१६ चैत २०८०, शुक्रबार

२१ वर्ष टेक्नेबित्तिकै नेपाली रजतपटमा सुहाना

पोखरा । झरना थापाकी छोरी सुहाना फिल्म ‘ए मेरो हजुर ३’ बाट डेब्यु गर्दैछिन्। चैत्र २९ गते प्रदर्शनमा आउन लागेको यो फिल्ममा सुहानाको साथमा छन् नायक अनमोल केसी। छोरी २१ वर्ष टेक्नेबित्तिकै आमा झरनाले उनलाई नेपाली रजतपटमा भित्र्याउँदै दर्शकको जिम्मा लगाएकी हुन्। पछिल्लो समय नेपाली चलचित्र उद्योगमा पुस्ता हस्तान्तरण गर्ने प्रक्रिया बढेको छ। यसबाट ‘स्टारकिड्स’ लाई धेरै हदसम्म फाइदा पुग्ने नै भयो। आमा स्टार भएकै कारण छोरी सुहानालाई पनि फाइदा भएको हो।नायिका तथा निर्देशक झरनाले नेपाली चलचित्र उद्योगमा २२ वर्ष बिताइसकेकी छन्। उनीसँग यो क्षेत्रको लामो अनुभव छ।

यता मार्केटिङमा स्नातक गर्दै गरेकी सुहानाका लागि भने यो नयाँ अनुभव हो। यी आमा छोरी हेर्दा दिदीबहिनीजस्ता देखिन्छन्। तर व्यवहार भने साथीलाई जस्तै गर्छन्। सुहाना आफ्नी आमालाई साथीको नजरबाट हेर्छिन्। यता झरना चाहन्छिन् आफ्नी छोरीको अबको यात्रा चलचित्र क्षेत्रमै होस्। छोरीलाई सम्झाउने, बुझाउने र उचित सल्लाह दिने काम झरनाले गर्दै आएकी छन्। उनैको इच्छाबमोजिम सुहाना फिल्म खेल्न राजी भएकी हुन्। नत्र सुहानाको इच्छा भनेको फिल्म निर्मात्री बन्नु हो। पछिल्लो समय चलचित्र क्षेत्रको उज्यालो भविष्य देखेर सुहाना लोभिएकी छिन्। उनी भन्छिन्, ‘यो क्षेत्रमा फेम पाइन्छ। यसले मलाई आकर्षित गर्‍यो।’ सानो छँदा सुहाना आफ्नी आमाले अभिनय गरेको चलचित्रको सुटिङ सेटमा प्रायः नजाने गरेको झरना बताउँछिन्। ‘छोरीलाई फिल्मको खासै चासो हुन्थेन,’ झरना भन्छिन्, ‘उनलाई नायिका बन्ने त झन् मन नै थिएन।’

फिल्म खेल्ने रुचि नभएकै कारण सुहानाले अहिलेसम्म फोटो सुट गराएकी छैनन्। बानेश्वरमा रहेको घरमा पनि सुहानाको एउटै फोटो भित्तामा छैन। आमा झरनाको मात्र थरीथरीका फोटा छन्। ‘ए मेरो हजुर ३’ मा आफ्नै छोरीलाई नायिका बनाउने सोचेपछि मात्र सुहाना नायिका बन्ने तयारीमा लागेकी हुन्। ए मेरो हजुर एक र दुई हिट रहेका कारण ए मेरो हजुर तीन कुनै पनि हालतमा सफल हुनुपर्ने चुनौती झरनामा छ। त्यति नै चुनौती सुहानामा पनि थपिएको छ। फिल्ममा कडा मेहनत गरेको बताउने सुहाना भन्छिन्, ‘मैले अहिले फलको आशा गरेकी छैन। म कर्ममा विश्वास गर्ने मान्छे हुँ।’

फिल्म सफल होला नहोला आफ्नो ठाउँमा छ तर आफ्नो अभिनयले सबैलाई रिझाउनेमा सुहाना विश्वस्त छिन्।सुहाना झरना थापाकी छोरी भएकै कारण जबर्जस्ती नायिका नै बन्ने सोचमा भने छैनन्। दर्शकले स्विकार नगरेमा प्रडक्सन हाउस खोल्नेतिर लाग्ने उनी बताउँछिन्। चञ्चल सुहाना आफ्नो प्रसनल लाइफको बारेमा पनि खुलस्त छिन्। उनलाई मौसमी माया मन पर्दैन। जीवनभरि साथ दिने साथीसँग मात्र मन साट्न चाहन्छिन् उनी। भन्छिन्, ‘मेरो लाइफमा केही व्यक्तिहरू त आए तर उनीहरूले सम्बन्धलाई स्थायी राख्न सकेनन्।’ रियल लाइफमा झरना र सुहाना आमा छोरी भए पनि काम गर्दा निर्देशक र कलाकार हुन्।

एउटा निर्देशकको नाताले झरनाको दायित्व भनेको कलाकारबाट फिल्मलाई चाहिने कुरा निचोरेर निकाल्नुपर्ने हुन्छ। उनले पनि त्यही गरिन्। छोरी भन्दैमा सुहानालाई कुनै छुट दिइनन्। झरना भन्छिन्, ‘आफूले भनेको जस्तो काम निकाल्न मैले छोरीलाई सेटमा धेरैपल्ट गाली गरेको छु।’ नयाँ पुस्ताले नेपाली चलचित्र क्षेत्रलाई कसरी हेरिरहेका छन् रु भन्ने प्रश्नको जवाफ सुहानाजस्ता नयाँ कलाकारबाट पाइन्छ। प्रविधिमा विस्तारै नेपाली चलचित्रले प्रगति गरेको छ तर सुधार गर्नुपर्ने धेरै कुरा बाँकी रहेको उनी बताउँछिन्। सुहाना भन्छिन्, ‘नेपालको फिल्म उद्योग तबसम्म विकास हुँदैन जबसम्म त्यसलाई हेर्ने दर्शकको विकास हुँदैन।’सुहाना सानैदेखि होस्टेलमा बसेर हुर्किएकी हुन्। पल्स टु पढ्न उनी भारत गइन् भने अहिले अमेरिकामा बसेर बाँकी पढाइ पूरा गर्दैछिन्।

कुन विषय पढ्ने भन्ने कुरामा सुहानाको मन डुल्ने गरेको छ। उनले मार्केटिङ पढे पनि अहिले फेरि साइकोलोजीको कक्षा लिन्छिन्। सुहानालाई आफ्नी आमा नायिकाभन्दा पनि निर्देशकको रूपमा चिनिएको राम्रो लाग्छ। उनी भन्छिन्, ‘आमाले बनाउनु भएको फिल्ममा स्क्रिन प्ले राम्रो हुन्छ।’ झरना थापाका अनुसार सुहानामा चञ्चलता बढी छ। साथै उनी संस्कारी छिन् र सबैसँग घुलमिल गर्ने बानी उनको छ। ‘सुहानाको छुकछुक गर्ने बानी छ।’ उनी भन्छिन्।

बब्ली सुहाना झरना र सुनील थापाकी एक्ली सन्तान हुन्। कलाकारिता उनको रगतमै छ। आमालाई सानैदेखि कलाकारको रूपमा देख्दै आएकी सुहाना भन्छिन्, ‘आफैं कलाकार बन्न चाहिँ गाह्रो रहेछ।’ बाहिरबाट हेर्दा अभिनय गर्ने कला सामान्य लागे पनि आफैं गर्नु पर्दा कठिन हुने उनी बताउँछिन्। ‘छिनमै हाँस्नु पर्ने छिनमै रुनु पर्ने,’ उनले हाँस्दै भनिन्, अनमोलले मुड चेन्ज गर्न गाना सुन्न सल्लाह दिन्थे र म त्यहीअनुसार अभिनय गर्थेँ।’ मेरो हजुरको सफलता पछि झरनाले ए मेरो हजुर ३ बनाउने निर्णय गरेकी हुन्। भन्छिन्, ‘मेरो बल बुद्धिले भ्याएसम्म राम्रो फिल्म बनाउने कोसिस गरेकी छु।’ यतिबेला छोरी सुहाना हुनु नै फिल्म दर्शकमाझ कौतुहलताको विषय बनेको छ। अर्को फिल्मको नामले ब्रान्डको रूप लिइसकेको छ र यसपालि पनि फिल्मले नेपालको नयाँनयाँ पर्यटकीय स्थल समावेश गर्ने प्रयास गरेको छ। हेर्न बाँकी छ त अब सुहानाको काम।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्