युवा र राजनीति 

तालिम हल निकै रोचक र आकर्षक थियो । औपचारिक पोसाकमा सजिएका युवाहरु मन्त्री, सांसद, सत्तापक्ष, प्रतिपक्ष, सचेतक, सभामुख, मर्यादापालक लगायत विभिन्न भुमिकामा थिए । दर्शकहरुलाई यस्तो लाग्थ्यो कि त्यहाँ नमुना संसद होइन संसदभवनभित्रको संसद बैठक चलिरहेको  छ । सहभागी युवाहरुको बोली, हाउभाउ र प्रस्तुती दमदार थियो । रेसुङ्गा नगरपालिकाको  नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रमको एक झलक थियो यो ।

 २०७६ जेठ २० र २१ गते सञ्चालन गरिएको उक्त तालिममा सहजीकरणका लागि प्रदेश नं. ५ का विशेषधिकार समितिका संयोजक तथा प्रदेश सभा सदस्य कमल श्रेष्ठ  आफैं सहभागी हुनहुन्थ्यो । उक्त तालिममा युवाहरुलाई संसद कसरी चलाउने ? संसदभित्र  के कस्ता आचारसंहिता र अभ्यासहरु हुन्छन् भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक कुरा सिकाइएको रहेछ । तालिमको विषयवस्तु निकै उपयोगी र व्यवहारिक लाग्यो । थाहा थिएन, त्यहाँ अभ्यास गरिरहेका युवाहरु साँच्चिकै राजनीतिक नेतृत्वमा पुग्ने हुन् वा जीवननिर्वाहको लागि मलेसिया, साउदी अरब अनि खाडी मुलुकमा ? उक्त तालिमको अनौठो अभ्यासले लेखकको मनमा भने युवा र राजनीतिको तातो बहस चलिरहेको थियो ।

२०६२/६३ को जनआन्दोलन लोकतन्त्र प्राप्तिका लागि आफैले खेलेको भूमिका  र विद्यार्थी राजनीतिमा बिताएका क्षणहरुको झलझली सम्झना आइरहेको थियो । मनले मनसंगै प्रतिप्रश्न गरिरहेको थियो । के साँच्चिकै हजारौं युवाहरुको अर्थपूर्ण हिस्सा अहिलेको राजनीतिमा सुरक्षित छ त ? जिम्मेवारी पाएका एकाद युवाहरुले पनि युवाहरुको नेतृत्व विकास र राजनीतिक सहभागिताको लागि निर्णायक भूमिका निभाइरहेका छन् वा नेता, दल, गुट, उपगुटको चंगुलमा फसेर चाकडीमा लिप्त छन् ?  यो प्रश्न आफैमा गम्भीर अनि सोचनीय छ ।

नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्र पंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने म्यादीको भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने जुनसुकै पार्टीको पनि अवस्था कमजोर देखिन्छ । नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई बढी प्रयोग गरेपनि जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान हुने गरी उचित जिम्मेवारी दिएको देखिंदैन ।

नेपाली राजनीतिमा अहिले पनि राजनीतिक परिपक्वतालाई कपाल फुलेको, सक्रिय जीवन पार गरेको र जेलनेल भोगेको व्यक्ति हुनुपर्ने आम धारणा छ  र धेरैजसो अभ्यास पनि यस्तै छ । जुन धारणाले युवालाई राजनीतिक अवसर र अर्थपूर्ण सहभागिता बनाउने विषयमा नेतृत्वमा आनाकानी भइरहन्छ । नेपाली समाजमा राजनीतिप्रति युवाहरुको चासो पनि कमजोर देखिएको छ  पछिल्लो समयमा । जसले गर्दा राजनीतिमा आसा लाग्दा कैयौं युवाहरुले पनि सम्बन्धविच्छेद गरिरहेका छन् राजनीतिसंग । जसमा नेतृत्वको ध्यान पुगेको देखिदैन ।

युवा राजनीतिको सम्भावना 

विश्वका विभिन्न देशका अभ्यासहरु हेरौं, युवाहरुको नेतृत्वले देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरणहरु छन् । राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? आर्थिक रुपमा युवाहरुलार्ई कसरी टिकाइराख्ने ? यो विषय सम्बन्धित पार्टी अनि राज्यले सोच्नु जरुरी छ । सक्षम, पढेलेखेका युवाहरुलाई विदेश पलायन हुनबाट कसरी रोक्ने ?  यो विषयमा राज्य गम्भीर हुँदै उचित कार्यक्रम र योजना ल्याउन जरुरी छ । 

आर्थिक रुपमा आत्मनिर्भरता 

निम्नमध्यम वर्गीय परिवारबाट भर्खर कलेज पढ्न आएको युवा राजनीतिमा लाग्छ, खट्छ, भिड्छ र पार्टी संगठनको लागि मरिमेटेर लागेको हुन्छ । जब उसले घरको खर्चमा रमाएर औपचारिक शिक्षा पुरा गर्छ तब बल्ल महसुस हुन्छ, आफ्नो आम्दानी र पारिवारिक व्यवस्थापनको विषय । संगठनको काम गर्दा उसलाई न त कसैले सोध्छ, न त ऊ आफैले सोचेको हुन्छ ।  तसर्थमा राजनीतिमा युवालाई टिकाइराख्न अब राज्यले उनीहरुलाई सहयोग पुग्ने खालमा वैकल्पिक कामहरुको अवसर दिन जरुरी देखिन्छ । जसले उनीहरुको आर्थिक पाटोलाई समेत मजबुत बनाउन सघाउ पुग्छ । 

आम दृष्टिकोणमा परीवर्तन 

राजनीति अन्य क्षेत्रमा केही गर्न नसक्ने र कमजोर व्यक्तिले गर्छन् भन्ने आम धारणा छ । अलि पढेलेखेका, शिक्षित व्यक्तिहरु अन्यत्रै सेट हुनुपर्दछ भन्ने समाजको मान्यता  पनि छ । जुन धारणा गलत छ । देश चलाउने, समाजको नेतृत्व गर्ने, नीति निर्माण गर्ने व्यक्ति पक्कै पनि सक्षम र अब्बल हुनुपर्दछ , हुन  जरुरी छ । योग्य र सक्षम व्यक्ति राजनीतिमा लाग्न जरुरी छ ।

असल राजनीतिक संस्कारको विकास 

राजनीतिक संस्कार असल भयो भने नेता पनि असल हुन्छन् । ती नेताले गर्ने काम र उनीहरुको दृष्टिकोण पनि असल हुन्छ । अहिले समाजमा देखिएको विकृत राजनीतिक संस्कारको अन्त्य हुनुपर्दछ । नेताको वरीपरी घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताको आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ । जसले युवाहरुलाई पनि राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउनका लागि  सहयोग पुग्दछ । राजनीति फोहोरी खेल हो भन्ने आम धारणालाई चिर्न पार्टी संचालनका तौरतारिकादेखी लिएर राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता हुन जरुरी छ ।

खर्चिलो र भड्किलो निर्वाचन प्रणालीको अन्त्य

निर्वाचन अत्यन्तै खर्चिलो हुँदा सामान्य हैसियतको व्यक्तिमा राजनीतिप्रति निरासा बढ्दै गएको देखिन्छ । जसको प्रभाव युवाहरुमा पनि परेको छ । जसले गर्दा सामान्य व्यक्तिको पहुँचभन्दा टाढाको विषय बनिरहेको छ, निर्वाचन र राजनीतिक अवसर । निर्वाचन आचारसंहिताले तोकेको सीमामा रहेर खर्च गर्ने परिपाटीको विकास हुने हो भनेमात्र असल राजनीतिक संस्कारको विकास हुन सक्दछ । युवाहरुमा पनि सकारात्मक सोचको विकास हुनसक्दछ । 

 यी र यस्ता धेरै बिषयहरु छन, जसले राजनीतिमा युवा सहभागिता बढाउनका लागि सहयोग गर्दछन । नमुना संसदको अभ्यास गर्ने अहिलेका सांसद, सभामुख, मन्त्रीहरु जस्तै कैयौ युवाहरु साच्चिकै यो देश हाक्ने नेतृत्वमा पुग्न सकुन, शुभकामना ।


लेखक गुल्मी जिल्लामा रहेर सामाजिक कार्यमा सक्रिय छन् । 
प्रतिक्रियाको लागि : [email protected]

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय