१५ चैत २०८०, बिहीबार

गुल्मीमा लखन थापा फुटबल रंगशाला निर्माण सुरु, स्थानीय उत्साहित

गुल्मी । गुल्मीको बुल्ममा फुटबल रंगशाला निर्माण सुरु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ६ को बुल्म राङदाल चौरमा नेपालका प्रथम सहिद लखन थापाको नामबाट लखन थापा फुटवल रंगशाला बन्न लागेको हो । सदरमुकाम तम्घासबाट करिब २० किलोमिटर दुरिमा पर्ने रंगशाला  क्षेत्र नम्बर २ मा पर्दछ । गत वर्ष सामान्य काम भएको रंगशाला निमार्णको काम यसवर्षबाट तीव्र रुपमा अगाडी बढेको छ । 

फुटवल रंगशाला निर्माणका लागि अभियान निर्माण सेवा कालिकोटले जेठ १ गतेबाट काम सुरु गरेको हो । अघिल्लो आर्थिक वर्ष समिति मार्फत १८ लाखमा सामान्य काम भएको थियो । तर यसवर्ष राष्ट्रिय खेलकुद परिषदबाट बहुवर्षिय ठेक्का मार्फत साढे ६ करोड रुपैयाँमा काम सुरु भएको इस्मा गाउँपालिका ६ का वडाध्यक्ष हिरा जिसीले धरातल अनलाईनलाई बताए । यस भेगमै खाली ठूलो चौर र नजिकै जनजाति, पिछाडीएको कुमाल समुदायको बस्ती रहेकाले यस क्षेत्रको विकास गरे स्थानीयको जीवनस्तरमा सुधार हुने उनले बताए । अन्तराष्ट्रिय स्तरको फुटवल रंगशाला माग राखिए अनुसार काम सुरु भएको वडाअध्यक्ष जिसीले जानकारी दिए ।

रंगशाला निर्माणको क्रममा तत्कालै बस्तीहरु हटाउन नपरेतापनि त्यहाँ रहेको एउटा प्राविस्तरको विद्यालय भने हटाउनु पर्ने देखिएको वडाअध्यक्ष जिसीले बताए । नजिकमा रहेका बस्तीलाई व्यवस्थित गरी यस भेगकै परिचित लिपपोत गर्न प्रयोग गरिने रातोमाटोलाई पनि संरक्षण गरेर रंगशाला निमार्णलाई अगाडी बढाईने जिसीले बताए । त्यस चौरको रातोमाटो घर लिपपोत गर्न जिल्लाको लागि परिचित रहेको छ ।

गाउँपालिका उपाअध्यक्ष बिमला खत्रीले गाउँपालिकाले बजेटको व्यवस्था नगरेपनि रंगशालाको निमार्ण कार्य समयमै सक्न र कामलाई सहज बनाउनको लागि सहयोग गर्दै आएको बताईन । गाउँपालिकाको सानो बजेट हुनेभएकाले केन्द्रिय योजना मार्फत काम सम्पन्न हुने हुँदा गाउँपालिकाले कामलाई सहज बनाउन अनुगमन गर्ने जस्ता काम गर्ने उनले बताईन ।

जिल्लामा राष्ट्रिय स्तरका ठूला आयोजना मार्फत बन्न लागेका निमार्णका कामले स्थानीयमा उत्साह जगाएको उपाध्यक्ष खत्रीले बताइन । उनले गुल्मीमा अन्तराष्ट्रिय स्तरको फुटबल रंगशाला बन्नु जिल्लावासीको लागि खुसीको कुरा रहेको बताईन । फुटवल रंगशाला निर्माण हुन थालेपछि नजिकै नयाँ बस्ती पनि थपिदै जान थालेका छन् । रंगशाला निर्माणको काम सुरु भएपछि स्थानिय हर्षित छन । 

ठूलो चौर खाली रहेको र यसको सदुपयोग हुने गरी रंगशाला बन्ने भएपछि स्थानियलाई पनि फाइदा हुने स्थानीय हुमकला दर्जिले बताईन । ‘यहाँका सबैजना खुसि छन् छिटो सम्पन्न होस्’ उनले भनिन, ‘निर्माण कार्य सुरु भएपछि पनि यसठाउँमा बस्ती बिकास र समाजमा पनि परिर्वतन आउनेछ ।’ उनले रंगशाला निर्माण सुरु भएदेखि नै स्थानियले रोजगार पनि पाएको बताईन ।

फुटवल रंगशाला बनेपछि गाउँको बिकास र स्थानीयको जीवनस्तरमा सुधार आउने स्थानीय कृष्ण कुँवरले बताए । उनले छिटो निमार्ण सकेर ठूला खेलहरु पनि आयोजना हुनुपर्नेमा जोड दिए । उनले रंगशालासँगै नजिकै व्यवस्थित उच्च तहसम्मको अध्यापन  हुने विद्यालय र मेडिकल सञ्चालन गर्नुपर्ने बताए ।

रंगशाला निर्माण स्थल नजिकै ठूलो संख्यामा कुमाल समुदायको बस्ती छ । यहाँका कुमाल जातीले पराचिन कालदेखि नै माटाका भाडा बनाउँदै आएका छन् ।   

रंगशाला निर्माणका लागि जमिनको माटो काटेर जिरो लेबलमा पिलिङ्ग गरेर साइडमा वाल निर्माणको काम गरिने अभियान निर्माण सेवाका प्राबिधिक पृथ्वी शाहीले धरातल अनलाईनलाई बताए । निर्माण कम्पनीले कार्तिक मसान्तसम्म पहिलो चरणको काम सम्पन्न गर्ने शाहीले बताए ।   

फुटवल रंगशालाको १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको छ । ७ हजार मानिस अटने क्षमताको रंगशाला निमार्णमा ७५ करोड खर्च हुने अनुमान गरिएको छ । रंगशाला निर्माण स्थल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्र हो । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्