७ बैशाख २०८१, शुक्रबार

दाङबाट रेडियो नेपालको प्रादेशिक प्रसारण सुरु

दाङ । रेडियो नेपालको प्रदेश नम्बर–५ को प्रादेशिक प्रसारण शुक्रबारदेखि दाङबाट सुरु भएको छ । सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले शुक्रबार विहान दाङको हेमन्तपुरमा आयोजित एक समारोहमा प्रादेशिक प्रसारणको शुभारम्भ गरे । 

दाङको तुलसीपुर उपमहानगरपालिका हेमन्तपुरमा रहेको रेडियो नेपाल प्रदेश नम्बर पाँचको प्रादेशिक प्रसारणको  नयाँ भवनको पनि मन्त्री बास्कोटाले शिलान्यास गरेका हुन ।

मन्त्री बाँस्कोटाले रेडियो नेपालले आम जनतालाई सही सूचना दिएर देश विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । । उनले विभिन्न जातजाती, भाषाभाषी र संस्कृति तथा परम्पराको जगेर्ना गर्दै रेडियो नेपाल आम जनताको रेडियो बन्न सकेको बताए । 

सञ्चारमन्त्री बाँस्कोटाले देश विकासमा जनतासँग दोहोरो सम्वाद गर्ने र जनताका समस्याहरु उठान र समाधानका लागि रेडियो नेपालले पुलको काम गर्ने विश्वास ब्यक्त गरे । 
कार्यक्रमका वक्ताहरुले प्रदेश नम्बर पाँचका आम जनताको आवाजका रुपमा रेडियो नेपालको प्रादेशिक प्रसारणलाई अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए ।

रेडियो नेपालले देश संघीयतामा गैसकेपछि आफ्नो प्रसारणलाई पनि प्रादेशिक संरचनामा रुपान्तरण गर्दै प्रसारण सुरु गरेको छ । रेडियो नेपालले आजदेखि ७ वटै प्रदेशबाट आफ्नो प्रसारण शुरु गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्