इद पर्वको अवसरमा मुख्यमन्त्रीको शुभकामना

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुक सांस्कृतिक रुपमा रंगिन बनेको बताएका छन । इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (इद) पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधतायुक्त समाजमा मनाइने  सांस्कृतिक उत्सव र पर्व कुनै जाति र समुदाय विशेषका नभएर सबैका साझा भएको उल्लेख गरेका छन ।

समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार गर्न यस्ता पर्वले सघाउ पु¥याउँदै आएको स्मरण गर्दै उनले इद पर्वले पनि सद्भाव, भाइचारा र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको मुख्यमन्त्री पोखरेलको भनाई छ । उनले संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको बताए । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको उनले बताए । 

संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको शुभकामना सन्देशमा उल्लेख छ । संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने उनको भनाई छ । अहिले मुलुक समृद्धिको यात्रामा अघि बढेको बताउँदै उनले विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने आफुहरुको लक्ष्य रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित रहेको उनले बताए । 

पोखरेलले प्रदेश सरकारले ‘समृद्ध प्रदेश, खुसी जनता’को लक्ष्य अघि सारेको बताए । यसका लागि आवधिक योजना बनाएर  आगामी मार्गचित्र प्रष्ट पारेको उनले बताए । आवधिक योजनाले तयार गरेको मार्गचित्र अनुसार आउने आगामी बर्षको बजेटले समृद्धिको यात्रालाई अझ फराकिलो बनाउने उनको धारणा छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा प्रदेशका सबै राजनैतिक दल, समुदाय, संघ संस्था र आम नागरिकमा उनले अपिल गरेका छन । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय