कैलाली – कञ्चनपुरमा भीषण हावाहुरी : दुई जनाको मृत्यु, सय बढी घाईते  

आवश्यक उपकरण र प्रविधिको अभावमा पूर्वानुमान हुन सकेन

बुटवल । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । १०० भन्दा बढी घाइते भएका छन भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ । हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु डगौराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीले क्षति पु‍¥याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

जनजीवन प्रभावित

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति पु‍¥याएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, सयौंको संख्यामा रुखहरु ढलेका छन भने घरका टिनका छाना उडाएका छन । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन । सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

हुरीले कैलालीमा विद्युतका पोलसमेत भाँचिदिएको छ । दर्जनौंको संख्यामा जिल्लाका विभिन्न स्थानबाट पोल भाँचिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । बिजुलीका पोल भाँचिएपछि जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ । प्रहरीका अनुसार, टेलिफोन सेवा पनि प्रभावित भएको छ ।

कञ्चनपुरमा पनि हुरीले भौतिक संरचनामा क्षति पु‍¥याएको छ । क्षतिको यकिन विवरण प्राप्त नभए पनि कैयन स्थानबाट घरको छाना उडाएको, रुख भाँचिएको तथा बिजुलीको पोल ढलेको जानकारी प्राप्त भएको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए ।

कति थियो वायुको गति ?

कञ्चनपुर र कैलालीमा आएको वायुको गति कति थियो भन्ने यकिन तथ्यांक छैन । मौसमविद् पौडेलले भन्नुभयो ‘त्यतिबेला ४०–४५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको अनुमान गर्न सकिन्छ ।’ 

आवश्यक उपकरण र प्रविधिको अभावमा पूर्वानुमान हुन सकेन

आवश्यक उपकरण र प्रविधिको अभावका कारण बिहीबार बेलुकी आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

स्थानीय वायुको प्रभाव र हावाहुरीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण पूर्वानुमान महाशाखाले समयमा सचेत गराउन नसकेको मौसमविद्हरु बताउँछन । ‘सामान्यतया धेरै दिनदेखि पानी नपरेका कारण कैलाली कञ्चनपुरको तापक्रम बढ्दै गइरहेको र  स्थानीय वायुको प्रभावले त्यहाँ ‘क्युमोलोनिम्बस बादलको निर्माण भैरहेको थियो, यसैमा भारतको उत्तराखण्ड क्षेत्रमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव मिसिएर हावाहुरीसहित वर्षा भएको हो’ महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो ‘सामान्य हावाहुरीको पूर्वानुमान भए पनि स्थानीय वायुको प्रभावले एक्कासी ठूलो हावाहुरी चल्छ भन्ने पूर्वानुमान हुन सकेन ।

अहिले यो प्रणाली पूर्वतिर सरिरहेकाले बिहानै उपत्यकासहित मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । यो प्रणाली विस्तारै निष्क्रिय हुँदै पूर्वतिर सरिरहेको छ । एकाबिहानै हावाहुरीसहित वर्षा भए पनि अहिले काठमाण्डौ र आसपासमा घाम लागेको छ । 

एकछिन मौसम खुले पनि हावाहुरी र पानी पर्न सक्ने मौसमविदको भनाइ

शुक्रबार बिहानै ठूलो हावाहुरी र पानी परेको काठमाण्डौमा सात बजेपछि भने मौसम खुलेको छ । तर एकछिन मौसम खुले पनि फेरि हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन । मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा यही प्रणालीको असरले तीव्र गतिको हुरीबताससहित पानी परेको हो ।

यही प्रणाली आइपुगेकाले बिहानै उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा तीव्रगतिको हुरीबताससहित पानी परेको थियो । अहिले यो प्रणाली पूर्वतिर सरिरहेकाले पूर्वमा पनि हुरीबतास चल्ने मौसमविद् सुवास रिमालको अनुमान छ । उहाँका अनुसार शुक्रबार मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । काठमाण्डौ उपत्यकामा बिहानै हावाहुरीसहित भएको वर्षा अहिले रोकिएको छ । 

मौसम एकैछिन खुलेपनि फेरि बदली भई हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । केही उच्च हिमाली भेगमा हिमपात पनि हुने भएकाले हिमाल चढ्न नजान पनि उहाँको सुझाव छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै बदली हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय