स्वास्थ्य संस्थालाई व्यवस्थित र जनतामुखी बनाउनु पर्छ : उपप्रमुख 

बागलुङ । ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन मगरले स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र जनतामुखी बनाउनुपर्ने बताएकी छन । ढोरपाटन नगरपालिका ४ छोरेगाउँमा आयोजित खुंगा स्वास्थ्य चौकीको सामाजिक परिक्षण आम भेलालाई सम्बोधन गर्दै उनले पछिल्लो समय सरकारी स्वास्थ्य संस्थाप्रति आम जनताको नकारात्मक धारणा बढदै गएको बताईन ।

पुनले सरकारी सेवा सुविधाको उपयोग गर्न नगरबासीलाई अनुरोध समेत गरिन । नगरभित्रका स्वास्थ्य संस्थाहरुलाई समय सापेक्ष व्यवस्थापन गर्दै लैजाने उनको भनाई छ । सामाजिक परिक्षण कार्यको पहिलो चरणमा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरक्रिया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया, तेस्रो चरणमा स्वास्थ्य आमा समुहसँग अन्तरक्रिया र चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो । 

अभियानको क्रममा खुंगाका विभिन्न स्थानमा तथ्याङ्क संकलन, स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । 

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरिन । कार्यक्रममा सहभागिले स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए ।

यो आर्थिक वर्षमा गर्भवती महिलाले सुत्केरी प्रोत्साहन रकम नपाएको सहभागिको गुनासो थियो । सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पर्याप्त उपलब्ध नभएको तर स्वास्थ्यकर्मीको व्यवहार सभ्य र चौबिसै घण्टा सेवाहरु प्राप्त गरेको सहभागीले बताए । 

त्यस्तै विद्यालयमा प्राथमिक उपचार सामाग्री उपलब्ध गराईदिन विद्यालयले माग गरेका छन । जनसमुदायमा जनचेतना फैलाउने चेतनामुलक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न समेत उनीहरुले आग्रह गरेका छन । 

अन्तरक्रियाका क्रममा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक रितु वर्ण पौडेल, खुंगा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तिलक पुन मगर र खुंगा स्वास्थ्य चौकी प्रमुख रामेश्वर ठाकुरले प्रतिवद्वतासहित स्पष्ट पारे । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय