मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने मुक्तिनाथ : भारतीय तीर्थयात्री बढे

बागलुङ । पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन । सन २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त संख्या बढेर ३३ हजार २०० पुग्यो । सन २०१९ को पाँच महिनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ हजार ३७२ मुक्तिनाथ आएका थिए । दोस्रो पर्यटकीय यामसम्ममा भारतीय तीर्थयात्रीको संख्या गत वर्षभन्दा धेरैले बढ्ने अनुमान गरिएको छ । ‘मुख्य याममा दैनिक ३०० सम्म भारतीय पर्यटक मुस्ताङ छिर्छन’, कार्यालयका पर्यटन सहायक शिव पुर्जाले भने । मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन ।

मुक्तिनाथ दर्शनले मोक्ष प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । हिन्दू धर्म मान्ने भारतीयले मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन । पछिल्ला आठ वर्षमा डेढ लाख बढी भारतीय तीर्थयात्रीले मुक्तिनाथ क्षेत्र घुमेको आँकडा छ । भूकम्प गएको वर्ष सन २०१५ मा सबैभन्दा कम आठ हजार ४५९ ले मुक्तिनाथ भ्रमण गरेका थिए । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय तीर्थयात्री झन बढेका हुन’, मुक्तिनाथ मन्दिरका पुजारी कृष्ण सुवेदीले भने । गत वर्ष वैशाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेका थिए । मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्र मानिन्छ । मुक्तिनाथलाई हिन्दूले मुक्तिक्षेत्र र बौद्धमार्गीले तिब्बती भाषामा (छुमिङ ग्यात्सा) अर्थात सय पानीका रुपमा लिन्छन । मुक्तिनाथ मन्दिर शालिग्राम भगवानका कारण पनि प्रसिद्ध छ ।

मुक्तिक्षेत्र भएर बहने कालीगण्डकी नदीमा मात्र पाइने पवित्र शिला शालिग्रामलाई विष्णु भगवानको प्रतीकका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारको लागि तिब्बत गएको हुँदा मुक्तिनाथ बौद्धको पनि तीर्थस्थलका रुपमा प्रसिद्ध छ । वर्षेनी असोज–मङ्सिर र चैत–जेठ गरी दुई याममा मुक्तिनाथमा पर्यटक र तीर्थयात्रीको घुइँचो लाग्छ । अन्य सयममा भने पर्यटक न्यून देखिन्छन । मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउँछ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथ बढी चर्चित छ । मुस्ताङ र मनाङ जोड्ने थोरङ्ला भञ्ज्याङ पार गर्ने पर्यटक पनि मुक्तिनाथ भएर आउजाउ गर्छन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले सडक र अन्य सुविधाले पर्यटक बढेको बताए । ‘मुक्तिनाथको विकासमा अझ धेरै गर्न बाँकी छ’ उनले भने, ‘यसका लागि राज्यकै ध्यान जानुपर्छ ।’ मुक्तिनाथ क्षेत्रको एकीकृत विकासका लागि गुरुयोजना बनाउने काम पनि अघि बढाइएको छ । पोखरादेखि हवाई र सडकमार्ग हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा अवस्थित छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय