ्गा गुफाखोलाको मसान
धेरै ठाउँ घुमिएको छैन । साथीहरुले अमेरिका, युरोप, दुवई, थाईल्याण्ड पुगेर घुमेर मस्ति गरेका फोटाहरु फेसबुकतिर पोस्टाउदा पनि मन कटक्क खान्छ ।
अरुकै रमाइलो हेरेर चित्त बुझाईएको छ । विदेश घुम्न त अलि आर्थिक हैसियत भएन देश भित्र आफ्नै जिल्ला पनि त्यति घुमिएको छैन । आफ्नै गाउँको रेसुङ्गा चाहि मजाले घुमिएको छ करीब करीब पाईपाई थाहा छ त्यसैले मैले धेरै रेसुङ्गाकै बारेमा लेख्ने गर्छु । रेसुङ्गा पोखरी नजिक गुफाखोला छ ।
घना जंगलका कारण अध्यारो खोल्सी भएर गुफा भनिएको वा साच्चिकै गुफा भएर भनिएको हो यो अध्ययनकै पाटो छ । आजभोली तम्घासबासीले मान्छे मर्दा दाहसस्कारको लागि रिडीमा शव लैजाने गर्छौ पहिला कच्चिबाटो, लामो दुरी अनि यातायातका साधनको सहज उपलब्धता नहुँदा यही गुफाखोलामा शव लगेर दाहसस्कार गर्ने गरिन्थ्यो । हामीहरु पहिले घाँसदाउरा गर्नको लागी गुफाखोला, पोखरी, कालापाताल सम्म पनि पुग्ने गरिन्थ्यो ।
मान्छे जलाउने स्थान भएकोले यस गुफाखोलामा मसानको बास हुन्छ । मसानले डराउन दिन्छ छल्छ भनेर हामीलाई अलि बढी उमेरकाले भन्ने गर्थे । यस्ता भनाईमा खासै सत्यता थिएन जस्तो लाग्छ यो एक किसिमको मनोवैज्ञानिक त्रास थियो । हामीहरु विदाको समय प्राय रेसुङ्गा घाँसदाउराको लागि जाने गथ्र्यौ । म १४/१५ वर्षको आसपास उमेरको हुँदोहुँला ५ जना ठिटाहरु रेसुङ्गा पोखरी पुगियो । पोखरीको चौरमा मजाले घाम ताप्दै तास खेलियो ।
तास खेल्न म ११ वर्षको उमेरदेखि नै जानेको थिए । वन जाँदा घरकाले थाहा नपाउने गरी लुकाएर पुरा पत्ति नभएको तासको बुक पनि साथमै हुन्थ्यो । घडी कसैसँग थिएन । रेसुङ्गा अग्लो डाडा भएकोले घाम ढिलो अस्ताउने हामी चाही खानीगाँउमै बसेको भ्रममा परिएछ । घाम माथि नै छ समय बाकी छ भन्दै मजाले तास खेलियो ।
जव घाम डुब्यो तव हामी झसँग भयौ । घाँसदाउरा त जसरिपनि खोज्नै पर्ने बाध्यता नत्र घरमा राम्रोसँग रामधुलाई नै पाईन्थ्यो । अब के गर्ने भनेर पाँचै जनाले सल्लाह गरियो विकल्पमा गुफाखोलाकै दाउरालाई भारी बनाएर लैजानेमा सहमती भो । मान्छे जलाउन भनेर जम्मा गरिएका तर बाकी रहेका ठुलोशेरेका दाउरा त्यहाँ सधै उपलब्ध हुन्थे ।
तिनै दाउराको भारी बनाईयो । दाउराको भारी बनाईसक्दा झपक्कै रात परेको थियो हिउँदको जुनेली रातले हामीलाई धेरै राहत दियो । दाउरा पाईएन चिरुवा दाउरा ल्याउदा वन हेरालुले कारबाही गर्ने डरले लुकेर आउँदा ढिलो भएको भनेर घरमा पनि कुरो मिलाईयो । यो घटना पछि त्यहाँ भुत मसान हुन्छ भन्ने कुरामा मलाई पटक्कै विश्वास भएन ।
हामीमध्ये काहीकसैलाई मसान लागेन मसानले छलेन । कोही विरामी भएन । मान्छे जलाउन काटीएका दाउराले पकाएर खाईयो खै केही भएन । यो भुत मसान भन्ने कुरा सब वाईयात हुन । अहिले नेपालको राजनितिमा पनि मसानको भ्रम फिजाईएको छ । अहिलेको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समाबेशिता साना दुःखले आएको हैन ।
राज्यपक्ष र विद्रोही गरी १७ हजारको रगत बगेको छ । लाखौ घाईते अपाङ्ग छन । १० वर्षे बालकदेखि ८२ वर्षे गिरिजा जस्ता लाखौको टाउकोबाट रगत यही गणतन्त्रको लागि बगेको छ । दुईचार हजारका जुलुस प्रदर्शन गरेर मसान सरी भएको राजसंस्था फिर्ता आउन सक्दैन । केही नेता गलत होलान ।
केही नेताका अनुहार हेरेपछि कोही कसैलाई भात नै नरुच्ला तर गणतन्त्रको विकल्प गणतन्त्र नै हो बहुदलीय व्यवस्थाको विकल्प बहुदलीय व्यवस्था नै हो । नेता, पार्टी परिवर्तन होलान तर व्यवस्था परिवर्तन हुँदैन ।
यदी राजा नै चाहिन्छ जस्तो लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ । चुनाव जितेर भएका संविधान खारेज गरेर फेरि राजसंस्था कायम गरे भो । बेला न कुबेला दुईचार हजार मान्छेका जुलुस प्रदर्शन गरेर मसान सरी भएको राजसंस्था फिर्ता आउन सक्दै सक्दैन अलिअलि छल्न तर्साउन पनि सक्दैन ढुक्क भएर बसौ ।
प्रतिक्रिया थप्नुहोस्