१५ चैत २०८०, बिहीबार

बागलुङको पर्यटन विकासका लागि पाँच करोड

बागलुङ । सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिए ।

बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०/५० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै पञ्चकोटको थप पूर्वाधार निर्माणका लागि रु ८० लाख विनियोजन भएको सांसद मनकुमारी केसीले बताईन ।

आब २०७६/७७ को बजेटले बागलुङको पर्यटन विकासमा पाँच करोड पाँच लाख रकम विनियोजन भएर आएको हो । जिल्लाको बलेवास्थित भैरबस्थान मन्दिर संरक्षणका लागि रु १० लाख, काठेखोला गाउँपालिका–७ रेशमा मदन भण्डारी पदमार्ग निर्माणका लागि २५ लाख, शहिद गोविन्द अधिकारी स्मृति प्रतिष्ठानका लागि २० लाख, ढोरपाटनमा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २० लाख, ब्रम्हाकमल मन्दिरलाई १५ लाख, बागलुङ नगरपालिकाको रातमाटास्थित सरस्वती मन्दिरका लागि १० लाख, तमानखोला गाउँपालिकास्थित बराहाताल÷कटेरी संरक्षणका लागि १० लाख, बडिगाड गाउँपालिकाको राधाकृष्ण मन्दिरका लागि १५ लाख विनियोजन भएको सङ्घीय सांसद देवेन्द्र पौडेलले बताए ।

यस्तै ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २० लाख, रातमाटा विकास समाजका लागि ४० लाख, गलकोट नगरपालिकाको घुम्टेस्थित सिद्धभैरव मन्दिर संरक्षणका लागि २० लाख, भैरवस्थान मुलावारी हुँदै रेश जाने पदमार्ग निर्माणका लागि १० लाख र घोडाबाधे घुम्टे पदमार्ग निर्माणका लागि १० लाख बजेट विनियोजन भएको सांसद केसीले जानकारी दिईन ।

‘‘विनियोजित बजेटले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, मन्दिरको संरक्षण तथा जिर्णोद्वार, पदमार्ग निर्माण र संस्कृतिको संरक्षण गर्नका लागि प्रयोग हुनेछ’’ पाठकले भने, ‘‘बागलुङको पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन बजेटले ठूलो महत्व राख्नेछ ।’ पर्यटकीय गन्तव्यको रुपमा रहेका जैमिनी धाम, बिहुको रामकोट, हांडीकोटलगायतका क्षेत्रहरुमा बजेट विनियोजन गर्दा छुटेका कारणपछि सम्बोधन गर्ने गरी थप पहल गर्ने डा सुर्य पाठकले बताए ।

पर्यटन मन्त्रालयको कूल बजेट रु दुई अर्ब ६८ करोड रहेको छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता दिने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको पहिचानमा सरकारले जोड दिने बताएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्