खानेपानीको अभावमा सिङ्गो बस्ति नै काकाकुल 

चार घण्टा लगाएर बोकेको पानी खानु कि सौचालयमा हाल्नु ?

बागलुङ्ग । जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानीमा खानेपानीको हाहाकार भएको छ । २२ वर्ष अघिदेखि उपभोग गर्दै आएको खानेपानीको पाईप भाचिएपछि मर्मत गर्न नसक्दा खानेपानीको समस्या देखिएको हो । बस्ती नजिक पानीको मुहान नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । 

साबिकको सिसाखानी गा.बि.स वडा नं ७ र ८ मा पर्ने स्याला, चारकपाले, सत्डाडाँ र तारञ्जालगायतका स्थानबाट केही स्थानिय खानेपानीकै अभावले बसाइ समेत सर्न थालेका छन् । झण्डै २२ बर्ष पहिले लुथ्रन विश्व सेवाले बस्तिदेखि ५ किलोमिटर टाढा सोलिघोप्टेको भिरबाट पानि ल्याएको भएपनि हाल जिआई पाइप भाचिएकाले मर्मत गर्न नसक्दा खानेपानीको समस्या देखिएको स्थानिय रमेश बि.कले बताए । “दिनभर तिनदेखि चार गाग्री पानि ल्याउन सकिन्छ” उनले भने “नुहाउने, कपडा धुने त परकै कुरा हो, ३ गाग्री पानिले परिवारलाई पु¥याउन सकिन्छ कि सकिदैन भन्ने चिन्ताले सताउँछ ।” पानिको मुहानमा पुग्न झन्डै ४/५ घण्टा लाग्छ ।

झण्दै ७५ प्रतिशत दलित बस्ति रहेको सो स्थानका स्थानियको आर्थिक अबस्था समेत कमजोर भएकाले खानेपानी मर्मत गर्न नसकिएको बताइएको छ । सामान्य चोया र चित्रोको काम गरी गुजारा चलाउँदै आएका उनीहरुको पानी बोक्दैमा दिन बित्ने गरेको स्थानियको गुनासो छ । जस्का कारण साँझ विहानको छाक टार्न समेत मुस्किल भएको अर्का स्थानिय मन बहादुर बि.क ले बताए ।

अहिले त्यहाँका स्थानियले कोन्ताको पानि प्रयोग गर्दै आइरहेका छन् । कोन्ता पनि त्यति सुरक्षित नभएका कारण छाडा छोडिएका गाई भैसिलगायतका जनावरले पनि सोही कोन्टामा पानि खाने गरेका छन् । दुषित पानीका कारण स्थानियमा बिभिन्न किसिमका सरुवा रोगको सक्रमण हुने गरेको सिसाखानी स्वास्थ्य चौकीका प्रमुख भक्त बहादुर श्रीसले बताए । झाडापखाला, हैजा टाइफाइड जस्ता रोगका बिरामी स्वास्थ्य चौकीमा उपचारका लागि आउने गरेको श्रीसले बताए । 

चुनावका समयमा नेताहरुले खानेपानीको समाधान गरिदिने भन्दै निकै आश्वासन दिएपनि बाचा पुरा गर्न नसकेको स्थानियको गुनासो छ । कञ्चनापुर आधारभुत बिद्यालय तारञ्जाका प्रधानाध्यापक पुनराम गिरीले खानेपानी समस्याका कारण बिद्यार्थी बिद्यालय नआउने र भर्ना भएपनि दुई चार महिनामै छोड्ने गरेको बताए । “कयौँ बालबालिका समयमै बिद्यालय आउँदैनन् र सरसफाइमा पनि निकै समस्या भएको छ” उनले भने, “बिद्यालय स्वयम्मा पनि खानेपानीको समस्या छ ।”

यता वडाध्यक्ष खड्क पुनसँग यस विषयमा बुझ्दा बस्तीमा पानिको ठुलो समस्या रहेकाले गाउँस्तरको योजनाले समस्या समाधान गर्न नसकिने बताए । उनले पानीको समस्या समाधानका लागि आफुले गाउँपालिका हुँदै, प्रदेश र केन्द्र सरकारसँग माग पत्र बुझाएर ध्यानाकर्षण गराएको बताए । “यहाँको समस्यालाई मध्यनजर गरी लिफ्ट सिस्टममार्फत एक वर्ष भित्रमै पानी ल्याउने तयारी गरिरहेका छौं” उनले भने । त्यसको लागि वडा र आफ्नो तर्फबाट सक्दो सहयोग हुने पुनले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय