१६ चैत २०८०, शुक्रबार

एथलेटिक्स संघमा दोस्रोपटक राजीव

नेपाल एथलेटिक्स संघमा राजीवविक्रम शाहले दोस्रोपटक कार्यभार सम्हाल्ने भएका छन् । चितवनको सौरहामा सम्पन्न संघको अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । शाहसँगै १० केन्द्रीय सदस्य चयन भएका छन् । गत शनिबार राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति प्रदान गरेपछि संघको अधिवेशन सम्भव भएको थियो । यसअघि जिल्ला संघको विवादका कारण परिषद् स्वयंले नै एथलेटिक्स संघको निर्वाचन रोक्दै आएको थियो । चितवनमा भएको अधिवेशनमा परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको उपस्थिति थियो ।

अध्यक्षले चार सदस्य मनोनीत गर्न पाउने
उपाध्यक्ष, कोषाध्यक्ष तथा महासचिवको चयन कार्यसमितिले गर्ने अध्यक्ष शाहले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय एथलेटिक्स संघको नियमानुसार सुरुमा संघका अध्यक्ष र सदस्यहरूको निर्वाचन हुन्छ । त्यसपछि निर्वाचित कार्यसमितिले नै थप सदस्य मनोनीत गर्ने प्रावधान रहेको उनले बताए । संघको विधानमा चार सदस्य अध्यक्षले मनोनीत गर्न पाउने प्रावधान छ । समितिमा तेजेन्द्र थापा, जनकबहादुर रावल, शैलेन्द्र पाण्डे, दीपक रानाभाट, धनवीर चौधरी, दिलबहादुर बम, जितेन्द्र चौधरी, गजबहादुर गुरुङ र कुमार श्रेष्ठ निर्वाचित भए ।

निर्वाचन नगर्दा निलम्बन
२० अप्रिलसम्म निर्वाचन नगर्दा एएए र अन्तर्राष्ट्रिय एथलेटिक्स एसोसिएसन ९आइएएएफ०ले नेपाल एथलेटिक्स संघलाई निलम्बन गर्ने चेतावनी दिएको थियो । संघले राष्ट्रिय रेकर्डको अपडेट नगरेको र वार्षिक प्रतिवेदनसमेत अन्तर्राष्ट्रिय निकायलाई नबुझाएको भनी आइएएएफले निलम्बनको चेतावनी दिएको थियो । संघले २०१८ को वार्षिक प्रतिवेदन आइएएएफ र एएएमा पठाएको छैन । ‘हामीले विधिअनुसार नै निर्वाचन गरेका छौँ,’ अध्यक्ष शाहले भने ।

निजी क्षेत्रलाई आकर्षित गर्ने
दोस्रो कार्यकाल सम्हालेलगत्तै शाहले एथलेटिक्समा निजी क्षेत्रको लगानी ल्याउन आफूले पहल गर्ने बताएका छन् । ‘यद्यपि, फुटबल र क्रिकेटमा जस्तो एथलेटिक्स संघमा खास त्यस्तो केही पनि छैन, तर मेरो अबको प्रयास भनेको यस खेलमा पनि लगानीकर्ता भित्र्याउनु हो,’ भावी योजनाबारे बताउँदै शाहले भने, ‘खेलाडीलाई पनि यसमा स्कोप छ भन्ने सन्देश दिलाउने प्रयास हुनेछ ।’ निजी क्षेत्रका विभिन्न निकायसँग कुराकानी अगाडि बढाउने उनले जानकारी दिए ।

दोस्रो कार्यकाल फरक हुने
अध्यक्ष शाहले आफ्नो दोस्रो कार्यकाल फरक हुने बताएका छन् । चार वर्षअघि पहिलोपटक संघको अध्यक्षमा निर्वाचित हुँदा आफूलाई खेलभित्रको राजनीतिबारे थाहा नभएको उनले बताए । तर, चार वर्षको अनुभवपछि आफूलाई संघ कसरी चलाउने र यसको विकास कुन रूपले गर्ने भन्ने थाहा भएकोे उनको विश्लेषण रह्यो । ‘मैले चार वर्षअघि पराजित व्यक्तिलाई पनि मनोनीत गरे, त्यसैबाट संघमा विवाद सुरु भयो,’ अनुभव सुनाउँदै उनले भने, ‘अब सही व्यक्ति सही स्थान भन्ने मान्यताका साथ म अगाडि बढ्छु ।’ आउँदो दिनमा नयाँ ऊर्जाका साथ सम्बन्ध विकास गर्ने शाहले बताए । ‘एकदम सकारात्मक विचारका साथ संघलाई अगाडि लैजान्छु,’ उनले भने, ‘खेलाडी उत्पादन, प्रशिक्षकको स्तर बढाउने र प्रावधिकलाई पनि त्यही वैज्ञानिक ढाँचामा अपडेट गराउँदै अगाडि लैजाने योजना छ ।’ 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्