८ बैशाख २०८१, शनिबार

पीडित पाठेघर खसेका महिला भन्छन्,  ‘नयाँ जीवन पाएका छौँ’

जाजरकोट । अर्थाभाव तथा लाजका कारण पाठेघर खस्ने समस्या लुकाएर बसेका महिलाको निःशुल्क उपचार भएको छ । यहाँका  पाठेघर खसेका १५ महिलाको उपचार सम्पन्न भएको हो । 

अर्थाभावका कारण नेपालगञ्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा कतिपयको अकालमै मृत्यु भएको घटना जाजरकोटका लागि नयाँ भने होइन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना र स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा भएको शिविरमा १५ महिलाले नयाँ जीवन पाएका हुन् । प्रतिष्ठानको आयोजनामा यसभन्दा पहिले तीनपटक यस्तो खालको शिविर भइसकेको छ ।

प्रतिष्ठानका सिनेट सदस्य सत्य पहाडीले जाजरकोटमा पाठेघर खस्ने महिलाको सङ्ख्या अत्यधिक रहेको भन्दै बर्सेनि यस्ता कार्यक्रम जाजरकोटमा गरिएको बताए ।

“महिलाका समस्या कसैले बुझ्दैनन्, हामी महिला भएकै कारण त्यस्ता पीडा महसुस हुन्छ अनि जिल्लामा यस्ता खालका निःशुल्क कार्यक्रम गरिरहनुपर्छ”, पहाडीले भने । तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया सेवा सञ्चालन गरिएको थियो । 

“एक महिलाको पाठेघरको शल्यक्रिया गर्न मात्रै रु ६० देखि ९० हजारसम्म लाग्छ, जाजरकोटबाटै जिल्लाबाहिर जान गाडी भाडादेखि होटल खर्चसहित रु एक लाखभन्दा बढी खर्च जुटाउनुपथ्र्यो, जिल्लामै निःशुल्क शल्यक्रिया भएपछि लाखौँ रुपैयाँ जोगिएको छ, यस्तो अवसर कमै मात्रामा पाइन्छ”, डा सुबी बस्न्यातले भनिन् । स्वास्थ्य शिविरमा ३५ वर्षदेखि  ५५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ ।

“पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिएँ, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई ? यस्ता समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ, यसपटक जिल्लामै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि शल्यक्रिया भएको छ”, छेडागाड नगरपालिका–१ बडावनकी सुन्तली बुढाथोकीले भनिन्, “शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको छ, पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो अहिले सहज छ ।” 

उनले पूर्वशान्तिमन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोलीलाई समेत धन्यवाद दिईन् । त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रियापछि लामो समयदेखि ग्रसित नलगाड नगरपालिका–४ की मैसरी विक पनि खुशी भएको बताईन् ।

उनको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उनले बताईन् । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौँ भारी बोक्ने र चुरोट पिउनेलगायतका कारण पाठेघर खस्ने चिकित्सकको भनाइ छ ।

दुर्गम क्षेत्रका  महिला यो समस्याबाट धेरै पीडित रहेको स्वास्थ्यकर्मी बताउँछन् । “पीडित महिला पति र सासू/ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?”, डा पुनले भने ।

पीडित महिला कतिले लाज र अवहेलना होला भन्ने डर, कतिले पतिले दोस्रो विवाह गर्लान् भन्ने डर, घरायसी काम कसले गर्ला भन्ने डर, चेतनाको कमी, बच्चाको स्याहारसुसार गर्न अप्ठ्यारो हुन्छ कि भन्ने डरलगायत कारणले यो समस्या लुकाउने गरेको पाइएको छ ।

कति थाहा पाएर शल्यक्रिया गर्न डराएर पनि पीडित बनेको डा बस्न्यातले बताउनुभयो । पीडित महिलाले भन्न नमान्दा पनि समस्या भएको हो । पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने डा बस्न्यातको भनाइ छ ।

अङ्ग बाहिर निस्केपछि फोहर तथा घर्षणले फुल्न गई सङ्क्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन्छ”, डा बस्त्यातले भनिन् । जिल्लाको छेडागाड, नलगाड, बारेकोट, कुशे र शिवालय गाउँपालिकाका महिलामा यो समस्या बढी भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्