१६ चैत २०८०, शुक्रबार

अलैंचीको मूल्य नपाउँदा किसान चिन्तित : मुल्यमा आएको गिरावटले पेशा संकटमा पर्ने डर 

बागलुङ । बागलुङ जैमिनीका कृषक उत्पादन भएको अलैंचीको मूल्य नपाउँदा चिन्तित छन । व्यावसायिक रुपमा अलैंचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैंचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र विक्री गरिएको अलैंचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन ।

दमेकका कृषक बलिभद्र सापकोटाले अलैंचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर गएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमा अलैंचीका बिरुवा बेच्दै आएका सापकोटाले यस वर्ष अलैंचीको दानालाई प्रतिकेजी ८ सय मा बेच्न बाध्य भएको बताए । तीन वर्षअघिसम्म प्रतिकेजी २ हजार २ सय मा बेच्दै आएका सापकोटाले प्रत्येक वर्ष अलैंचीको मूल्य घट्दै गएको बताए ।

‘तीन वर्षअघि प्रतिकेजी २ हजार २ सय मा बेचेको अलैंची यो वर्ष ८ सय  मा बेचेको छु’ सापकोटाले भने, ‘वर्षेनी अलैंचीको मूल्य घट्दा पेशा नै संकटमा पर्ने डर भयो ।’ अघिल्लो वर्ष १ हजार ५ सय मा अलैंची विक्री भएको उनले बताए ।

छिमेकीमुलुक भारतमा प्रतिकेजि ३ हजार २ सय मा विक्री भइरहँदा आफूहरुले मनग्य आम्दानी हुने देखेर अलैंची लगाएको बताउँदै अर्का कृषक मदु अम्बाइले अलैंचीको मूल्य घट्दा समस्यामा परेको उल्लेख गरे ।

दमेकमा २० रोपनी जग्गामा अलैंचीखेती गरेका अम्बाइले प्रत्येक वर्ष अलैंचीको मूल्य घटिरहँदा लगानी उठाउनै गाह्रो भएको बताए । अलैंचीको दाना र बिरुवा बेच्दै आएकी अम्बाइले शुरुको वर्ष ३ लाख कमाइ गरे पनि अहिले भने जस्तो नभएको बताइन । 

अलैंची राम्रो आम्दानीको स्रोत भए पनि मूल्य घट्नुले अलैंचीखेतीप्रति सन्तुष्ट नभएको अर्का कृषक गोपालप्रसाद सापकोटाले बताए । महत्वपूर्ण र महंगो मसलाका रूपमा प्रयोग हुने अलैंची खास गरी भारतमा निर्यात हुने गर्दछ । अलैंचीको बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ ।

मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित् बनाउन अलैंचीको तेल प्रयोग गरिन्छ । आर्युवेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिने बताइन्छ ।

अरब देशमा चिया र कफी बनाउन तथा युरोपियन देशमा उच्चकोटीको मदिरा तयार गर्न अलैंचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रशोधन निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिका रूपमा अलैंचीको प्रयोग गर्ने गरिन्छ । जैमिनी नगरपालिकाका २ र ३ का अधिकांश बाँझो जग्गामा करीब २ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिंदै आएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्