१६ चैत २०८०, शुक्रबार

गुल्मीमा झण्डै २२ सय घर खरका छाना मुक्त

गुल्मी । अहिले मालिका गाउँपालिका ६ अर्जेका पदम बहादुर विकको घर टाढैबाट चिन्ने भएको छ । निलो टीनको टल्कने छानो एक तले घर । विकलाई आफ्नो उमेरसम्म घर छाउनुपर्ने बाध्यता छैन । पानी परे ओत खोज्नु पर्दैन् । ‘वडा कार्यालयमा गएर टीन ल्याँए, पानी परेको बेला कुनै समस्या भएन’ उनले धरातल अनलाईनसँग भने, ‘घर र मन दुवै उज्यालो भएको छ ।’ 

सोहि स्थानकी मीना विकले पनि टीनले घर छाएकी छन् । खर किन्ने पैसा जोगिएको छ । गर्मीमा आगोको त्रास पनि कम भएको छ । इस्मा गाउँपालिका ३ दर्लामचौरका मान बहादुर परियारले पनि गाउँपालिकाबाट २७ पाता टीन पाए । यो बर्षनै निशुल्क टीन र मिटरबक्स पाएका मान बहादुर अत्यन्तै खुसी छन् । 

धुर्कोट गाउँपालिका ६ धुरका यम बहादुर थापाले पनि भर्खरै टीनले घर छाए । ‘ठुलो पुरानो घर ४३ पाता टीन लाग्यो, गाउँपालिका प्रति खुसी छु’ उनले भने, ‘थोरै धेरै ऋिण जोगिएको छ ।’ 

तीनवटै सरकारको प्राथमिकता : १५ करोड खर्च

गुल्मीमा खरका छाना मुक्त अभियान प्रभावकारी बनेको छ । यो स्थानीय तहको चुनावी नारा हो । अहिले त्यो पुरा गर्ने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकार कस्सिएर लागेका छन् । जसका लागि स्थानीय तहले गत बर्ष झण्डै ६ करोड रकम खर्च गरिसकेका छन् । 

यो बर्ष गुल्मीमा खरका छाना हटाउन १० स्थानीय तहले साढे चार करोड बजेट छुट्याएका छन् । भने प्रदेशबाट सवा दुई करोड र केन्द्रिय सरकारबाट दुई करोड ६० लाख बजेट विनियोजन भएको छ । गत र अहिले गरेर दुई बर्षमा करिव १५ करोड यो अभियानमा खर्च हुँदैछ ।

क्षेत्र नं १ का सांसद एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र क्षेत्र नं २ का सांसद एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको पहलमा शहरी विकास मन्त्रालय मार्फत बजेट बिनियोजन भएको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले बताए । 

क्षेत्र नं १ को लागि एक करोड ४० र क्षेत्र नं २ को लागि एक करोड २० लाख बजेट बिनियोजन भएको छ । 

यो बर्ष संख्या दोव्बर हुने

धुर्कोट गाउँपालिका ६ का यम बहादुर खत्री, गाउँपालिकाले दिएका जस्तापाताले घर छाउँदै ।
धुर्कोट गाउँपालिका ६ का यम बहादुर खत्री, गाउँपालिकाले दिएका जस्तापाताले घर छाउँदै ।

खरका छाना बिस्थापनको लागि बिनियोजन भएको बजेट कार्यान्वयन हुँदा धेरै स्थानीय तह खरका छाना मुक्त नजिक हुनेछन् । गुल्मीमा अहिलेसम्म दुई हजार एक सय ६० बिपन्न परिवारमा खरका छाना मुक्त गरिएको छ । यो बर्ष त्यो संख्या दोब्बर हुने स्थानीय तह बताउँछन् । 

अहिलेसम्म पाँच सय ३८ घर लाभग्राही मध्ये धुर्कोट गाउँपालिकाले तीन सय ६८ घर खरका छाना मुक्त गरेको छ । यो बर्ष बाँकी एक सय ७० घरमा टीनका छाना लगाइने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । मालिका गाउँपालिकामा जिल्लामै सवैभन्दा धेरै खरका छाना छन् । 

गाउँपालिकाका एक हजार लाभग्राही मध्ये चार सय घर खरका छाना मुक्त भएको गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए । मुसिकोट नगरपालिकामा नौ सय २९ घरमा खरको छाना छ । अहिलेसम्म एक सय ७६ घर खरको छाना मुक्त भएका छन् । 

इस्मा गाउँपालिकामा पाँच सय ५० लाभग्राही मध्ये तीन सय १५ घर खरका छाना मुक्त भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । छत्रकोटा गाउँपालिकाले तीन सय २२ लाभग्राही मध्ये एक सय ८८, रुरु गाउँपालिकाले तीन सय पाँच लाभग्राही मध्ये ८३, चन्द्रकोट गाउँपालिकाले ६०, गुल्मी दरवार गाउँपालिकाले आठ सय ३० लाभग्राही मध्ये दुई सय ३० घरमा खरका छाना बिस्थापन गरेको छ । 

त्यस्तै रेसुङ्गा नगरपालिकाले चार सय चार लाभग्राही मध्ये ७८ र मदाने गाउँपालिकाले छ सय ८१ लाभग्राही मध्ये दुई सय ६२ घर खरका खाना मुक्त गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

जिल्लाका १२ स्थानीय तह मध्ये सत्यवति र कालीगण्डकी गाउँपालिकामा स्थानीय स्तरबाट यो कार्यक्रम छैन् । तर भर्खरै केन्द्रबाट बजेट बिनियोजन भएकाले यो बर्ष कार्यबिधी बनाएर अगाडी बढ्ने कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए ।

खरका छाना मुक्त नजिक

इस्मा गाउँपालिकाले जस्ता पाता वितरण गर्दै । 

केहि स्थानीय तह खरका छाना मुक्त गर्ने नजिक छन् । यो बर्ष मदाने गाउँपालिकाले प्रदेशसंगको साझेदारीमा दुई करोड बजेट बिनियोजन गरेको छ । अहिले केन्द्रिय शहरी बिकास मन्त्रालयबाट २० लाख बिनियोजन भएको छ । यो बर्ष गाउँपालिकानै खरका छाना मुक्त गर्ने योजनामा रहेको गाउँपालिका प्रमुख दान बहादुर केसीले बताए । 

त्यस्तै धुर्कोट गाउँपालिकाले यो बर्ष १० लाख विनियोजन गरेको छ । वडा नं २ लाई खरका छाना मुक्त गरेको छ । मालिका गाउँपालिकाले पनि वडा नं ६ लाई खरका छाना मुक्त घोषणा गरेको छ । गाउँपालिकाले अहिले पनि ५० लाख बिनियोजन गरेर काम गरिरहेको प्रवक्ता शोभाखर गिरीले धरातललाई बताए । 

इस्मा गाउँपालिका १ हस्तिचौर खरका छाना मुक्त वडा घोषणा भएको छ । यो बर्ष सवै वडाका लगभग ९० प्रतिशत खरे घरमा टीनका छना लगाइने प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्